पाँच श्रीमानका सामु रुकुमपूर्वको कथाव्यथा

पाँच श्रीमानका सामु रुकुमपूर्वको कथाव्यथा

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले २०७४ माघ ११ गते रुकुम (पूर्व) को सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडालाई तोक्ने निर्णय गरेपछि स्थानीयले चर्को विरोध गरे । पायक नपर्ने र पूर्वाधार नभएको ठाउँमा सदरमुकाम तोकेको भन्दै एक वर्षसम्म आन्दोलन चलाए । यता सरकारको निर्णय कार्यान्वयन माग गर्दै गोलखाडाका पक्षधर पनि आन्दोलनमा होमिए । दोहोरो आन्दोलन भयो । आन्दोलन रोक्न सरकारले कर्फ्यूसमेत लगायो ।

दुईतर्फी आन्दोलन चर्किंदै थियो । सदरमुकाम सार्ने निर्णयविरुद्ध अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तबहादुर बस्नेत रिट लिएर सर्वोच्च पुगे । २०७५ फागुन ५ गते रिट दायर भएपछि आन्दोलन मत्थर भयो । उक्त रिटलाई सार्वजनिक सरोकार जोडिएको र स्थानीय विवाद रहेको आधारमा संवैधानिक इजलासमा पठाइयो । सरकारबाट लिखित जवाफ पेश भई रिट निवेदक र सरकार पक्षको बहस सकियो । २०७६ साल फागुन २८ गतेका लागि निर्णय सुनाउने दिन पनि तय भयो । त्यस दिन कारणवश फैसला आउन सकेन ।

त्यसपछि मुलुक कोरोनाको चपेटामा धकेलियो । यही बीचमा सरकारले निषेधाज्ञा जारी ग¥यो । त्यसपछि अदालतमा अत्यावश्यक मुद्दामा बाहेक सुनुवाई स्थगित भयो । रुकुमको विवाद पनि कोरोनाको घानमा फस्यो । त्यसपछि एकैपल्ट यो मुद्दा गत साउन २० गते पेशीमा चढ्यो । तर त्यस दिन पनि संवैधानिक इजलास लागेन । अब फेरि निर्णय सुनाउने दिन कहिले हुन्छ कुनै टुंगो छैन । रुकुम पूर्वको सदरमुकाम विवाद चार बर्षदेखि सर्वोच्चमै चिसिएको छ । सदरमुकामको टुंगो नलागेका कारण स्थानीय रूपमा प्राकृतिक, स्रोत, साधनको उपयोग र पूर्वाधार विकासमा बाधा पुगेको छ ।

समयमै फैसला नआउँदा औचित्य काम नलाग्ने अवस्था आउन थालेको छ । ‘ढिलो न्याय दिनु न्याय नदिनुसरह हो । तात्तातै निर्णय नभएपछि के अर्थ हुन्छ र ?,’ रिट निवेदकमध्येका एक अधिवक्ताले भने, ‘फैसलाको ढिलाइले त्यस ठाउँमा अहिले एउटा पक्षले संरचना बनाउन खोज्ने र अर्काथरीले विवाद झिक्ने दोहोरी चलिरहेको छ । चार वर्षसम्म न्यायमा तातो चिसो केही हुन सकेन ।’

टिप्पणीहरू