​गाडीका निम्ति भयंकर गलफत्ती

चुनावमा जित–हारको भन्दा चिन्ता छाडेर नेताहरु गाडीका लागि सिंहदबारमा ताँती लागे । माग्नेको ताँती सयभन्दा धेरैको । तर, दिन सकिने जम्मा १२ । दोस्रो चरणको स्थानीय निर्वाचन निम्ति प्रचार काम चलिरहेको बेला नेताहरु सिंहदरबारमा गाडीका लागि मारामार गर्दै थिए । संसद सचिवालयका कर्मचारी भने ‘हजुरका हजुर’ भनेर फकाउँदै थिए ।

व्यवस्थापिका संसदमा १० मुख्यसहित ११ विषयगत र ३ प्रक्रियागत गरी जम्मा २४ समिति छन् । तर, स्थानीय निर्वाचनअघि संसद सचिवालयले १२  वटा अत्याधुनिक सुविधासम्पन्न स्कोर्पियो गाडी खरिद गरेपछि त्यो फुत्काउन नेता–नेता बीच हानाथाप चल्यो । चढिरहेको पुरानो गाडी फेर्ने मन सबैको हुँदोरहेछ । तर, दिनुपर्ने निकायसँग सिमित गाडी हुँदा कतिपय कर्मचारीले नेताहरुको गाली खानुपरेको छ । यसरी धेरैको तँछाडमछाड पछि अन्ततः १२ जना पहुँचवालले चुनावअघि नै एयर ब्याग, फोरह्वील र एयरकन्डिसनयुक्त गाडी लगेका छन् । 

भीर–पहराबाट खसिहालेमा मानव शरीरको सुरक्षा हुने उक्त गाडी पाउनेमध्ये सभामुख ओनसरी घर्तीमगरले बा २ झ २८६६, माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले २८६३, कांग्रेस वरिष्ठ नेता कूलबहादुर गुरुङले २८६५, सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले २८७५, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले २८६४, कांग्रेसका ईश्वरी न्यौपानेले २८६८, कृषि तथा जलस्रोत समितिका सभापति मोहन बरालले २८६९, माओवादी सचेतक सीता नेपालीले २८७०, एमाले सचेतक गोकुल घर्तीले २८७१, ज्येष्ठ नागरिक तथा जनकल्याण समितिकी सभापति एवं एमाले सांसद रञ्जु झाले २८७२, अर्थ समितिका सभापति तथा एमाले नेता प्रकाश ज्वालाले २८७३ र विधायन समितिकी सभापति गंगा चौधरीले २८७४ नम्बरको गाडी लगेका छन् ।

टिप्पणीहरू