जताततै अवैध हतियार, ठिटोसँग स्वचालित पेस्तोल

जताततै अवैध हतियार, ठिटोसँग स्वचालित पेस्तोल

दाङको घोराहीमा २५ वर्षे ठिटोलाई प्रहरीले स्वचालित पेस्तोल र गोलीसहित पक्रेपछि जिल्ला जिल्लामा अवैध हतियारको बिगबिगी पुष्टि भएको हो ।

उपमहानगरपालिका–१३, बस्ने २५ वर्षीय ईन्द्रकमल बुढामगरको साथबाट उक्त हतियार बरामद भएको हो । बुढामगरको घरमा अवैध हातहतियार रहेको सुराकीको आधारमा प्रहरीले उनको घर र शरीर खानतलासी गरेको थियो ।

खोजी गर्ने क्रममा उनको घरमा पार्किङ गरी राखिएको रा.५ प ८७६२ नम्बरको स्कुटर मुनि प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला परेको प्रहरीले बताएको छ ।

त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–४, खाद्रेस्थित न्याउली सामुदायिक वनमा स्याउलाभित्र अपरिचित व्यक्तिले लुकाई राखेको १ थान भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बस्ने दिलसेर राई र ५५ वर्षीय खड्गसिंह राई पनि २ थान भरुवा बन्दुकसहित पक्राउ परेका छन् । उनीहरुले पनि घरमा भरुवा बन्दुक लुकाएका थिए । प्रहरीले दुई जनाकै घरमा छापा मार्ने क्रममा उक्त हतियार बरामद गरेको हो ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–४, किचाई ग्वासी समैजी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक इलाका प्रहरी कार्यालय गुलरियाको प्रहरी टोलीले फेला पारेको छ ।

टिप्पणीहरू