​देशप्रति अचम्मलाग्दो देन « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

​देशप्रति अचम्मलाग्दो देन

प्रकाशित मिति :  २५ असार २०७४, आईतवार १७:१९


  • राजेन्द्र स्थापित

फाम छुआन आनको जन्म दक्षिणपूर्वी भियतनामी प्रान्त डोङ नाइको बिन होआमा भयो । पछि उनीहरुको परिवार ह्यु शहरमा स¥यो । ह्यु त्यो बेला राजधानी नै थियो । फामका बाजेले छात्रा विद्यालयमा प्रधानाध्यापकको काम पाए । बाबुले सार्वजनिक निर्माण विभागमा इञ्जिनियरको । फानको युवावस्था सैगोनमा बित्यो । इण्डोचीन (भितनाम समेत) माथि फ्रान्सले सन् १८८४ मा पूर्णरुपमा नियन्त्रण जमाइसकेको थियो । भियतनाममा कम्युनिष्ट नेता हो चि मिन्हको उदय भइसकेको थियो । सन् १९३५ मा चीनको नानजिंगमा पहिलोपटक साम्राज्यवादविरोधी मोर्चा ‘डोक लाप डोंग मिन्ह होइ’ गठन भयो । तर यो सक्रिय भएन । होको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले सन् १९४१ मा ‘भियतमिन्ह (भियतनाम स्वतन्त्रताको निम्ति लिग)’ गठन ग¥यो, फ्रान्स र जापानविरुद्ध प्रतिरोधात्मक संघर्ष चलाउन । शुरुमा फ्रान्सविरुद्ध मात्र लक्ष्यित थियो र त्यो बेला फ्रान्सले अमेरिकाको समर्थन पायो । जापानले हिन्दचीनमाथि आधिपत्य जमाउन थालेपछि लिगले जापानविरुद्ध पनि संघर्ष शुरु ग¥यो । चीन र अमेरिकाको समर्थन प्राप्त ग¥यो । दोस्रो विश्वयुद्ध अन्त्य र जापानको पराजयपश्चात् पुनः फ्रान्सिसी आधिपत्यविरुद्ध संघर्ष थाल्यो । 

सन् १९४५ को अगस्तमा क्रान्तिको शुरुवात भयो । त्यो बेला फाम १८ वर्षका थिए । क्रान्तिको प्रभावमा परी स्कुल छाडेर अग्रगामी युवाहरुको संगठनमा लागे । भियत मिन्हले उनलाई तालिम दियो । प्रचारप्रसारको कार्यक्षेत्रमा खटायो । क्रान्ति हनोइ शहर कब्जापछि क्रान्ति सफल भयो । भियत मिन्हले अन्तरिम सरकार गठन ग¥यो । सन् १९४६ देखि फ्रान्सिसी सेनाविरुद्ध छापामार युद्ध थाल्यो । बाबु बिरामी भएको सूचना पाएपछि सन् १९४७ मा काइ थोबाट फाम सैगोन फर्के । विद्यार्थीलाई गोलबद्ध गरी शुरुमा फ्रान्स र पछि अमेरिकाविरुद्ध पनि आन्दोलन थाले । लगत्तै काल्टेक्स तेल कम्पनीको सहायक पदमा जागिर खाए । तीन वर्षपछि सन् १९५० मा कर कार्यालयमा । भियत मिन्हको निर्देशनअनुरुप फ्रान्सबाट आउने र जाने सामान, सेना र सैन्य उपकरणको अनुसन्धान गरी रिपोर्टिङ दिन थाले । अर्थात् जासुसीको काम । त्यसबेला दक्षिण भियतनाममा मात्र उनीजस्ता १४ हजार कम्युनिष्ट सन्देशबाहक अथवा गुप्तचरको रूपमा सक्रिय थिए । सन् १९५२ मा भियत मिन्हले सैगोनभन्दा २० माइल टाढाको युद्धक्षेत्र ‘डि’ तर्फ खटायो । त्यहाँ कार्यरत दक्षिण प्रतिरोध प्रशासन कमिटीका सदस्य डा. फाम न्गोक थाचबाट उनले ‘जासुसी रणनीति’ सिके । सोहीअनुरुप काम थाले । काइबात नहर, का मु र ऊ मिन्ह जंगलमा खटिए । साम्राज्यवादविरोधी भावना, कामप्रतिको लगन र समाजवादप्रतिको बफादारिताबाट प्रभावित भएर सन् १९५३ मा कम्युनिष्ट नेता ले डुक थोले कम्युनिष्ट पार्टीको सदस्यता दिए । ले डुकले पछि अमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जरसँगै नोबल शान्ति पुरस्कारसमेत पाए ।

सन् १९५४ मा कर्णेल एडबर्ड लान्सडेलसँग परिचय भयो । यथार्थमा लान्सडेल हिन्दचीनमा तैनाथ अमेरिकी सैनिक फोर्सका प्रमुख मात्र होइन, गुप्तचर संस्था सिआइएको कमाण्डरसमेत थिए । उनैको सिफारिसमा कैम्प अक्स मेर्सस्थित फ्रान्सिसी सैन्य मुख्यालयको मनोवैज्ञानिक युद्ध विभागमा सहायकको जागिर पाए, फामले । दक्षिण भियतनामको गुप्तचर विभागका प्रमुख डो मउका अनुसार फ्रान्सिसी सेनाको प्रमुख रणनीति लान्सडेलले नै बनाउने गर्थे । दक्षिण भियतनामका प्रधानमन्त्री न्गो डिन्ह डियम र राष्ट्रपति बाओ डाइबीच मनमुटाव चर्केपछि न्गोले पदबाट राजीनामा दिने निर्णय गरे तर त्यसो नगर्न न्गोलाई सम्झाउने पनि उनै थिए । स्मरणीय छ, डियमपछि सन् १९५५ मा जनमत संग्रहमार्फत बाओ डाइलाई अपदस्थ गरी आफैं राष्ट्रपति बने । 

त्यसबेलासम्ममा बाओ डाइ र डियम सरकारलाई सल्लाह फ्रान्सले होइन, अमेरिकी सैन्य परामर्श मिशनले दिन शुरु गरिसकेको थियो र सोही मिशनको आग्रहमा फामले सेनाको सांगठनिक, तालिम, अपरेशन, युद्ध प्रबन्धसम्बन्धी कागजपत्र ड्राफ्टिङको काम थाले । साथै छैटौं बटालियनको रचना निर्माण सम्बद्ध बैठकमा समेत भाग लिन थाले । बैठकमा फ्रान्सिसी सेनाका अधिकृत र भियतनामी सैन्य अधिकृतहरु मात्र सहभागी हुन पाउँथे ।

फामको सम्बन्ध अमेरिकी सैन्य कमाण्डरहरुसँग घनिष्ठ बनिसकेको थियो । यहाँसम्म कि भियतनामी युवाहरुलाई अमेरिकामा तालिम लिन पठाउने काममा पनि उनले सहयोगीको भूमिका निभाउन शुरु गरे । उनको छनोटमा परेका न्गुयन भान थिउ त पछि सन् १९६५ देखि १९७५ सम्म राष्ट्रपति नै भए । जासुसीको जिम्मेवारी सम्हालेका कारण त्यो बेला फामलाई जहाँ जान पनि छुट थियो । त्यसबेला प्रहरी प्रमुख थिए माइ ची थो अनि गुप्तचर प्रमुख कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य त्रान कोक हुओङ । यिनै दुईको सिफारिसमा र भियत मिन्हहरुले उठाएको चन्दामा फामले पत्रकारिता पढ्न अमेरिका जान पाउने भए क्यालिफोर्नियाको अरेन्ज काउन्टीमा दुई वर्षका लागि । अरेन्ज कोष्ट काउन्टी कलेजमा अध्ययन गर्न जान पाउने फाम पहिलो भियतनामी बने । अध्ययन सकाएर सन् १९५९ मा स्वदेश फर्के । राजनीतिक विभाग र साँस्कृतिक अनुसन्धान केन्द्रका निर्देशक त्रान किम टुयेनको मातहतमा बसेर काम गरे । दसौं हजारको संख्यामा कम्युन थिए र त्यहाँ हजारांै विदेशी संवाददाता खटिएका हुन्थे । फामले ती क्षेत्रमा काम गर्न पाए । लगत्तै बेलायती समाचार एजेन्सी रोयटर्सको प्रतिनिधि बने भने सन् १९६० देखि १९६४ सम्म रोयटर्स, १९६६ देखि अमेरिकी टाइम्स पत्रिकाको । न्युयोर्क हेराल्ड ट्रिब्युन, एशोसिएटेड प्रेस (एपी), दि क्रिश्चियन साइन्स मोनिटर र स्थानीय पत्रिकाका लागि पनि काम गरे । उनी यसरी अमेरिकी मिडियाको पूर्णकालीन तलब खाने पहिलो भियतनामी बने ।

समाचार संकलन र प्राप्त समाचारलाई विश्लेषणात्मक तरिकाले प्रस्तुत गर्न सिपालु थिए । झूटो समाचार कहिल्यै लेख्दैनथे । समाचारलाई बंग्याउँदैनथे । त्यसो गर्नुलाई मूर्खता ठान्थे । टाइम्स पत्रिकाका वरिष्ठ पत्रकार फ्रान्क मैक कुलोध, जो सैगोनमा ब्युरो चिफ भएर काम गर्दै थिए र जसले फामलाई पत्रिकाको लागि नियुक्ति दिए, उनी पनि फामको पत्रकारिताबाट निकै प्रभावित थिए । फाम प्रायः राति दक्षिण भियतनामको सैन्यसम्बन्धी कागजातको फोटो उतार्थे । कु चि नहर भई सैगोन बाहिर पुग्थे । फोटोमा रिल यसरी राइस पेपरमा (फर्मोसाको बिरुवाले बन्ने कागज, जसमा चिनियाँ कलाकारहरु चित्र कोर्थे) बेर्थे, हेर्दा त्यो सेकेको सुँगुरको मासु खाँदिएको टिनको बट्टा जस्तो देखिन्थ्यो । कहिलेकाहीं यी रिल कुहिसकेको माछाको भुँडीभित्र लुकाई लान्थे । सेतो मसीले लेख्थे, ताकि अक्षर प्रष्ट नदेखियोस् । उनी दक्ष पत्रकारको साथै अमेरिका र दक्षिण भियतनामको निम्ति जासुसी पनि गर्दै थिए । 

सूचना दिने गर्थे तर दक्षिण भियतनामी सरकार र अमेरिका दुवैलाई थाहा थिएन, वास्तवमा उनी उत्तर भियतनामको कम्युनिष्ट सरकारका गुप्तचर थिए । त्यहाँका उपप्रधानमन्त्री तथा रक्षामन्त्री जनरल भो न्गुयन ग्यापको सम्पर्कमा हुन्थे । गुप्तचर समूह ‘एच ६३’ अन्तर्गत काम गर्दै थिए र उनको आफ्नो कोड थियो– एक्स–६ । फामको जीवनी पुस्तक ‘निपुण जासुस’ का लेखक लारी बम्र्यान भन्छन्, ‘उनी पत्रकारिता र जासुसी दुवैमा उत्कृष्ट तथा खाँटी देशभक्त थिए ।’ अमेरिकीहरुका भरपर्दा मित्रको नाताले दक्षिणका सरकारी र उच्च सैन्य अधिकृतसित सम्बन्ध गाढा थियो । महŒवपूर्ण सूचना उपलब्ध गराउँथे । बैठकहरुमा समेत राख्थे । जबकि उनको सीधा सम्बन्ध सिआइएका ब्युरो चिफ कर्नेल एडवार्ड लान्सडेल र पछि सिआइए चीफ भएका विलियम कोल्बीसँग थियो ।

दक्षिणमा अमेरिकी सेनाको बढ्दो उपस्थितिबाट सतर्क रहन उत्तरलाई सल्लाह दिन्थे । अमेरिकी र दक्षिणी सेनाको रणनीति र गुप्तचर गतिविधिबारेको एक–एक सूचना दिन्थे । उता अमेरिकाले दक्षिणका को–को सरकारी तथा सैन्य नेता भ्रष्ट छन् र कसलाई सजिलै भ्रष्ट पार्न सकिन्छ भन्नेबारे उनीसित सूची र सल्लाह माग्थ्यो । पैसा र वेश्याको प्रयोग गरेर दक्षिणका नेतालाई भ्रष्ट र कठपुतली बनाउँथ्यो । शुरुमा फामले प्राप्त सूचना सामग्री रोबर्ट साम एन्सनलाई बुझाउँथे । जो पछि कम्बोडियाका खमेर रुज छापामारहरुको कब्जामा परे । उनैको सहयोगमा पछि भियतनामी सुरक्षा प्रमुख तथा गुप्तचर कमाण्डर त्रान किम तुइन (जो अमेरिकाका लागि पनि काम गर्दै थिए) सैगोन छाडेर भाग्न सफल भए, अमेरिकाले उपलब्ध गराएको हेलिकप्टर चढेर । फामले सन् १९६१ र १९७५ को अवधिमा कूल ४ सय ९८ वटा रिपोर्ट अमेरिका र उत्तर भियतनामको सैन्य मुख्यालयलाई पठाएको देखिन्छ– छद्म नाउँ त्रान भान त्रुङ र हाइ त्रुङ प्रयोग गरेर । 
सन् १९७५ को अप्रिल ३० मा दक्षिणको राजधानी सैगोन (होचि मिन्ह शहर) माथि उत्तर भियतनामको सेनाले कब्जा जमायो । दक्षिण र अमेरिका युद्धमा पराजित भए । सबै अमेरिकी भाग्न थाले । 

टाइम्स पत्रिकाले भियतनाममा कार्यरत सबै पत्रकार तथा कर्मचारीलाई सुरक्षित तवरले अमेरिका लान शुरु ग¥यो । फानकी पत्नी थु न्हान र तीन छोरा तथा एक छोरीलाई पनि दूतावासमा लगियो । अमेरिकाले दूतावास भवनको छतमै हेलिप्याड बनाएको थियो । अमेरिकी नागरिक र देश छाडेर भाग्न चाहने भियतनामीहरुलाई त्यहींबाट अमेरिकी हेलिकप्टरहरुले उद्धार गरी लान्थे । यसक्रममा थु न्हान र उनका छोराछोरीको पनि उद्धार भयो । तर, फामलाई लान सकिएन । दुईपटक कोसिस गरे । बेलायती दूतावास पनि गुहारे । सन् १९८९ को जनवरीमा अमेरिकी पत्रकार मोर्ली सेफरलाई अन्तर्वार्ता दिनेक्रममा उनले भने, ‘मेरी आमा बिरामी थिइन्, यसर्थ उनलाई छाडेर अमेरिका जान चाहिनँ । म आफ्नो देशलाई अत्यधिक माया गर्छु । भियतनाममाथि आधिपत्य जमाउने फ्रान्स, जापान र अमेरिका सबैलाई घृणा गर्छु । युद्धपछि भियतनामको कायापलट भएको हेर्ने चाहकै कारण म देश छाडेर गइनँ ।’

कम्युनिष्टहरुको सैगोनमाथि कब्जापछि केही समय फाम अप्ठेरोमा परे । अमेरिकी सैन्य अधिकृतसितको नजिकपना र सिआइएको लागि पनि काम गर्थे भन्ने हल्लाले सन्देहको घेरामा परे । एके–४७ राइफल बोकेका दुई किशोरले बाटोमा झण्डै मारेनन्, जबकि फाम उनीहरुका कर्नेल थिए । उनीमाथि अमेरिकाका लागि काम गर्दै आएका गुप्तचर कमाण्डर त्रान किम तुइनलाई भगाएको आरोप पनि लाग्यो । त्यसैले केही समय घरमै नजरबन्दमा परे । सरकारले उनको पछाडि गुप्तचर परिचालन ग¥यो । केही समय सुधारगृहमा राख्यो । माक्र्सवादी दर्शनको पाठ पढाइयो । युद्धकाल र त्यसपछि विदेशीहरुसित कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने सिकाइयो । सुधारगृहमा अरुलाई सरह शारीरिक परिश्रम भने गराइएन । यसबीच दुई भियतनाम सन् १९७६ को जुलाई २ मा एकीकरण भएर । समाजवादी गणतन्त्र बन्यो । कम्युनिष्ट सरकारले युद्धकालमा पु¥याएको योगदानको कदर गर्दै फामलाई सन् १९७८ को अगस्तमा हनोइमा आयोजित समारोहमा ‘हिरो अफ पिपुल्स आम्र्ड फोर्सेज’ ले सम्मानित ग¥यो । जनमुक्तिसेनाको ब्रिगेडियर जनरल पद दियो । र, सन् १९९० मा बढुवा गरी मेजर जनरल बनायो । यसको बाबजुद भियतनामी सरकारले सन् १९९७ मा न्युयोर्कमा आयोजित सम्मेलनमा भाग लिन जानबाट भने रोक्यो । कार्यक्रममा उनलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । सन् २००२ मा फामले सेवाबाट अवकाश पाए । र, चार वर्षपछि ८० वर्षको उमेरमा सन् २००६ को सेप्टेम्बर २० मा निधन भयो । ‘म कम्युनिष्ट हुँ र समाजवाद सुन्दर दर्शन हो’ भन्ने उनको अन्त्येष्टि रक्षा मन्त्रालयको तत्वाधानमा सम्पन्न भयो । फामकी पत्नी र छोराछोरी सन् १९७७ मै स्वदेश फर्किसकेका थिए ।


प्रतिक्रिया दिनुहोस !