आफ्नैलाई हराएर कसको शीर ठाडो हुन्छ ?

  • नवीन्द्रराज जोशी, कांग्रेस नेता

पूर्ववर्ती सरकारका उद्योगमन्त्री नवीन्द्रराज जोशी ०४९ मा काठमाडौंको उपमेयर निर्वाचित भए । उनीहरुकै कार्यकालमा हो, नगरपालिकाबाट काठमाडौं महानगरपालिका बनेको । यसचोटिको स्थानीय निर्वाचनमा उनका दाइ राजुराज जोशी महानगर मेयरका कांग्रेस प्रत्यासी थिए, हारे । काठमाडौं मात्र होइन, अहिले देशभर नेपाली कांग्रेसले हार्नुनपर्ने भनिएका कतिपय निकायमा हारिरहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले अग्रस्थानमा नतिजा ल्याइरहेको छ । जबकि, कांग्रेस आफैँ सत्तारुढ दल हो । त्यसमाथि दोस्रो चरणको निर्वाचन भइरहँदा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवा रहेको अवस्था छ । 

० दुबै चरणका स्थानीय निर्वाचन कांग्रेसप्रतिकूल हुनुको कारण के हो ? 

– स्थानीय निकायलाई अधिकारसम्पन्न बनाएर जनतालाई आफ्नो सरकार आफैँ चलाउने स्थिति कांग्रेसले बनाएको हो । गर्न त नेपाली कांग्रेसले धेरै मेहनत गरेको हो । त्यसैले हामी यो स्थानीय निर्वाचनमा ‘सेपिङ आउट’ दलको रूपमा आउँछौँ भन्ने विश्वास थियो । तर, यसपालि टिकट वितरण ‘मेकानिज्म’ मा केही समस्या भयो । जति मजबुत र समझदारपूर्ण संयन्त्र बन्नुपथ्र्यो, त्यस्तो हुन सकेन । परिणाम हेर्नुस् न, धेरै कम अन्तरमा जित्नुपर्ने धेरै ठाउँ गुमाएका छौँ । नेपाली कांगेस अहिले पनि सबभन्दा ठूलो पार्टी नै हो । तर, समस्या हामीभित्रै रह्यो । केही मुद्दामा स्पष्ट बनाउन सकेनौँ । यसबाट जनतामा कन्फ्युजन भयो । तर, यो परिणाम अस्थायी हो । हामी अहिले पनि पहिलो राजनीतिक दल हौँ । राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको हिजोको प्रभाव आज पनि छ भन्ने कुरा यही  निर्वाचनले पनि देखाएको छ ।

० टिकट वितरणको समस्या सामान्य नभएर जटिल नै हो क्यार !

– हामीले भन्यौँ, तल्लो तहबाटै उम्मद्वार छानिएर आउन् । तर, कस्तो मेकानिज्म भयो भने, यो यो बस्ने भन्नेखालको । नेपाली कांग्रेसभित्र जुन–जुन ठाउँमा एकाअर्काप्रति पूर्वाग्रही व्यवहार थियो, त्यहीँ त्यहीँ समस्या आयो । टिकट तिनले पाउनुपथ्र्यो, जो  जनताको बीचमा पपुलर थिए । जसले त्यो गाउँ–ठाउँको लागि योगदान दिनसक्छ, त्यस्तोलाई प्राथमिकता दिएर त्यही मापदण्डका आधारमा टिकट वितरण गर्नुपथ्र्यो । कतिपय ठाउँमा त्योअनुसार हुँदा ती साथीहरुले जिते । तर, कतिपय ठाउँमा ‘तेरो र मेरो’ भनेर हार्ने अवस्थामा पुग्यौँ । एउटा पक्षमा ‘जति काम गरे पनि नहुने’ भन्ने मनस्थिति विकास भएको हुनसक्छ । एउटा पक्षले लामो समयदेखि चुनावको तयारी गरिरहेको थियो । तर, समूह वा निश्चित व्यक्तिहरुको रिसका कारणले टिकट नपाउने स्थिति भयो । त्यसैले भोलि प्रदेश र संसदका चुनावमा मजबुत मेकानिज्म बनाउनुपर्छ । यही स्थानीय निर्वाचनमा पनि पहिलोमा भन्दा दोस्रो चरणमा केही सुधार भएका छन् । यो क्रम भविष्यमा सुधार हुँदै जानेछ ।

० पार्टीका आन्तरिक संयन्त्रहरु अहिले पनि भागबण्डामै बनाइन्छ र समस्या पनि त्यहीँबाट उत्पन्न हुन्छ भन्ने कुरा कत्तिको जायज हो ?

– भएकै त्यही हो । पार्टी, संगठनभित्र फर्मल, इन्फर्मल त्यस्ता अर्गनाइजेशन हुनसक्छन् । तर, त्यसलाई म्यानेज गर्नुपर्छ । मैले वा कोही व्यक्तिले व्यक्तिका लागि राजनीति गरेको हुँदैन, सिद्धान्त र आदर्शमा उभिएर राजनीति गरिएको हुन्छ । राजनीतिमा आफूलाई खरो उतारेँ भने मलाई जनतामा जान कसैले रोक्न सक्दैन भन्ने विश्वास पार्टीले दिनुपर्छ । म योसँग नजिक हुँदा, ऊसँग नजिक हुँदा वा यसलाई खुशी पार्दा टिकट पाउँछु भन्ने मनस्थितिलाई अन्त्य गर्ने वातावरण पार्टीले बनाउनुपर्छ । अवसरको पनि समान वितरण हुनुपर्छ । हिजो हामी राणा, पञ्चायत, माओवादी ज्यादतीविरुद्ध, शाही शासनविरुद्ध लड्दासम्म जुन नारा र आदर्शमा अडियौँ, पार्टीले त्यसको सम्मान गर्नुपर्छ । हामीले ७० वर्षको राजनीतिमा जनतालाई दिएको उपलब्धि जनताको बीचमा लैजान पछाडि हट्नुहुँदैन । वीपी कोइरालाले ०१६ सालमा द्वारिकादेवी ठकुराठीलाई पहिलोचोटि महिला मन्त्री बनाउनुभयो, ००४ सालमा मंगलादेवी सिंहले पद्मसमशेरलाई भेटेर महिलालाई भोट हाल्न दिनुपर्छ भन्ने माग गर्नुभएपछि महिलाले जनप्रतिनिधि चुन्ने अवसर पाए । यी सब कांग्रेसका सम्पत्ति हुन् ।  जनताको बीचमा प्रचार गर्नुपर्छ । तर, हामी आ–आफ्नो समस्यामा पो रुमल्लियौँ कि ? अहिलेको राष्ट्रिय राजनीतिमा हामीले आफ्ना धारणाहरुलाई स्पष्ट पार्नुपर्छ, तर यथेष्ट रुपमा त्यसो गरिएको छैन ।

० त्यत्रो विरासत धानेको पार्टीले यसपालि माओवादीसँग मिलेर, उनीहरुलाई भोट मागिदिनुपर्ने स्थितिले कार्यकर्तामा निराशा छाएको कति सत्य हो ?

– म यो कुराको विरोधी हुँ । त्यस्तो पक्षमा थिइनँ । तर, कहिलेकाहिँ परिस्थिति त्यस्तो हुँदोरहेछ । हो, हामीले त्यसो गर्नुहुँदैनथ्यो । 
जस्तो कि, काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि जसरी एमाले र राप्रपा मिले नि, त्यसको कहिँ, कतै रियाक्सन भएन । तर, कांग्रेस कोहीसँग मिल्यो भने त्यो तत्कालै रियाक्ट भइहाल्ने † मेरो प्रश्न मैँसँग के हो भने, हिजो राप्रपासँग एमाले मिल्दा कतै प्रतिक्रिया नहुने । काठमाडौंमै त कांग्रेस कोहीसँग मिलेको थिएन नि, तर अन्यत्र माओवादीसँग गठबन्धन गरेको कुराको रियाक्सन यहाँसम्म देखिने † यो के रहेछ भने, कांग्रेसलाई धेरैले वाच गरिरहेका रहेछन् । एमाले मिल्न जाँदा चासो छैन, कांग्रेस मिल्दा भयंकर चासो हुने भनेको कांग्रेसका शुभचिन्तक देशमा एकदमै धेरै छन् भन्ने बुझ्नुपर्छ । गणेशमानले भन्नुभएको थियो, ‘नेपाली कांग्रेस भनेको आमा हो । जति हेपे पनि अन्तिममा दूध खानुपर्ने त्यही आमाको हो ।’ अर्थात्, नेपाली कांग्रेस मुलुकको अभिभावक हो ।

० काठमाडौंमा धेरै मतको अन्तरमा कांग्रेसले हार्नुको कारण के हो ?

– नयाँ पार्टी बनेर चुनावमा आए नि, उनीहरुले त्यत्रो धेरै मत ल्याउनुपर्ने त्यस्तो केही विशेष कारणै थिएन । कांग्रेसकै विरुद्धमा उठाइएको शक्तिका रुपमा अहिले चित्रित भएको छ । काठमाडौंमा कांग्रेसलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर यहाँका जनताको सेन्टिमेन्ट भड्काउन त्यस्तो गरियो । प्रतिपक्षी पार्टीहरुले बडो राम्रो विश्लेषण गरेर यस्तो काम गरेका छन् । त्यसैले काठमाडौंको परिणाम लोकतान्त्रिक शक्तिहरुलाई कमजोर बनाउने एउटा गेम हो । नपत्याए, मतदातालाई सोध्नुस्, जसले ‘अन्य’ लाई मतदान गरे । मलाई एकजनाले आएर भन्नुभयो, ‘म रातभरि सुत्न सकिनँ । किनभने, मैले यसपालि अन्तै भोट हालेँ ।’ उहाँले जिन्दगीमा कांग्रेसबाहेक अरुलाई भोट हाल्नुभएको रहेनछ । तर, यसपालि ‘बाध्य भएँ’ भन्दै उकुसमुकुस भएको, पश्चाताप भएको कुरा सुनाउन मकहाँ आउनुभएको रहेछ । त्यसैले काठमाडौं कहिलेकाँही सेन्टिमेन्टमा बग्छ । यसपालि त्यस्तै सेन्टिमेन्टमा बगेको बेला निर्वाचन भयो । त्यसमाथि हाम्रै साथीको बीचमा एकता भएन । मैले बुझेको छैन कि, आफ्नै पार्टीलाई हराएर कसको शीर ठाडो हुन्छ ? केही त्यस्ता थिए, पार्टीलाई हराउने । टिकट पाउने नेपाली कांग्रेसको एउटा परम्परा छ । त्यो परम्परालाई हामीले मिस ग¥यौँ किजस्तो लाग्छ । 
० तर, कांग्रेसकै उपमेयरले धेरै राम्रो भोट पाएर जित्नुभयो नि !

– उपमेयरको कुरै छाडिदिनुस् न, यो त मेयरको लडाइँ हो नि !

० मेयरमा जनता र कार्यकर्ताले नै नचिनेको उम्मेद्वार भएर हारेको होइन ?

– हो, प्रचार गर्ने समय कम भयो, म  यो स्वीकार्छु । नेपाली कांग्रेसलाई बनाउने नै काठमाडौंका जनता हुन् । आज ती जनतामा के असन्तुष्टि, यो बुझ्न सकिएको छैन । मुख्य कुरा, आफ्नै साथीले भोट नहालेर चुनाव हा¥यौँ । आफ्नै साथीलाई भोट हाल्नुपर्छ भन्ने बनाउनुपथ्र्यो । आज त्यो कुरा साथीहरुलाई महसूस भएको छ । तर, एकचोटि हातबाट फुस्किसकेपछि फेरि त्यो पाउन धेरै कठिन हुन्छ ।

० कांग्रेस नेतृत्व नै मजबुत नहुँदा यो हविगत भयो पनि भनिन्छ नि !

– केही मुद्दामा नेपाली कांग्रेसले आफूलाई स्पष्टसँग उभ्याउन सकेन । जस्तो कि, चुनावको मुखैमा जसरी नेपालको पहिलो महिला प्रधानन्यायाधीशमाथि अभियोग लगाउने काम भयो, यसबाट सबभन्दा धेरै क्षति नेपाली कांग्रेसलाई भएको छ । नेपाली महिलालाई मताधिकार दिलाउने, पहिलोपटक महिलालाई मन्त्री बनाउने सबै काम कांग्रेसले गरेको थियो । तर, नेपालको पहिलो महिला प्रधानन्यायाधीशको अपमान हुने गरी जसरी महाभियोग लगाउने काम गरियो, यस्तोमा नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट राख्न सकेन । प्रधानन्यायाधीश हुनुभएकी महिला पनि नेपाली कांग्रेसकै मुभमेन्टबाट विकास भएर आउनुभएको हो । यसले जनतामा नेपाली कांग्रेसप्रति कन्फ्युजन बढायो । अरुले यो कुरालाई दुष्प्रचार गर्ने मौका पाए । यस्तो किन हुन्छ भने, सबभन्दा बढी अपेक्षा कांग्रेससँग छ । अपेक्षा गरिएको पार्टीले सानो, सानो गल्ती गर्दा पनि जनतामा बढी असन्तुष्टि हुन्छ । 

टिप्पणीहरू