सिमाना अझै देखिएन, गाड्न सुर

भारतले पूर्व लिखित प्रतिबद्धताविपरित नेपाल पक्षलाई घाटा पुग्नेगरी सीमामा फेरी अर्को अर्घेल्याइँ गरेको छ । नेपाल र भारतबीच १८८० किलोमिटर  प्रष्ट रूपले सीमांकन नभएसम्म सानातिना विवाद झिकेर कमजोरमाथि दमन गर्ने क्रमको अन्त्य नहुने प्रष्ट छ ।

सन् १९८१ देखि रोकिएको सीमांकनसम्बन्धी संयुक्त बैठक २००७ बाट फेरी शुरु भएको हो । यसबीचका अध्ययन र निश्कर्षबाट कतिपय विवादित क्षेत्रमा सीमांकनको लिखित विवरण तयार गरियो । लामो अध्ययन, विश्लेषण र खोजबाट निकालिएको निचोडलाई कार्यरूपमा उतार्ने भनेको विवादित क्षेत्रमा सीमास्तम्भ निर्माण गरी साँध छुट्याउनु नै हो । स्थानीयसँग भएकासमेत प्रमाण झल्कने कागतपत्रको आधारमा सीमा विशेषज्ञ, कूटनीतिक नियोगका विज्ञ र सुरक्षासँग सम्बन्धित व्यक्तित्वको समेत उपस्थितिमा सीमा निर्धारण गरियो । निर्णयमा कुन–कुन बिन्दुमा मुख्य सीमास्तभ, कुन ठाउँमा सहायक स्तम्भ र कहाँनेर सामान्य सीमास्तम्भ निर्माण गर्ने भन्ने उल्लेख छ । पूर्व निर्णयबमोजिम कात्तिक महिनामै नेपाली पक्षका तीन टोली सीमास्तम्भ निर्माणका लागि निर्धारित भूगोलमा पुगे ।

सुनसरीदेखि झापा, चितवनदेखि बारा–पर्सा र रूपन्देही–कपिलवस्तुसम्म भ्याउने गरी । तर, एक महिना कुर्दा र सम्पर्क कायम गर्दासमेत भारतीय टोलीहरू भने कतै देखापरेनन् । नेपाली टोली आवश्यक सम्पूर्ण सामग्री र उपकरणसहित सीमा क्षेत्रमा बसिरहे । एक महिनापछि बल्ल भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सम्पर्क भयो । शुरुमा उनीहरूले टार्ने मात्र प्रयास गरेको सीमा निर्धारणमा खटिएका गृह मन्त्रालयका एक अधिकारीले बताए । उनीहरूले अन्तमा यसपटक राज्यले नै सीमास्तम्भ निर्माणका लागि बजेट नदिएको बताउँदै कुनै पनि हालतमा साँध छुट्याउने कार्यमा सहयोग नपु¥याउने बताए । बिजोर नम्बरका (१,३,५) नेपालले र जोर नम्बरका (२,४,६) भारतले बनाउने सम्झौता छ । दुई मुलुकबीच यो पनि सहमति छ कि नेपालले एउटा स्तम्भ बनाएपछि अर्को भारतले बनाइहाल्ने र लगातार पालैपालो निर्माण गर्दै जाने । तर भारतीय पक्षले आफूसँग सीमास्तम्भ निर्माण गर्ने रकम नै नभएको बताएपछि नेपालले नै पैसा हालिदिने कुरा पनि भएन । त्यसपछि नेपाली टोलीले आफ्नो जिम्मामा भएका सीमास्तम्भ बनाउने तय भयो । यसबमोजिम तीनवटै टोलीले काम गरिरह्यो ।

नेपाली टोलीले सामान्य,सहायक र मुख्य सीमास्तम्भ गरी करीब ४ सयवटा पिलर निर्माण ग¥यो । तर कतिपय स्तम्भ लामो दूरीमा हुने भएकाले भारतीय पक्षले नबनाउँदा त्यही क्षेत्रमा दादागिरी देखिनसक्ने र नेपालीले फोकटमा अंगभंग हुनुपर्ने वा ज्यानै गुमाउनुपर्ने अवस्था आउनसक्ने एक सरकारी अधिकारीको आशंका छ । कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट गत फागुनको अन्तिम साता मारिएका गोविन्द गौतमको नियती अरु नेपालीले भोग्नु नपरोस् भनी नेपाल सरकरले भारतसमक्ष तत्काल सीमाको साँध छुट्याउने कार्यका लागि पहल गर्नुपर्दैन ? सीमा निर्धारण कार्यमा संलग्न एक सरकारी अधिकारी भन्छन्– गोविन्द मारिएको पुनर्वास क्षेत्रमा पनि नेपालको भू–भाग भारततिर परेको देखिन्छ । त्यहाँ पनि सीमास्तम्भ निर्माण गर्ने र साँध छुट्याउने योजना थियो ।

तर एसएसबीले नेपाली भूमिमै रहेका गोविन्द गौतमलाई गोली हानी झन् परिस्थिति भड्काउने काम ग¥यो । अनि त्यही क्षेत्रमा सीमास्तम्भ निर्माण गर्न गएको निर्मल आचार्यको नेपाली टोली जिम्मेवारी पूरा नगरी फर्कियो । उनलाई पनि एसएसबीले हतियार तेर्साएर धम्काएको त्यतिबेला चर्चा थियो । सीमा निर्धारणमा भारतीय पक्षले देखाएको बेवास्ता, नेपाली सर्वसाधारणमाथि हुने गरेका ज्यादती बारे भारत भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पक्कै पनि स्वाभिमानीपूर्वक आफ्नो प्रस्तुति राख्लान् र उपलब्धिसहित फर्कलान् भनी आशा गरौं । 

– उमेश दाहालबाट

टिप्पणीहरू