एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि २२ गतेको सीमा

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि २२ गतेको सीमा

तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा एमालेमा फेरी खटपट शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयनलाई लिएर अध्यक्ष ओली र तत्कालीन नेपाल समूहका नेताहरुबीच खटपट शुरु भएको हो ।

लामो समय नेपाल समूहमा रहेका तर, पार्टी विभाजनमा नलागेका नेताहरुलाई एमालेमै फर्काउन अध्यक्ष ओलीले १० बुँदे सहमति गर्नुभएको थियो । उक्त सहमति एमालेको स्थायी समिति र केन्द्रीय समितिले अनुमोदनसमेत गरिसकेको छ ।

तर, सहमति कार्यान्वयनको प्रारम्भिक चरणमै दुईपक्षबीच असमझदारी देखिन थालेको छ । सहमति कार्यान्वयनमा अध्यक्ष ओली प्रतिबद्ध नदेखिएको भन्दै ‘तेस्रो धार’ भनेर चिनिएको समूहले २२ गतेभित्र ‘बोल्ड डिसिजन’ गर्ने तयारी गरिरहेको एक जना नेताले दाबी गरेका छन् ।

त्यसो त, विगतमा पनि अध्यक्ष ओलीमाथि आफैंले गरेका सहमति कार्यान्वयन नगरेको आरोप लाग्दै आएको थियो । अहिलेको १० बुँदे सहमति कार्यान्वयनमा पनि ओली उदासीन बनेको आरोप लागेको छ ।

एमालेमा विवाद चर्किंदै जाँदा माधवकुमार नेपालसमेतको सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिको मूल ‘स्पिरिट’ एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने भनिएको थियो । तर, जेठ २ का सांगठनिक संरचना ब्युँताउन र ‘तेस्रो धार’ का नेताहरुलाई पूर्ववत जिम्मेवारी दिन ओली अनिच्छुक देखिएपछि लफडा शुरु भएको हो । जेठ २ मा फर्किएको भनिए पनि पुस ५ गते पछि ओली पक्षले गरेको सांगठनिक पुनर्गठन र नेताहरुको जिम्मेवारीलाई नै निरन्तरता दिन थालिएपछि विद्रोहसम्मको आवाज उठ्न थालेको बताइन्छ ।

उदाहरणका लागि एमाले जेठ २ मा फर्किंदा नेता योगेश भट्टराई स्वतः पार्टीको प्रवक्ता हुनुपर्ने हो, तर फागुन २३ पछि जिम्मेवारी दिइएका प्रदीप ज्ञवालीलाई नै प्रवक्तामा निरन्तरता गराइएको छ । त्यस्तै, प्रदेशका इञ्चार्ज को को हुन् भन्नेमा पनि लडाई शुरु भइसकेको छ ।

फागुन २३ पछि माओवादीबाट एमालेमा आएका लेखराज भट्टले आफू एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज कायम रहेको दाबी गरेका छन् । बैठकले जे निर्णय गरे पनि आफूलाई नै इञ्चार्जमा निरन्तरता दिन ओलीसमेत सहमत भएको भट्टले दाबी गरेका छन् । तर, जेठ २ अनुसार जिम्मेवारी तोकिँदा त्यहाँको इञ्चार्ज भीम रावल हुन् । प्रदेश १ मा पनि त्यस्तै देखिएको छ । ओली पक्षका धेरै नेताले भीम आचार्यलाई इञ्चार्ज अस्वीकार गर्ने बताइसकेका छन् ।

हिजो मात्रै एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) को एकलौटी भेला बोलाइएपछि ‘तेस्रो धार’ थप सशंकित बनेको छ । संगठनका इञ्चार्ज र अध्यक्षलाई खबरै नगरी एकाएक भेला बोलाइएपछि ‘तेस्रो धार’ का नेताहरु छुट्टै छलफलमा जुटेका छन् । पीपीएलएका इञ्चार्ज रघुजी पन्त हुन् भने अध्यक्ष रुद्र नेपाल हुन् । उनीहरु दुवै जना विगतमा माधव नेपाल पक्षमा खुलेर लागेका थिए ।

इञ्चार्ज पन्त र अध्यक्ष नेपालले हिजोको भेला रोक्न अघिल्लो दिन निर्देशन समेत दिएका थिए । तर, हिजोको भेला रोकिएन, बरु भेलामा पुगेका ओली निकट नेता सुवास नेम्वाङले पार्टी विभाजनको औचित्य नरहेको भन्दै माधव नेपाल र समाजवादीमा गएका नेताहरुको चर्को आलोचना गरेका थिए ।

पीपीएलएका अध्यक्ष नेपालले २२ गतेसम्मको समयसीमा तोकेरै ठूलो विद्रोहको संकेत गरेका छन् । पीपीएलएको भेला, १० बुँदे सहमति कार्यान्वयनको अवस्था र एमालेको आगामी राजनीतिबारे जनआस्थाका लागि साहस न्यौपानेले अध्यक्ष नेपालसँग गरेको कुराकानी :

१० बुँदे सहमतिले एमालेभित्रका सबै समस्याको हल गर्छ भनिएको थियो, तर समस्या समाधान होइन झन् बल्झिने देखिँदैछ । यसको कारण के हो ?

-हो, १० बुँदे सहमतिले पार्टीका सबै समस्या समाधान गर्छ भन्ने हाम्रो विश्वास अहिले पनि छ । पार्टीलाई फुटबाट बचाउनका लागि भनेर १० बुँदे सहमति गरिएको हो । तर, सहमति पालना गर्न सबै इमान्दार बन्नुपर्छ । सहमतिलाई पार्टीले पनि स्वीकार गरिसकेको छ । त्यसैका आधारमा अन्तर पार्टी निर्देशन (अपानी) जारी भइसकेको छ । अब १० बुँदे सहमतिले निर्देश गरेअनुरुप पार्टीका सबै संगठनिक संरचनालाई २०७५ जेठ २ मा फर्काउने र पूर्ववत जिम्मेवारी दिने कुरामा कसैले पनि अलमल गर्नु हुँदैन । यदि त्यस्तो भयो भने पार्टी एकता फेरी पनि धरापमा पर्नसक्छ ।

तपाईंले १० बुँदे कार्यान्वयनमा जोड दिनुभयो । यो त स्वतः कार्यान्वयनमा जानुपर्ने होइन र ?

-सैद्धान्तिक रुपले त कार्यान्वयन भइसक्यो । पार्टीको केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ । तर, त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ भनेको हो । हिजो को कुन समूहमा थियो भनेर जिम्मेवारी दिने कुरामा विभेद गर्नु हुँदैन ।

जेठ २ मा फर्किने कुरा गरिरहँदा अध्यक्ष ओली निकट भनिएका कतिपय नेताहरुले नै यो पुरानो एमाले होइन, नेकपाको निरन्तरताका रुपमा आएको नयाँ एमाले भनिरहेका छन् । सहमति कार्यान्वयनमा चुनौती त देखियो नि ?

-कसले के भन्यो त्यतातिर जान चाहन्नँ । जेठ २ मा फर्किने भनेर निर्णय गरिसकेपछि पार्टीका सबै संरचना र नेताहरुको जिम्मेवारी पनि जेठ २ मा नै फर्किने हो । त्यसकारण यसमा धेरै विवाद गरिरहनुपर्छ जस्तो लाग्दैन ।

विवाद त आइसक्यो, तपाईंलाई थाहै नदिई तपाईं अध्यक्ष भएको पीपीएलएको भेला बोलाइएको छ, अनि विवाद गर्न हुँदैन भनेर हुन्छ र ?

-पीपीएलएको हकमा अलिकति फरक ढंगले बुझ्नुपर्छ । यो साझा संस्था हो, हामीले यसलाई बढी व्यावसायिक र कम पोलिटिकल संस्था बनाउन खोजेका छौँ । तथापि इञ्चार्ज र अध्यक्षसँग कुनै छलफल नै नगरी राखिएको भेलाको कुनै वैधानिकता हुँदैन । हामीले वैधानिकता दिएकै छैनौं । अर्को कुरा भेलामा पार्टी अध्यक्ष पनि जानुभएको थिएन । त्यसैले त्यो भेलाभन्दा पनि केही साथीहरुको अनौपचारिक छलफल हुनसक्छ ।

तर, ओली पक्षका नेताहरुले भेला अधिकारिक हो भनिसकेका छन् ?

-उनीहरुले भनेर आधिकारिक हुने होइन । पार्टीको अध्यक्ष, संगठनको इञ्चार्ज र अध्यक्ष नै नगएको भेला कस्तो होला ? त्यस्तो अनाधिकृत भेलालाई हामी स्वीकार गर्दैनौँ, मान्यता पनि दिँदैनौं ।

त्यसो भए अब के गर्नुहुन्छ त ?
-हामीले माधव नेपाल पक्षमा हुँदा पनि पीपीएलएको समानान्तर कमिटी बनाएका थिएनौं । अहिले पनि हामी समानान्तर कमिटी बनाउने पक्षमा त छैनौँ । तर, पोलिटिकल्ली कुनै निर्णय भने हुनसक्छ ।

पोलिटिकल्ली निर्णय भन्नाले ?

-अहिले पनि नेताहरु १० बुँदे सहमति कार्यान्वयन गराउन र पार्टीलाई जेठ २ मा फर्काउन प्रयासरत नै हुनुहुन्छ । मलाई लाग्छ २२ गतेसम्म १० बुँदे कार्यान्वयनको स्थिति हेरेर एउटा निर्णय हुन्छ होला । २२ गतेसम्म पार्टी रोज्न पाउने कुरा छ । त्यसले एउटा स्थिति निर्माण गर्छ र ठोस निर्णय गर्ने ठाउँमा पुर्याउँछ भन्ने लाग्छ । र, त्यहीँबाट ‘पोलिटिकल डिस्कोर्स’ शुरु हुन्छ ।

त्यसोभए एमालेमा फेरी अर्को विद्रोह हुँदैछ ?

-म अहिले धेरै राजनीतिक कुरा गर्न चाहन्नँ । २२ गतेसम्म पर्खनुस्, केही निर्णय पक्कै हुन्छ । अन्तिम निर्णय गर्न बाँकी नै भएकाले अहिले नै म धेरै बोल्न चाहन्नँ ।

टिप्पणीहरू