चाडपर्व आउँदैछ, सावधान यमराज छेउमै छ

चाडपर्व आउँदैछ, सावधान यमराज छेउमै छ

साउन महिना कटेसँगै चाडपर्वको ओइरो छ । कहिले साउने व्रत त कहिले गाईजात्रा । जुन चाड आए पनि यस्तो कोरोना कहरबीच भीडभाडभन्दा अरु केही छैन । गाईजात्रा मनाउने क्रममा भक्तपुर दरबार स्क्वायर वरिपरि कत्रो भीड देखियो !

कोरोनाको जोखिम बढेकाले भक्तपुरका प्रजिअले भीड नगरी मनाउन आग्रह गरे । तर, प्रजिअकै कमजोरीका कारण हजारौं सर्वसाधारण स्वास्थ्य मापदण्ड पालना नगरी गाईजात्रा मनाउन जम्मा भए । त्यस्तै, साउनमा महिला ब्रतालुको भीड पशुपतिनाथ मन्दिरमा उत्तिकै देखियो । स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै व्रतालु पशुपतिनाथमा जम्मा भएका थिए । नेपालमा साउन लागेसँगै चाडपर्वको आगमन हुन्छ ।

चाडपर्व लागेसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने पनि यत्तिकै हुन्छन् । स्वास्थ्य मापदण्ड पालना नभएसँगै कोभिडको नयाँ भेरियन्ट देखा पर्छ । देशभर कति जिल्लामा अझै निषेधाज्ञा छ तर कसैले टेरेको छैन ।

सबैभन्दा बढी कोरोना संक्रमित उपत्यकाका तीन जिल्लाका सर्वसाधारण छन् । देशभरको सक्रिय संक्रमितमध्ये उपत्यकामा मात्र झण्डै एकतिहाइ छ । उपत्यकामा निषेधाज्ञा छ र जहाँ हे¥यो मानिसको भीड यत्तिकै छ । मुखमा मास्क छैन । सामाजिक दूरी पालना छैन । हवाईजहाजदेखि लिएर बाटोमा गुड्ने सवारी साधनसम्मले समेत स्वास्थ्य मापदण्ड पालना गरेको छैन । तैपनि, अनुगमन कहीँ छैन । निषेधाज्ञा झन् कडा गर्दै लानुपर्ने ठाउँमा कोरोना संक्रमण बढाउन सिडिओले खुला छोडिदिएका छन् । कोरोना संक्रमण दर बढ्दै गयो भने जिम्मा कसले लिन्छ ?

अस्पतालमा बेड नभएर भुइँमा राखेर उपचार गर्नुपर्ने दिन आउँदै । उपचार नपाएर कतिले कोरोनाकै कारण प्राण त्याग्नुपर्ने स्थिति छ । त्यतिखेर राज्यले के गर्छ । एउटा नागरिक बनाउन सरकारको कति लगानी छ ! एउटा नागरिक गुमाउँदा राज्यलाई कति घाटा हुन्छ !

अस्पतालमा हे¥यो सर्वसाधारणको चाप यत्तिकै छ । खोप लाउने ठाउँमा पनि उत्तिकै भीड छ । यातायात कार्यालय, मालपोत, बैंक, फाइनान्स, होटलमा पनि उत्तिकै भीड देखिन्छ । देशकै जेठो अस्पताल भनेर चिनिने वीर अस्पतालमा सेवाग्राहीको भीडले गर्दा खुट्टा टेक्ने ठाउँ छैन ।

को कोरोनाको बिरामी, को अरु कुनै रोगी भनेर चिन्नै मुश्किल छ । सबै जना एकै ठाउँ, कुनै सभामा भेला भएर बसेजस्तो देखिन्छ । देशकै जेठो अस्पताल वीरमा त कोरोनाको पीर छ भने अरु अस्पतालको हालत के होला ?

वीर अस्पतालमा टिकट काट्नेहरूको अव्यस्थित लाइनले कतिको मनस्थितिमा कोरोना हराइसकेको हो र ? भन्ने प्रश्न पैदा हुन्छ । सरकारको प्रत्यक्ष रेखदेखमा सञ्चालन हुने वीर अस्पतालमा कोरोनालाई लिएर चरम लापरबाही गरिएको स्पष्ट देखिन्छ । सिभिल अस्पताल तथा अन्य सरकारी र निजी अस्पतालमा सेवाग्राहीको भीडभाड उत्तिकै देखिन्छ ।

दिनहुँजसो मृत्यु दर बढ्दो छ । कर तिर्ने नागरिक एक जना बित्दा फेरि अर्को जन्मेको बच्चाबाट कर पाउन राज्यले वर्षाैं कुर्नुपर्ने हुन्छ । कोरोना लागेको एउटा व्यक्तिको उपचार गर्न राज्यको ढुकुटीबाट कति राजस्व खर्च भएको छ ? राज्यको सबैभन्दा ठूलो दायित्व भनेको जनताको बाँच्ने अधिकार सुनिश्चित गर्नु हो ।

राजनीतिक दललाई त कोरोना दसैँजत्तिकै भएको छ । सभा, भेला, पूजापाठ, संस्था खोल्दै हिँडेका छन् । कोरोनाले पनि नेता र व्यापारी चिन्दो रै’छ । ०७८ साउन २७ गतेबाट २०७८ भदौ ५ गतेसम्म राति ८ बजेपछि बिहान ६ बजेसम्म सार्वजनिक र निजी गाडीहरू चल्न प्रतिबन्ध लगाइएको थियो । यो निर्णयले पनि कोरोना केही हदसम्म कम गर्न निकै मद्दत पु¥यायो । किनभने राति ८ बज्नुभन्दा अगाडि नै सबै आफ्नो घर पुगिसक्थे । रेष्टुरेन्ट, होटलहरू ७ बजे नै बन्द भइसक्थे । जसकारण सरकारलाई पनि कोरोना नियन्त्रणमा केही मद्दत पुगेको थियो ।

राति ८ बजेपछि गाडी चल्न प्रतिबन्ध लगाएको बेला स्वास्थ्य मन्त्रालयले जारी गरेको कोरोना चार्टमा कोरोना संक्रमितको कमी देखिन्थ्यो । बेलुका फुट्पाथमा हिँड्नेहरूको संख्यामा पनि कमी आएको थियो । बाटोमा मानिसको चहलपहलमा कमी आएको थियो । तर, सरकारले राति गाडी गुड्न लगाएको प्रतिबन्ध हटाएसँगै कोरोना पनि पहिल्यैकै स्थितिमा आएको छ । मानिसको भीड बढेको छ । यसले झन् भयानक रूप देखाउने विज्ञहरूको भनाइ छ ।

काठमाडौँमा दैनिक चार, पाँच सय हाराहारीमा कोरोना संक्रमितको संख्या थपिरहेको छ । सक्रिय संक्रमित घट्नुपर्ने ठाउँमा झन् बढिरहेको छ । तैपनि, कोरोनाको वास्ता कसैले गरेको छैन ।

टिप्पणीहरू