माधवलाई यति भन्न किन महाभारत ?

माधवलाई यति भन्न किन महाभारत ?

बुद्धिजीवीहरुले भनेका छन्, ‘एकीकृत समाजवादी पार्टी गठन गरिसकेपछि अब माधव नेपालले बोली फेर्नुपर्छ ।’ ‘ओलीले हेपे, पेले अनि बस्न सकिनँ’ भन्ने कुरामात्रै गर्नुभयो भने त्यसले उहाँकै पंक्तिलाई पनि उत्साहित नपार्ने खतराको कारण अब नीतिगत रुपमा यो कदम किन चालियो भनेर जानुपर्ने उनीहरुको धारणा छ ।

स्पष्ट दृष्टिकोणका साथ पेश हुने हो भने उहाँको पार्टीतिर मान्छे थपिन्छन् । किनभने, दुःखको पहाड त केपी ओलीसँग बाँकी नै छ । उहाँले माधव नेपाललाई नचाहेजस्तो उहाँका विश्वासिला मानिने विष्णु पौडेल र शंकर पोखरेलले घनश्याम भुषाललाई चाहँदैनन् । गुल्मेली गोकर्ण र प्रदीप ज्ञवालीकै अन्तरद्वन्द्व छ । राजन भट्टराईले योगेश भट्टराई अगाडि बढेको देखिसहँदैनन् ।

त्यसमाथि विष्णु रिमालहरु बरु दुश्मन ठीक, योगेश बेठीक भनेर अझै टिप्पणी गर्दैछन् । महेश बस्नेत र गोकुल बाँस्कोटाको जस्तै ईश्वर पोखरेल र विष्णु पौडेलकै मारामार छ । एउटाले अर्कोलाई मान्ने स्थिति नै छैन । तर, उनीहरु एउटै धुरीमुनि छन् । त्यसमाथि ओली एक्लो हावी हुनका लागि विधान संशोधन गरेर ७० वर्षे प्रावधान हटाउने, अध्यक्ष निर्वाचित भएर आफूखुशी पदाधिकारी बनाउनेजस्ता योजनामा लागेपछि ईश्वर पोखरेलले सोमबार अध्यक्ष बन्न आफू लायक रहेको घोषणा गरिदिए ।

त्यही पीरले माधव नेपालबिनाको पार्टी एकता भन्ने केपीलाई खुशी पक्कै बनाएको छैन । एकजना वरिष्ठ पत्रकारको टिप्पणी छ, ‘त्यसैले त्यो भद्रगोलमा मान्छेहरु कहिलेसम्म टिक्छन् ? योग्यता, क्षमता, जुझारुपनाभन्दा ओलीको रुचिमा भोलि पदाधिकारी मनोनीत गरिने भएपछि आज करियर हेर्नेहरुको हालत के होला ?’

त्यसैले अब माधव नेपालहरुले मुखले रिस पोखेर पुग्दैन, केपीकालमा भएका गैरकम्युनिष्ट कार्यशैलीको एक–एक प्रमाण पस्कन सक्नुपर्छ । केपीको ठूलो नारा थियो, सुशासनको– ‘भ्रष्टाचार गर्दिनँ, गरेको पनि सहन्नँ’ । केपीले तस्करी रोकेको भन्दै ३३ किलो सुन काण्डको पटकपटक उच्चारण हुने गरेको छ । तर, ३३ किलोमध्ये एक तोला, एक लाल पनि सुन भेटिएन । उहाँले हावा सपनाहरु बाँड्नुभयो, पानीजहाज, रेल, पाइपमा ग्यासजस्ता । अनि, गोबर ग्यासको उद्घाटन गर्न विराटनगर पुग्नुभयो ।

सुशासन कति कायम भयो भन्नका लागि तीन–तीन महिनामा सचिव फेरिएको प्रकरण नै काफी छ । जीवनभर एमाले भनेर हिँडेका कर्मचारीलाई सहसचिव र सचिव भएपछि दुःख दिइयो । विनोद कुँवर, एकनारायण अर्याल, धनराज ज्ञवालीहरु केपीकालभरि खुम्चिएर बसे । विनोदलाई दुःख नदिँदासम्म विष्णु रिमाललाई निन्द्रा लागेन । केदार न्यौपाने, कृष्ण देवकोटाजस्तालाई भकुण्डो बनाइयो । अनि, काम देखाउने नाममा बन्दै नबनेको गोदावरीको सभाभवन उद्घाटन गरियो । मेलम्ची, तामाकोशीका कुरा त कति कति ! उहाँले कालापानीको नक्सा जारी गरेको नाममा राष्ट्रवादीको छवि कमाउन खोज्नुभयो ।

तर, न उहाँ राष्ट्रवादी भइरहन सक्नुभयो, बरु उल्टै भारतलाई चिढ्याएर पछि जासुसहरुसँग घाँटी जोड्ने तहमा पुग्नुभयो । शुरुमा उहाँ ‘नक्सा निकाल्दैमा कहाँ भूमि फिर्ता हुन्छ ?’ भन्नेमा हुनुहुन्थ्यो । पार्टीको सचिवालय बैठकमा नेताहरुले निर्णय गरेपछि बाध्य भएर नक्सा ल्याएको हो । त्यसपछि राम जन्मभूमिको कुरा ल्याएर त्यसलाई विषयान्तर गरिदिनुभयो ।

टिप्पणीहरू