दार्चुला घटनाको विरोधमा आरआर अगाडि प्रदर्शन

दार्चुला घटनाको विरोधमा आरआर अगाडि प्रदर्शन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरण छानविनमा सरकार उदासीन बनेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । आज प्रदर्शनी मार्गस्थित आरआर कलेज अगाडि देशभक्त कम्युनिस्ट विद्यार्थीहरुको आयोजनामा अनेरास्ववियुले पुत्ला दहनसहित विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा आरआरका अनेरास्ववियुका नेताहरु मदन भण्डारी, गीता महर, विश्वनाथ विश्वकर्मा, उज्ज्वल खड्का, लोकेश खड्कासहित टिन दर्जन जति विद्यार्थीहरु सहभागी थिए । प्रदर्शनका क्रममा अखिलका विद्यार्थीहरुले छिमेकी मुलुक भारत, नेपाल सरकार र प्रधानमन्त्री देउवाविरुद्ध नारावाजी गरेका थिए ।

महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन फुस्काई दिँदा दार्चुलाका जयसिंह धामी महाकालीको उर्लँदो भेलमा बगेर बेपत्ता भएका थिए । घटना घटेको एक महिना बितिसक्दा पनि धामीको शव भेटिएको छैन ।

घटनाको छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरि स्थलगत अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको छ । तर, सरकार आफैंले घटना लुकाउन खोजेको भन्दै प्रतिपक्ष एमालेले चर्को विरोध गरिरहेको छ । मातृ पार्टीले सरकारको विरोध गरिरहेका बेला अनेरास्ववियु पनि प्रदर्शनमा उत्रेको हो ।

टिप्पणीहरू