​थुनेर मार्लान् नि छोराछोरी !

‘अइया बा, अइया आमा, मरें नि गुहार गुहार… !’ सुधार केन्द्रको ज्यादतिविरुद्ध भरतपुरमा प्रतिकार भएको छ । सुधार्ने भन्दै लगिएकाहरूलाई चार पर्खालभित्र कैद गरेर डर, धम्की र कुटपिटले तह लगाउन खोज्ने क्रममा मुनालचोकको जर्नी अफ रिकभरीमा प्रतिकार भएको हो । असार ४ गते आइतबार साँझ ५ बजेतिर । पाँचजना क्लाएन्टलाई एउटा कोठामा लगेर सञ्चालक एवं स्टाफहरूले मरणासन्न हुने गरी कुट्दै थिए । कुटिएकाहरू सहनै नसकेर बचाउ बचाउ भन्दै चिच्याएपछि अर्काे कोठामा रहेकाले छुटाउन गए । 

तिनलाई पनि स्टाफहरूले कुट्न थालेपछि सबै मिलेर जाइलागे । यसक्रममा स्टाफहरूको हातबाट लठ्ठी खोसेर क्लाएन्टले हिर्काइदिए । घटनाले उग्ररूप लियो । दोहोरो भिडन्त भएपछि सञ्चालक विश्व श्रेष्ठ त्यहाँबाट निस्किए । बाहिर गेटमा ताला लगाएर बाहिरिएका उनैले फोन गरेको हुनुपर्छ, केहीबेरमै प्रहरी पुग्यो । प्रहरीले तत्काल सबैलाई समातेर लगी बेलुकी छाडेको बताएको छ । त्यतिबेला त्यहाँ ४० जनाजति क्लाएन्ट राखिएका थिए । अहिले उनीहरू अधिकांशलाई परिवारको जिम्मा लगाएर पठाइसकिएको छ । 

‘सुधारकेन्द्रभित्र राम्रो वातावरण हुन्छ होला भनेर छोरालाई पठाएको, त्यहाँ त साह्रै कुटपिट पो हुँदोरहेछ’ एक अभिभावकले भने, ‘यस्तो कुरा मिडियामा आउनुपर्छ ।’ यहाँ पहिल्यैदेखि क्लाएन्टहरूलाई चर्काे मानसिक–शारीरिक यातना दिएर राख्ने गरेको स्थानीय जानकार बताउँछन् । सुधार केन्द्रहरू प्रायः सबैमा डर, धम्की र कुटपिट गरी क्लाएन्टलाई वशमा राख्ने प्रयास गरिन्छ । सञ्चालकको कुटपिटबाट केही सुधार केन्द्रमा क्लाएन्टको मृत्यु नै भएको भए पनि यसरी प्रतिकार हुन सकेको थिएन । एकजना स्थानीयका अनुसार यही जर्नी अफ रिकभरीमा पनि केहीअघि एक व्यक्तिको मृत्यु भएको थियो । परिवारका मान्छे आउँदा सितिमिति भेट्न नदिने, बल्लतल्ल भेट गराए पनि त्यहाँभित्रको यातनाबारे कुरो खोलेमा होइन भन्दै सञ्चालकले विभिन्न काउन्सिलिङ गरी पठाएपछि उक्त क्लाएन्टलाई मर्ने गरी कुट्ने गरेको बताइन्छ । 

पैसा कमाउनकै लागि खोलिएका सुधारकेन्द्र समाजमा लागुऔषध प्रयोगकर्ता घटेकोमा भन्दा बढेकोमा खुशी हुन्छन् । सामान्यतया मासिक १५–२० हजार लिन्छन् र ३–४ महिनादेखि ६ महिना, एक वर्ष बढी पनि राख्ने गर्छन् । सम्पन्न परिवार हेरेर छोराछोरीले लागुऔषध प्रयोग गर्ने, नगर्ने पत्ता लगाई घरमा भनसुन गर्न जाने गर्छन् । परिवारले भनेर लग्ने त छँदै छ, केहीलाई अपहरण शैलीमा आफैं पक्रेर लगी ‘तपाईंको मान्छेले ड्रग्स खान्छ, हामीले समातेका छौं’ भनेर राख्ने गरेकोसमेत पाइएको जिल्ला प्रशासन कार्यालय स्रोत बताउँछ । 
सुधार केन्द्रभित्र हुल्नेबित्तिकै ‘म आफैं यहाँ राजीखुसीले आएको हुँ, कुनै कारणवश घाउचोटपटक लागेमा वा मृत्यु भएमा यो संस्था जवाफदेही हुनेछैन’ भन्ने व्यहोराको कागज जबरजस्ती गर्न लगाइन्छ । अनि ‘तँलाई अब हाम्ले मारेर फालेपनि केही हुन्न, भाग्यो भने पनि भयो, आफैं आत्महत्या ग¥यो भने पनि भयो’ भन्दै डर, धम्की र कुटपिटबीच तर्साएर राख्ने गरिन्छ । अन्य रोगी, पागलसितै खुवाउने, एउटै बेडमा सुताउने गरिन्छ । लागुऔषध प्रयोग नै नगर्ने तथा चुरोट, सुर्ती पनि नखानेलाई समेत बानी व्यवहार सुधार्ने नाममा राख्ने गरिएको छ । घरमा श्रीमान्–श्रीमतीबीच झगडा भएको कारण, अंश विवादको कारण व्यक्तिलाई सुधार केन्द्रमा लगेर थुन्ने प्रवृत्ति बढ्दै छ । यहाँसम्म कि अन्तरजातीय बिहे छुटाउनसमेत सुधार केन्द्रको सहारा लिने गरेको पाइएको छ ।

‘परार यही जर्नी अफ रिकभरीले जिल्ला प्रशासन कार्यालय चितवनका एकजना कर्मचारीलाई समातेर लान खोज्दा सहकर्मीले गेट बन्द गरेर गाडीलाई नियन्त्रणमा लिए । को हो, के हो ? भनी सोधपुछ गर्दा उहाँको परिवारले भनेर लान खोजेको सुधार केन्द्रका मान्छेले बताए । पछि ती कर्मचारीको परिवारलाई बोलाएर कुरा गर्दा उनीहरूलाई चिन्दै नचिनेको र केही नभनेको बताए’, जिल्ला प्रशासन स्रोतले भन्यो, ‘यस विषयमा उक्त सुधार केन्द्रका सञ्चालकमाथि मुद्दा दर्ता गर्न लाग्दा मुद्दा लेख्ने वकिलसमेतलाई घेरेर कुटपिट गर्न खोजेका थिए । बल्लतल्ल मुद्दा दर्ता भई उक्त सुधार केन्द्रका मान्छे एक–डेढ महिना जेल परेर छुटे ।’ 

‘सुधार केन्द्रका सञ्चालकमा डन प्रवृत्ति देखिएकै हो’, राष्ट्रिय अनुसन्धानका एसपी अच्युत पन्तले भने । राष्ट्रिय अनुसन्धानकै अर्का एक अधिकारी भन्छन्, ‘सुधार केन्द्रहरूको कारण समाजमा दुव्र्यसनको अवस्था झन् बिग्रँदै छ ।’ भित्र चरम यातना दिएर राखिने हुँदा असन्तुष्टहरूले घर गएर पुनः लागुऔषध सेवन गर्ने गरेको अवस्था छ । ९७–९८ प्रतिशतले फेरि नशा खाने गरेको देखिन्छ । यी निजी स्तरमा खोलिएका सुधार गृहलाई नियन्त्रण गरी सरकारी तवरबाटै जिल्ला वा क्षेत्रीय स्तरमा भए पनि सुधार केन्द्र सञ्चालन गर्नसके परिणाम सकारात्मक हुने थियो कि !
– अजय गोर्खाली

टिप्पणीहरू