काठमाण्डौका जनप्रतिनिधि र कर्मचारी यहिबेला किन पुगे कर्णाली ?

काठमाण्डौका जनप्रतिनिधि र कर्मचारी यहिबेला किन पुगे कर्णाली ?

कोरोना महामारीको जोखिम कायम रहेको बेला काठमाण्डौ महानगरपालिका कर्मचारी र जनप्रतिनिधि घुमफिरमा सामेल भएका छन् । दिनहुँ कोरोना प्रकोप बढिरहेको बेला महानगरका कर्मचारी देश दर्शनमा गएका हुन् ।

महानगरका कतिपय कार्यक्रम कोरोनालाई देखाउँदै जुम र अनलाइनमा सीमित छ । महानगरको कार्यालयदेखि वडा सबैमा कोरोना संक्रमणलाई देखाउँदै काम र समय छोट्याइएको छ । कतिपय काम पन्छाइएको छ । तर,घुम्न र फोटो खिच्न हप्तौँसम्म २६ जनाको जम्बो टोली देश दौडाहामा निस्कँदा सरकार र आफैँले जारी गरेको निर्देशनको पालना नभएको देखिएको छ ।भदौ ९ गते काठमाडौंबाट ‘रारा भ्रमण’ मा हिँडेको टोलीले बाटोमा पर्ने लुम्बिनीलगायतका स्थलको अवलोकन नगर्ने कुरै भएन । त्यहि टोली पछि सुर्खेत हुँदै काठमाडौं फर्किएको छ । अहिलेको अवस्थामा भीडभाड नगर्न, अत्यावश्यक बाहेकका कार्यमा घर र कार्यालय बाहिर ननिस्कन सरकार र काठमाडौं महानगरपालिका स्वयमले बारम्बार सूचना सार्वजनिक गरिरहेको हो ।

“झण्डै एक महिनादेखि राजधानीमा थुप्रेको फोहोर व्यवस्थापन गर्न छाडी लाखौं खर्चेर टोली रारा भ्रमणमा निस्कनुलाई ‘एक्सचेञ्ज प्रोग्राम’ मात्र मान्न सकिएला र ?”

तर महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलको नेतृत्वमा केही जनप्रतिनिधिसमेत भएको टोली रारा भ्रमणमा निस्केको पाइएको छ । सरकारले अत्यावश्यक कार्यमा मात्र २५ जनाको समूह भेला हुन पाइने भनेको हो । रारा भ्रमण अहिलेको अवस्थामा अत्यावश्यक कामभित्र नपर्ने महानगरकै भ्रमणमा नगएका वा नपरेका जनप्रतिनिधि र कर्मचारीले बताएका छन् । तर डंगोलको नेतृत्वमा २६ जनाको टोली महामारीमा धेरै दिनसम्म घुमफिरमा मस्त छ ।

‘उताका नगरपालिकाहरुमा के कस्तो काम भइरहेको छ भनेर अध्ययन गर्न निस्केका हौं,’ भ्रमणको औचित्य पुष्टि गर्न खोज्दै प्रवक्ता डंगोल पन्छिए । ‘एक्स्चेन्ज प्रोग्राम’ मा सहभागी हुन आफूसहितको टोली उपत्यकाबाहिर घुमेको डंगोलको भनाइ छ ।

तर,बितेको डेढ वर्षमा कोरोना महामारीले काठमाडौं महानगरपालिकाभित्रका कमजोर वर्ग र न्यून आय भएका सर्वसाधारणमा परेको मर्काको बारेमा स्वयम डंगोल नेतृत्वको टोली र महानगरपालिका भने बेखबर देखिन्छ । ३२ वटा वडामध्ये धेरै वटामा सर्वसाधारणको काममा परेको असर न्यूनीकरण गर्नेबारे कसैले सोचेको देखिँदैन । झण्डै एक महिनादेखि राजधानीमा थुप्रेको फोहोर व्यवस्थापन गर्न छाडी लाखौं खर्चेर टोली रारा भ्रमणमा निस्कनुलाई ‘एक्सचेञ्ज प्रोग्राम’ मात्र मान्न सकिएला र ? जनगुनासो उस्तै छ ।

टिप्पणीहरू