नेकपा एसले एक महिनाभित्र संगठन पुनर्गठनका सबै काम सक्ने

नेकपा एसले एक महिनाभित्र संगठन पुनर्गठनका सबै काम सक्ने

नेकपा एमालेबाट बिद्रोह गरि गत भदौ २ गते गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले एक महिनाभित्र संगठन पुनर्गठनका सम्पूर्ण काम सक्ने योजना अघि सारेको छ । सो पार्टीले आज जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)-१ मा एक महिनाभित्रमा जिल्लादेखि वडासम्मका सबै कमिटीहरु पुनर्गठन गरि व्यवस्थित गर्न मातहतका कमिटीलाई निर्देशन दिइएको छ ।

यसअघि एमालेमा माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गर्न पनि निर्देश गरिएको । ‘तत्काल गर्नुपर्ने कामहरू’ उपशीर्षकअन्तर्गत अपानीमा भनिएको छ, ‘पार्टी र सबै जन वर्गीय सङ्गठनहरूका सबै तहका कमिटीहरू पनि नेकपा (एकीकृत समाजवादी) का भातृ भगिनी सङ्गठनमा रूपान्तरण गर्ने । पार्टी र जन सङ्गठनका कामलाई तत्काल व्यवस्थित रूपमा सुचारु गर्ने ।’

त्यस्तै, देशव्यापी रूपमा पार्टी कमिटी गठन, पुर्नगठन, बैठक, भेला, वैचारिक प्रशिक्षणलगायतका गतिविधिहरूलाई अभियानको रूपमा सञ्चालन गर्ने नेकपा एसले निर्णय गरेको छ । एमालेका संगठित सदस्यहरुलाई नेकपा एसमा संगठित हुन् आव्हान गर्ने र त्यस्ता सदस्यहरु स्वतः पार्टीको सङ्गठित सदस्यमा रूपान्तरण हुने बताइएको छ । सङ्गठित सदस्यहरूको विवरण रेकर्ड तत्काल कायम गरी सङ्गठित सदस्यता नविकरण गर्ने पनि नेकपा एसको तयारी छ ।

नेकपा एसले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूलाई एकीकृत समाजवादी रोज्न आव्हान पनि गरेको छ । भदौ १५ देखि २२ गतेसम्म पार्टी रोज्न निर्वाचन आयोगले समय निर्धारण गरेको उल्लेख गर्दै तोकिएको अवधिभित्र तोकिएका निर्वाचन आयोगको कार्यालयमा गई सनाखत गराउन जनप्रतिनिधिहरुलाई अपानीमा प्रष्ट भनिएको छ ।

अपानीमा पार्टी सदस्यता आवेदन फारम भर्ने कामलाई तीव्रता दिन पनि कार्यकर्ता पंतिलाई निर्देशन दिइएको छ । ‘नयाँ सदस्यता दिन योग्य कमरेडहरूको नाम संकलन गरी विवरण तयार गर्ने र सङ्गठित सदस्यता आवेदन फाराम भराउने । त्यसरी नै पार्टी सदस्यताको आवेदन फाराम भराउने कामलाई पनि तीव्रता दिने । आवेदन फारम र सदस्यता रसिदका नमुना यसैसाथ पठाइएको छ’, अपानीमा भनिएको छ ।

नेकपा एसले केपी ओली पक्षले फैलाइएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्ने र जनता-कार्यकर्ताको बीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्नका लागि व्यापक प्रचार अभियान चलाउने कुरालाई तत्काल गर्नुपर्ने काममा राखेको छ ।

टिप्पणीहरू