रोकियो प्रधान सेनापतिलाई डोरीले तान्दै गेटबाहिर निकाल्ने चलन

रोकियो प्रधान सेनापतिलाई डोरीले तान्दै गेटबाहिर निकाल्ने चलन

भदौ २४ गते बिहिवार कार्यकाल सकिएर औपचारिक बिदाइको तरखरमा रहनुभएका प्रधानसेनापति पूर्णचन्द्र थापाले हिजो साँझदेखि भद्रकालीस्थित जंगी अड्डा र झम्सिखेलको शशी भवन छाड्नु भएको छ ।

हिजो जंगी अड्डामा उहाँको भव्य बिदाई भएको थियो । बिदाईअघि नै उहाँको परिवार सरकारी निवास शशी भवनबाट आफ्नै निवास बूढानीलकण्ठ सरेको छ भने हिजै प्रभूराम शर्माले राष्ट्रपतिसङ्ग भेट गर्नुभएको छ ।

पदीय रुपमा थापा आगामी बिहीबारसम्म मुलुकको प्रधानसेनापति हुनुुहुन्छ । प्रभुराम शर्मालाई अहिले उहाँ बिदामा बस्नुभएकाले कायममुकायम दिइएको हो । २४ गते महिलाहरुको पर्व हरितालिका तीज परेकाले हिजो नै औपचारिक बिदाई गरिएको सैन्य स्रोतले बताएको छ ।

शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

हिजोको कार्यक्रमलाई सेनाले यसअघिको भन्दा फरक ढंगले आयोजना गरेको छ । सेनापतिले पनि अघिल्ला बिदाई कार्यक्रममा भन्दा फरक ढंगले मार्मिक भावना राखेको बताइएको छ ।

थापाले आफ्नो कार्यकालमा जति काम गरियो ती सबैमा सकल दर्जाको सामूहिक योगदान रहेको उल्लेख गर्दै,‘कमिकमजोरीको जिम्मा आफूले लिने’ बताएर उपस्थित सबैको मन जितेको सहभागीहरुले बताएका छन् ।

‘आफ्नो कार्यकालमा भएका राम्रा कामको लागि मेरो टिम,मेरा स्टाफ, सकल दर्जालाई क्रेडिट जान्छ,’ उहाँले बताउनुभएको छ । पहिले सेनाले प्रधानसेनापतिको बिदाईमा एक खाले गाडाको प्रयोग गर्थ्यो ।

भलै त्यो गाडालाई सजाइएको हुन्थ्यो र केही सैनिकले भित्रबाट डोरीले तानेर बाहिर उनले चढ्ने मोटरसम्म ल्याउँथे । अहिले यसखाले अनमेल प्रचलन हटाइसकिएको छ ।

टिप्पणीहरू