हिमालपारिको जिल्लामा अन्तका मान्छेको हुल

हिमालपारिको जिल्लामा अन्तका मान्छेको हुल

हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेकमा पर्ने लो–घेकर दामोदर कुण्ड गाउँपालिका (साविक सुर्खाङ गाविस) को दामोदर कुण्ड क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । मुस्ताङका स्थानीय तहमा कार्यरत कर्मचारी बिदा मिलाएर एवं मुस्ताङभित्र बसोबास गर्ने अन्य जिल्लाका नागरिक घुमघामका लागि त्यहाँ ओइरिएका हुन् । कोभिड–१९ ले पर्यटन क्षेत्र पूरै धराशायी र अहिले ५ सय ५१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको भए पनि जिल्लाभित्र ९ जना मात्रै सक्रिय संक्रमित छन् ।

मुस्ताङको सदरमुकाम जोमसोम पुग्ने क्रममा धौलागिरि र नीलगिरि हिमालको मनमोहक दृश्य हेर्दै जाँदा पाखापखेरा, मट्यौले डाँडा अनि कालीगण्डकीका बगर उस्तै मनमोहक । यदि सामान्य अवस्था हुन्थ्यो भने यो समय थाकखोला (घाँसादेखि कागबेनीसम्म) क्षेत्रमा थाक खेलकुद तथा साँस्कृतिक महोत्सवको माहोल हुने थियो तर कोभिडले गर्दा दुई वर्षदेखि यो महोत्सव रोकिएको छ ।

निकै थोरै तर आनन्ददायक यात्रा गर्ने आन्तरिक पर्यटक भने फाट्टफुट्ट भेटिन्छन् । कोभिड–१९ को महामारी नभएको भए कालीगण्डकीको किनार र पहाडको डिलमुनि रहेको साँघुरो अनि सुन्दर बजार जोमसोम पर्यटकले खचाखच भरिएको हुने थियो ।

एउटै कोठाको १ हजार पाँच सयदेखि २ हजारसम्म भाडा तिर्नुपर्ने मुस्ताङका होटल अहिले पर्यटक कहिले आउलान् भनेर पर्खी बसेका छन् भन्नुहुन्छ मुक्तिनाथका अमृत सुवेदी । बौद्ध र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्र मुस्ताङको मात्र नभएर नेपालकै प्रमुख धाममध्येको एक हो । यही जिल्लाकै अर्को एउटा प्रमुख पर्यटकीय क्षेत्र हो दामोदर कुण्ड ।

पवित्र शालिग्रामको उद्गम मानिने दामोदर कुण्ड क्षेत्रमा सामान्य अवस्थामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटक पुग्ने गर्थे । मुस्ताङ सदरमुकाम जोमसोमदेखि कागबेनी पुगेर पितृहरूलाई तर्पण दिएपछि मुक्तिनाथ तथा दामोदर कुण्डसम्म पुग्ने गरिन्छ । परापूर्व कालदेखि नै नेपाली हिन्दू धर्मावलम्बी जोमसोमबाट ३ दिन पैदल यात्रा गरेर दामोदर कुण्ड पुग्ने गर्दथे ।

मुस्ताङको तल्लो भेकमा पर्ने थासाङ गाउँपालिकाको कोबाङका कर्मचारीहरू पनि आन्तरिक पर्यटकका रूपमा दामोदर कुण्ड पुगेर फर्केका छन् । कोबाङदेखि पहिलो दिन लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको याराघारासम्म गाडीको यात्रामा पुगिन्छ । त्यसपछिको दोश्रो दिन घोडा तथा पैदल करिब १० घण्टा यात्रापछि दामोदर कुण्डमा पुग्न सकिन्छ ।

दामोदर कुण्डमा बस्नका लागि ठाँटी हुन्छ र त्यहाँ बस्ने बन्दोबस्तका सामानहरू आफैं लिएर जानुपर्छ । दामोदर कुण्ड क्षेत्रमा दूध कुण्ड, चक्रकुण्ड, तामाकुण्ड गरी तीन वटा कुण्ड रहेका छन् । दामोदर कुण्डसम्म पुग्न कठिन भए पनि निकै मनमोहक र आनन्ददायक रहेको मंगला गाउँपालिका–२ म्याग्दी घर भई थासाङ गाउँपालिकामा कार्यरत शकुन्तला अधिकारीको भनाइ छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ तथा कोरला पुग्न प्रयास गर्नेहरू पनि अहिले मुस्ताङभित्रैका रहेका छन् । भारत र तेस्रो देशका नागरिकहरू लोमन्थाङ, कोरला तथा दामोदर कुण्डमा बढी पुग्ने गर्दछन् । बौद्ध र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको महिमा नेपालभन्दा भारतमा धेरै रहेको छ ।

भारतका प्रधानमन्त्री मोदीले पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको थियो । केही वर्ष अगाडि मोदीले मुक्तिनाथ मन्दिरको दर्शन गर्न आएको बेला भारतमा निर्वाचन चलिरहेको बेला सञ्चार माध्यममा कभरेज गराएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै भारतमा विरोध भएको थियो ।

– अमृत बास्कुने

टिप्पणीहरू