भ्रष्टाचारमा विकास

नेपालले विकास गरेन, प्रगति गरेन भन्ने आममानिसको धारणा छ । सतही रूपमा हेर्दा हो जस्तो पनि देखिन्छ । तर, यथार्थमा यो सत्य होइन । नेपालले विकास गरेकै छ । खुला रूपमा गरेन होला त्यो अर्कै कुरा भयो । गोप्य रूपमा भने प्रशस्तै गरेको छ । त्यसको एउटा ज्वलन्त नमुना बताउँछु । 

भर्खरै एक जना राजश्व हाकिम पक्राउ परे । राजश्वमा भ्रष्टाचार गरेको आरोप छ उनीमाथि । भ्रष्टाचार पनि सानोतिनो हो र  पूरै ३ अर्बको । अख्तियारले ३ अर्ब धरौटी मागेको छ । पहिले–पहिले करोडको भ्रष्टाचार हुने गथ्र्यो । अहिले अर्बको हुन थालेको छ । एउटै मान्छेले ३ अर्बको भ्रष्टाचार गर्नु सानो कुरा होइन । 

अब सोचौँ, राजश्वको हाकिमले तीन–तीन अर्बको भ्रष्टाचार कोसँग ग¥यो होला ? जो राजश्व तिर्न आउँछ, उसैसँग ग¥यो होला । उनलाई तीन अर्ब कसले ख्वाउँछ ? जसले तीन खर्बको कारोबार गर्छ । तीन खर्बको कारोवार गर्नेले त तीन अर्ब ख्वाउन सक्छ नि † तीन करोडको कारोबार गर्नेले तीन अर्ब ख्वाएको त पक्कै होइन होला ।

अब फेरि सोचौँ, देशमा तीन–तीन अर्बसम्म घुस ख्वाउने हैसियत बनाउन कारोबार त ठूलै बनाउनुप¥यो । घुस ख्वाएबाटै थाहा हुन्छ कि देशमा यति ठूलो कारोबार भइरहेको छ । कारोबार भइरहेको छ भने विकास पनि भइरहेकै मान्नुप¥यो । विकास नभए कारोबार हुन्छ ? कारोबार नभएको भए घुस ख्वाउन सक्थ्यो ? जति ठूलो कारोबार हुन्छ त्यति नै ठूलो भ्रष्टाचार हुने हो । जति धेरै विकास हुन्छ त्यति नै ठूलो कारोवार हुने हो । 

नेपालमा भइरहेको भ्रष्टाचारबाटै थाहा हुन्छ हामी विकासमा कति अघि पुगिसकेछौं । अरू देशतिर भए मानिसको आर्थिक वृद्धिबाट विकासको गति थाहा हुन्थ्यो । हामीकहाँ चाहिँ भ्रष्टाचारको लेवल हेरेर विकासको गति थाहा हुन्छ । आखिर जसरी होस्, थाहा त भयो नि । होइन र ?

टिप्पणीहरू