राजनीतिमा इमान कहाँ हुन्छ र ! त्यसमा पनि पदको प्रश्न आएपछि

राजनीतिमा इमान कहाँ हुन्छ र ! त्यसमा पनि पदको प्रश्न आएपछि

भनिन्छ, राजनीति कहिलेकाँही नसोचेको ढंगको निर्मम पनि बनिदिन्छ । त्यसैले नैतिकता र इमानको कसीमा जोडेर हेर्दा औँलामा गन्न सकिने संख्यामा केही नेताले मात्र आफूलाई निष्ठावान र इमान्दार साबित गर्न सकेका छन् । अझ, हाम्रोजस्तो सबैखाले चेतनाको अभाव र निम्न पुँजीवादी चिन्तन भएको समाजमा झन् इमानको राजनीति भेट्नै दुर्लभ छ । पछिल्लो समय माधवकुमार नेपालको समूहलाई छाडेर केपी ओलीतिर लागेका केही नेताले राजनीतिमा इमान होइन शक्ति प्रभावशाली हुन्छ भन्ने बुझाईलाई प्रमाणित गरिदिएका छन् ।

एमालेभित्रको लामो अन्तरसंघर्षमा शुरुआतदेखि नै नेता नेपाललाई साथ दिँदै आएका धेरै नेताले निर्णायक क्षणमा आफूलाई ओली कित्तामा उभ्याइदिएका छन् । राष्ट्रिय व्यक्तित्व बनाएका दर्जनौँ त्यस्ता नेतामध्ये झापाकी पवित्रा निरौला पनि एक हुनुुहुन्छ । झापा विद्रोहका पुराना तथा इमान्दार नेता नरेश खरेलकी धर्मपत्नी समेत रहनुभएकी निरौला एमालेकी सांसद हुनुहुन्छ । प्रतिनिधिसभाको चुनावमा टिकट पाउन र निर्वाचन जित्न उहाँले ठूलै संघर्ष गर्नुपरेको थियो ।

स्वार्थको सम्बन्ध पनि कहिलेसम्म ? १० बुँदे सहमति अलपत्र परिसकेको भनिएका बेला आगामी निर्वाचनमा निरौला झापा–२ मा ओलीको रोजाइमा पर्नुहोला ?

केपी ओलीका कारण झन्डै टिकट नपाउने अवस्थाबाट उहँलाई माधव नेपालले नै जोगाउनु भएको बताइन्छ । ओली झापा–२ बाट पवित्राको स्थानमा अग्नि खरेललाई टिकट दिन चाहनुहुन्थ्यो । पहिले झापा–४ का लागि निकै प्रयास भए पनि त्यहाँ कार्की बन्धुहरुले गर्दा उहाँको पार लाग्न सकेन ।

निरौला पनि टिकटका लागि लबिङ गरिरहनुभएको थियो । तर, ओलीले त्यतिबेला ‘तिमीले जित्दैनौ, तिमीसँग पैसा पनि छैन । अग्निलाई छाडिदिनु,ऊसँग पैसा छ । उसले जित्छ पनि’ भनेको सुन्ने नेता अहिले एमालेमै छन् । टिकटका लागि त्यतिबेलाको लडाईं देख्नेहरु पवित्राका लागि सात दिनसम्म टिकट वितरण निर्णय प्रक्रिया रोक्ने नेता नेपाल नै भएको बताउँछन् । तर, राजनीतिमा इमान नभएपछि कसैको केही नलाग्दो रहेछ भन्दै झापाका एक जना पुराना एमाले नेताले भनेका छन्, ‘आज उनै पवित्रा माधव नेपालको साथ छाडेर ओली खेमामा पुगेको देख्दा उदेक लागेर आउँछ ।’

हुन त राजनीतिमा व्यक्तिगत सम्बन्धका कुरा निर्णायक हुँदैन पनि भनिन्छ । आफ्नो राजनीतिक निर्णय गर्न हरेक व्यक्ति आफैं स्वतन्त्र हुन्छ । तर, पार्टीको अन्तरसंघर्षमा कित्ता फेरिरहनुलाई चाहिँ स्वार्थको सम्बन्धसँग जोडेर हेर्ने गरिन्छ । तर स्वार्थको सम्बन्ध पनि कहिलेसम्म ? १० बुँदे सहमति अलपत्र परिसकेको भनिएका बेला आगामी निर्वाचनमा निरौला झापा–२ मा ओलीको रोजाइमा पर्नुहोला ?

के अब उहाँले झापा–२ बाट फेरि हिजो जस्तै सबैको वाहवाहीमा टिकट पाउनुहोला ? अग्नि खरेलका अगाडि पवित्रा पुरानै नेतृ हुन् भनेर ओलीसँग संघर्ष गरिदिन त्यतिबेला को अघि सर्ला ? त्यतिबेला हिजोझैँ अब माधव नेपाल पवित्राको पक्षमा बोल्ने स्थानमा हुनुहुन्न ।

टिप्पणीहरू