​नियम तोड्नेमा नेता र नायिका

गरेदेखि नहुने केही रहेनछ । झट्ट हेर्दा सानो कुराझैँ लाग्ने, तर जनजीवन प्रभावित हुने दृष्टिले विकराल समस्या बन्दै गएको सडक अनुशासन कायम गराउँदा प्रहरीले समाजका कस्ता–कस्ता अगुवा भनाउँदासमेतलाई बाँकी नराखी कारवाही गरेको छ । 

वैद्य पक्षधर माओवादी नेता तथा पूर्वप्राध्यापक सुरेश आले मगरले बाटोमा हिँड्दाहिँड्दै कुनै दिन ट्राफिकको फन्दामा पर्छु भनेर शायदै सोचेका थिए । तर, दिन त्यस्तो पनि आयो । सडकमा रेखा लगाइएभन्दा बाहिर सवारी साधन चलाउनेलाई कारवाही गर्ने (लेन अनुशासनको) क्रममा उनी पनि बाँकी रहेनन् । फिल्महरुमा हट सिन दिएर ख्याति कमाएकी शुभेच्छा थापा, पूजना प्रधानदेखि ‘ठ्याक्क–ठ्याक्क लौरीले’ बालको गीत गाउने बाबु बोगटी, दीपक लिम्बू, ‘ए राता मकै’ भन्ने हाँस्य कलाकार किरण केसी, खेलाडी दीपक विष्ट, संगीना बैद्यदेखि टिभी पत्रकार चिरञ्जीवी शाहसम्मलाई बाँकी राखेन लेन अनुशानको कारवाहीले । महानगरीय ट्राफिक प्रहरीले यस्तो कठोर कारवाहीबाट सडक अनुशासन त बसायो नै, सँगै जरिवानाबापत राज्यकोषमा एक लाख २८ हजार एक सय ८१ रुपैयाँ राजस्व पनि दाखिला गरेको छ ।

पुरुषमात्र हैन, लेन अनुशासन उल्लंघन गर्नेमा महिलाको संख्या पनि उत्तिकै छ । ट्राफिक अभिलेखअनुसार, गत वर्ष ४६ हजार नौ सय ९२ जनामाथि कारवाही हुँदा सात हजार दुई सय ८२ को संख्या महिलाको थियो । लेन अनुशासनमात्र हैन, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने संख्या पुरुषकोजत्तिकै छ, महिलाको । एक वर्षमा २५ हजार पाँच सय १३ माथि मापसे कारवाही हुँदा महिलाको संख्या थियो, चार सय १९ । मापसे र लेन अनुशासनको कारवाही क्रममा प्रहरीले केही कठोरता अपनाउने गरेको छ । अन्य कारवाही निश्चित रकम जरिवाना तिराए पुग्छ । तर, यी दुई प्रकारका दोषीलाई निश्चित समय कक्षा लिने र आवश्यक शिक्षा दिएरमात्र मुक्ति दिइन्छ ।

टिप्पणीहरू