निजामती कर्मचारीद्वारा निजामती ऐन खारेजीको माग

निजामती कर्मचारीद्वारा निजामती ऐन खारेजीको माग

लामो समयदेखि संसदमा अड्केको निजामती ऐन खारेजीको माग गरिएको छ । ऐन खारेजीको माग अरुले नभएर स्वयम् निजामती कर्मचारीले गरेका हुन् ।

आज बिहान ११ बजे स्वतन्त्र निजामती कर्मचारी अभियान, केन्द्रीय संघर्ष समितिले संघीय निजामती ऐन खारेजीको माग गर्दै प्रदर्शन गर्न लागेका छन् । माइतीघर मण्डलामा हुने प्रदर्शनमा ऐन कर्मचारीको हित अनुकूल नभएकाले खारेजीको माग गरिएको बताइएको छ ।

राजधानीमा आज हुने विभिन्न कार्यक्रममध्ये नेकपा (माओवादी केन्द्र) बलेफी गाउँपालिका २–काठमाण्डौं सम्पर्क समन्वय समितिले भेला गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बिहान ७ बजेदेखि कार्यक्रम बोलाइएको बताइएको छ ।

उता नेपाली काँग्रेस रौतहटले क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्ध रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि शुरु गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेबाट बिरोध शुरु हुने जनाइएको छ ।

नेपाल वायुसेवा निगममा पनि महिनौंदेखि हुँदे आएको कर्मचारी आन्दोलन रोकिएको छैन । त्यहाँका तीन वटा युनियनले गर्दै आएको धर्ना तथा बिरोध कार्यक्रम आज पनि हुने जनाइएको छ । नेपाल वायुसेवा निगमको मुख्य कार्यालयमा सँधैझैँ आज पनि साढे १० बजेदेखि साढे १२ बजेसम्म कार्यक्रम हुने जनाइएको छ ।

उता संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाइएको छ । समितिको सभाकक्ष, सिंहदरबारमा बिहान ११ बजे बैठक बोलाइएको हो ।

आजै राप्रपाको काठमाडौं जिल्ला अधिवेशन हुने भएको छ । नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बिहान ११ बजेदेखि अधिवेशन हुने जानकारी दिइएको छ ।

संवैधानिक राजसंस्थाको पुनस्र्थापनाको माग बढ्दै गएको छ । सोही क्रममा राजसंस्था पुनस्र्थापना र वैदिक सनातन हिन्दुअधिराज्य कायम गर्न संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २०७८ घोषणा गर्ने कार्यक्रम राखिएको छ । दिउँसो १ बजे होटल यलो प्योगोडामा उक्त घोषणा हुन लागेको हो ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आज राष्ट्रघाती एमसीसी, तुईन प्रकरण र उत्पीडित समुदायमाथिको अत्याचारविरुद्ध बिरोध कार्यक्रम गर्ने जनाएको छ । दिउँसो १ बजे माइतीघर मण्डलामा बिरोध हुने भएको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले हालै पेश गरेका ११ बुँदे मागहरू पूरा गराउन दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने भएको छ । त्यसबारे जानकारी गराउन महासंघले दिउँसो साढे १ बजे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ । त्यसैगरी भाडा समायोजन गर्न दबाब दिने उद्देश्यले महासंघले बागमती प्रदेशअन्तर्गतको अञ्चल यातायात व्यवस्था कार्यालयमा बिहान ११ बजे धर्ना दिने भएको छ ।

सयुक्त विद्यार्थी संगठनले नेपाल ल क्याम्पसको डिनको कार्यालयमा गरेको तालाबन्दी आज पनि जारी राख्ने भएका छन् ।

टिप्पणीहरू