आफू त बिग्रिएँ, अरुको कुभलो किन चिताउनु

अब पछुताएर केही हुनेवाला छैन । जीवनका १७/१८ वर्ष बेहोसीमा बितेछन् । सहपाठीमध्ये कोही ओभरडोजका कारण बिते । तर, आफ्नै साथीहरू यसरी बित्दा जब म नशा निल्थें (ड्रग्स लिन्थें) त्यो समय कहिल्यै आफू पनि यसैगरी मर्छु भन्ने लागेन । विन्दास ढंगले खाइन्थ्यो । कोही सहकर्मी कहाँ पुगे, लाहुरेकी छोरी हुँ । जीवनमा केही कुराको कमी थिएन । जुन कुरा माग्यो बुबाआमाले पु¥याइदिनुहुन्थ्यो । बुबा ब्रिटिश आर्मी । त्यही कारण जन्मिएँ ब्रुनाईमा । हुर्किएँ काठमाडौंमा । शायद बुबा–आमालाई लागेको हुँदो हो छोरीलाई होस्टलमा राख्यो भने राम्रो पढ्छे । घर परिवारको नाम राख्छे । सनसाइन बोर्डिङ हाइस्कुलमा पढ्दैदेखि होस्टलमा बसियो ।

स्कुल परिवर्तन भइरह्यो । होस्टल फेरिइरह्यो । पढाइमा एभरेज थियो । तर, पढाइको अलावा नृत्य र कराँतेलगायत बाह्य विषयमा अगाडि थिएँ । यी विषयमा खुबै सक्रिय भएर लाग्थेँ । तर, त्यो समयको होस्टल बसाइ मेरालागि निकै महँगो सावित भयो । म स्वतन्त्रता खोज्थें । तर, त्यहाँ बन्दीको झैं जीवन थियो । ०५२ सालमा एसएलसी उत्तीर्ण भएँ । एसएलसी दिएपछिको खाली समय थियो त्यो । भर्खरै होस्टलबाट निस्कन पाएको । स्वतन्त्रता खोज्दै हिँडिरहेको । झण्डै १५ वर्षको किशोरी हुँदो हुँ । त्यसमाथि सानैदेखि स्वभाव अलि भिन्नै । केटी भए पनि केटाजस्तो हुनुपर्ने, हिरोज्म देखाउनुपर्ने । नयाँ वस्तु जे देख्यो त्यो प्रयोग गर्न मन लाग्ने । अरूले खाएका÷नखाएका चिज स्वाद चाख्न मन लाग्ने । मनमा एक खालको कौतुहलताले कुतकुत्याइरहन्थ्यो । यो खायो भने के होला ? स्वाद कस्तो होला ? जिज्ञाशा लागिरहन्थ्यो । त्यसमाथि मतवाली जात, जाँडरक्सी चल्थ्यो । 

अहिले यस्तो लाग्छ, बुबाआमाले सन्तानलाई पैसा होइन, माया र चाह गर्नुपर्छ । किशोरवय बिग्रने र भत्किने समय त्यही रहेछ । खाली समयमा संगत केटाहरूसँग बाक्लै हुन थाल्यो । संसर्गजा दोष गुणा भवन्ति भनेझैं संगत गुनाको फल त हुने नै भयो । तिनैले सिकाए चुरोट तान्नदेखि ड्रग्स लिनसम्म । जीवनमा बानी पार्न पो सजिलो हुँदो रहेछ । बानी छुटाउन र पहाडै फोर्न साह्रै कठिन । उच्च शिक्षा अध्ययनका लागि आमाले जहाँ मन लाग्छ त्यहीँ पढ भन्नुभयो । युनिभर्सल साइन्स कलेज रोजेँ । तर, पढाइमा ध्यान थिएन । पछि शारदा एकेडेमीमा भर्ना भएँ । पैसा मात्र बर्बाद भयो । पढ्न सकिनँ । दुईवटा कलेजमा भर्ना गरँे तर उच्च शिक्षा हासिल गर्न सकिनँ । त्यही बीचमा हो जोसँग ड्रग्स खाइन्थ्यो, तिनैमध्येका एकलाई हिरो देख्न थालेँ । रहरै रहरमा तिनै हिरोसँग दिन साटियो । माया बस्यो । विवाह भयो । स्वतन्त्र रूपमा आकाशमा उडिरहेको चरा । सुनको पिँजडामा थन्किएजस्तो भयो । फिल्मी टाइपले उसलाई हिरो देख्थँे । पछाडिको वास्तविकताचाहिँ बुझ्न सकिनँ ।

जबसम्म प्रेमसम्बन्धमा थिएँ, विन्दास लाग्थ्यो जीवन । विवाह बन्धनमा बाँधिएपछि स्वतन्त्रता खोसियो । सासू–ससुरालाई रिझाउनुपर्ने, आफन्तको मन राख्नुपर्ने । त्यो बेला इगोले भरिएँ । अहिले सोच्छु मान्छेहरू किन विवाहलाई ‘बन्धन’ भन्दा रहेछन् । सासू–ससुरा नै लाहुरे । विवाहको केही वर्षपछि श्रीमान् पनि बिदेसिए । पैसा पठाउँथे । मनमौजी गर्थें । बीचमा दुई छोरा भए । तर, मेरो आफ्नै संसार थियो । छोरा मैले जन्माएँ यद्यपि जिम्मेवारी लिएको थिइनँ । ती दुवै बच्चालाई आमाले हुर्काउनुभयो । १६ वर्षको उमेरदेखि ट्याबलेट प्रयोग गर्न थालेँ । शुरुमा त रमाइलै भयो, साथीहरूले नै खुवाउँथे । जब बानी लाग्यो अब साथीहरूलाई खुवाउनुपर्ने भयो । तर एक दिन खुवाइएला, दुई दिन खुवाइएला सदैव ट्याबलेट खुवाउन कठिन थियो । बीचमा सडकमै आइपुगेँ । बीचमा धेरै हन्डर ठक्कर खाइयो ।
विवाह गरेको १५ वर्षसम्म श्रीमान् विदेश जाने÷आउने गरिरहे । मसँग सबथोक थियो । श्रीमान्, बालबच्चा । यद्यपि मन खुशी थिएन । तीन वर्षअघि समझदारीमै सम्बन्धविच्छेद भयो । यहीबीच रिह्याब सेन्टरमा गएँ । सुध्रिएँ पनि । तर, रिह्याब सेन्टरमा बसुन्जेल सुध्रिन्थँे । फर्किएपछि फेरि उही नशामा डुबिहाल्थँे । कतिसम्म भने रिह्याब सेन्टरमा एक वर्ष बसेर सुध्रिएपछि आवाज नामक संस्थामा जोडिएँ ।जो महिलाकै हकहितमा काम गर्ने संस्था थियो । 

तर, पछाडि सो संस्थामा कार्यरत रहँदै गर्दा त्यहाँ आउने क्लाइन्टससँगै गएर खान थालँे । म जति जति भाग्थँे उतिउति ड्रग्सलाई पछ्याइरहन्थँे वा भनौं म जति ड्रग्सबाट भाग्न खोज्थेँ उति उति ड्रग्सले मलाई पछ्याइरहन्थ्यो । यसरी सुध्रिएको मान्छे फेरि कुलतमा फसेपछि काममा जान लाज लाग्यो । चार वर्ष गोदावरीमा आफ्नै कृषि फार्म चलाएँ । राम्रै पैसा कमाइयो । म फेरि नशामा डुबिसकेको थिएँ । त्यहाँबाट बाहिर आउनुपर्छ भन्नेचाहिँ एक मनमा लागिरहन्थ्यो ।

दुई वर्षअगाडि टिआरजी फिमेल रिह्याब सेन्टरमा बस्न गएँ । यो त्यही रिह्याब सेन्टर थियो जसलाई म आफैंले काउन्सिलिङ गरेर सुधारेको थिएँ । यसरी आफैंले सुधारेका बहिनीहरू नै चलाएको रिह्याब सेन्टरमा बस्दा दिमाग क्लिक भयो । ओहो रिह्याबमा बस्दैमा कोही पत्रु नै भएको भन्ने होइन रहेछ । परिवर्तन सम्भव रहेछ । त्यो मेरो परिवर्तनको समय थियो । त्यहाँ एक वर्ष भोलेन्टियर बसेँ । एक वर्षपछि सत्यम् रिह्याब सेन्टरमा पुगेँ । तर, पुरुष सञ्चालक रहेको रिह्याव सेन्टरमा महिला ड्रगिस्ट आएको भेट्थँे । लाग्थ्यो, महिलाको समस्या पुरुषले बुझ्न सक्दैनन् । त्यहीँ एक वर्ष रहँदा लाग्यो महिलाका नाममा छुट्टै रिह्याव सेन्टर चाहिन्छ, त्यो म खोल्छु ।

एक वर्षपछि नारायणस्थानमा पाँच लाख रूपैयाँ लागतमा रिह्याब सेन्टर खोलेँ । कृपा घर महिला रिह्याब सेन्टर । यो सेन्टर खुलेको नौ महिना भयो । अहिले हाम्रो सेन्टरमा ५० जना महिला सुध्रने क्रममा छन् । झण्डै १२० महिलाले ट्रिटमेन्ट लिइसकेका छन् । रिह्याब सेन्टरमा अधिकांश विवाह भएका र बच्चा भएका महिला छन् । तर, एकपटक रिह्याब सेन्टरमा ल्याइएको छोरीचेलीलाई तिनका अभिभावक र लोग्नेले नै घर लान मान्दैनन् । आफ्नो बुबा–आमाले नै इज्जतको डरले छोरी÷चेलीलाई घर लान लाज मान्छन् भने लोग्नेको त परको कुरा भयो । हाम्रो रिह्याबमा ७ जना महिला छन् । जसलाई इज्जतको डरले घरपरिवारले घर लान इन्कार गर्दै आएका छन् । जब आफ्नै बुबा आमाले छोरी÷चेलीलाई बिक्रीको सामानजस्तो व्यवहार गर्छन् भने अरूले के गर्लान् ? पछिल्लो समय ड्रग्स ट्याबलेटको प्रयोग गर्नेमा किशोरी फस्दै गएका छन् । १४ वर्षबाट माथिका किशोर यस्तो सेवामा संलग्न छन् । 

भनिन्छ, हरेक मान्छेले जीवनमा एक न एक पटक एउटा न एउटा ठक्कर खाएकै हुन्छ । त्यही ठक्करले ऊ परिवर्तन हुन्छ । हो, मेरो जीवनमा पनि यस्तै हावाहुण्डरी आयो । त्यही झोक्काले म कता हुत्तिएँ । आज आफू मात्र होइन, अरू छोरीचेलीलाई पनि सुधार्न सफल  भएकी  छु । र, यसमै तल्लीन छु । २ वर्षको यो अवधिमा देखेको रिह्याबमा यति धेरै रिस्क छ । २४ सै घण्टा चनाखो हुनुपर्छ । एकातिर गएर हात काटिदिने वा अर्काेतिर गएर झुन्डिने हो कि भन्ने चिन्ताले सताइरहन्छ । आफैं फसिएला भन्ने डर छ । त्यसमाथि दुईवटा बच्चाको लालनपालनको जिम्मेवारी काँधमा छ । एउटा छोरा १९ वर्ष र कान्छो १६ वर्षको छ । अरूका छोरीचेलीलाई सुधार्नका लागि भनेर लागेको छु । आफ्नै बच्चालाई पनि ट्र्याकमा हिँडाउनु छ । तर, अहिलेका बच्चालाई जोगाउन धेरै गाह्रो छ ।

यसको अलावा रिकभरी नेपाल नामक संस्थामा आबद्ध छु । रिह्याव सेन्टर स्थापना गरेको नौ महिनाको अवधिमा त्यहाँसम्म पुगेको हँु । तर, त्यहाँ पनि पुरुषवादी चिन्तन हाबी छ । महिलाको सवालमा म बोल्न खोज्छु तर त्यहाँ पनि मुख बन्द गर्न खोजिन्छ । म कसैको विरुद्धमा छैन तर जुन सिष्टममा रिकभरी नेपाल चलिरहेको छ सोको खिलाफमा छु । भनिएको छ, ३३ प्रतिशत महिला सहभागिता तर संस्थामा दुई जनाभन्दा महिला छैनन् । कहाँबाट कति फण्ड आउँछ ? कहाँ कसरी खर्च गरिन्छ ? केही पारदर्शी छैन । रिकभरी नेपालका अध्यक्ष हुन्, विष्णु फुयाँल । जहाँ ड्रग्सको सिकार भएकाहरूको सुधारका लागि विदेशी दाताले दिएको रकम मिसयुज भएको छ । रिकभरी स्थापना भएको यतिको वर्षसम्म के काम भयो खै ? काम कागजमा मात्र देखाउने ? कुलतमा परेकाहरूका लागि भनेर दाताहरूले कोटा छुट्ट्याएका हुन्छन् । त्यो कोटामा को जान्छ ? त्यो पनि पारदर्शिता छैन । यस्ता धेरै अनियमितता छन् । सुध्रिनुपर्नेहरू नसुध्रिने अनि संस्था खोल्नेहरू मात्र मोटाउने परिपाटी अन्त्य हुनुपर्छ । अबको मेरो लडाइँ यो पनि सँगसँगै जोडिएको छ । 

– जयन्ती सुनुवार, सञ्चालक, कृपा घर 

टिप्पणीहरू