सिंगल फादर फुक्काफाल, सिंगल मदरको बेहाल

सिंगल फादर फुक्काफाल, सिंगल मदरको बेहाल

भारतमा झण्डै १ करोड सिंगल मदर (एक्ली आमा) रहेको एउटा राष्ट्रसंघीय सर्वेक्षणले देखाएको छ । अविवाहित वा सिंगल गर्भवती महिलाले जन्माउने बच्चाको बुबाको नाम जान्ने र सुन्ने चाहना सबैमा हुन्छ । त्यस्तो चाहना विश्वका अधिकांश समाजको निम्ति अझै पनि मुखमा फिटकरीको स्वाद राखेझैँ हुने गरेको भारतीय सञ्चारकर्मी श्रीदुलिका झाको बुझाई छ ।

हालै प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको उच्च अदालतमा त्यस्तै प्रकृतिको मुद्दालाई लिएर चर्काचर्की बहस भएको छ । उक्त मुद्दामा अदालतबाट भएको आदेशबारे झाले लेखेकी छन्, ‘इजलासका न्यायाधीशहरुको आक्रोश सबैभन्दा धेरै अस्पतालहरूमाथि थियो । गर्भवतीहरुमाथि गरिने पनपच्छेलाई अदालतले गम्भीर अपराध भनेको छ ।’

अदालतले सिंगल मदरले जन्माउन सक्ने शिशुबारे प्रश्न गर्दै भनेको छ, ‘यदि एउटी गर्भवती महिला नौ महिनाको गर्भ बोक्दै तर हाँस्दै आइपुग्छिन् भने, अस्पतालले पहिले यसको बाबुको नाम के हो भन्ने नाममा उनलाई गोली हान्न सक्छ ? के अस्पतालले बच्चाको बुबाको आवरणमा अविवाहित तर कानुन र शरीर विज्ञानले समेत परिपक्व युवतीमाथि अनुसन्धान गर्न छुट पाएको छ ?’ अदालतले अस्पतालहरूका त्यस्ता जिकीरलाई वाहियात भन्दै कुनै पनि महिलाको व्यक्तिगत गोपनीयतामाथि दखल नपु¥याउनसमेत आदेश दिएको छ ।

मुद्दा जुनागढकी एउटी गर्भवती महिलाको थियो । उनले बच्चा जन्माउनुअघि स्वास्थ्य परीक्षणको लागि गएका बेला स्थानीय एक अस्पतालले हुनेवाला बच्चाको नाम के हो ? भनेर सोध्दा महिलाले भन्न अस्वीकार गरेकी थिइन् । अस्पतालले ‘पति नतोकिएको गर्भवती’ हेर्न नसकिने भन्दै पन्छाइदिएपछि उक्त मुद्दा अदालतसम्म पुगेको हो ।

‘गर्भवती महिलालाई स्वस्थ शिशु जन्माउनेतर्फ ध्यान दिनुभन्दा पतिको बारेमा केरकार गर्नु उनको चारित्रिक प्रमाणपत्र मागेसरह हो,’ झाले बताएकी छन् । अस्पतालले त्यसरी सोध्दा ‘कुनै एक जना पुरुष महिलाको छेउमा आएर म बच्चाको बुबा हुँ भनिदिएर पुग्छ ? त्यो भनेको कुनै पनि फिल्ममा पाहुना कलाकारको उपस्थिति जस्तै हो । त्यसपछि उसको रोल तत्काल सकिन्छ ।’

झाले लेखेकी छन्, ‘बुबा भनाउँदोको काम गर्भमा बीऊ रोपेर उसको नाम राख्नु मात्र हो । तर जन्मपछि बच्चा हुर्काउने सबैजसो दायित्व आमाको हुन्छ । कुनै बाबु बच्चाको नामाकरणबाट पछि हटेको अवस्थामा गर्भ बोकेकी आमा डराउनु स्वाभाविक हो । त्यसरी डराएकी आमाले अस्पतालमा बच्चा छाडेर हिँडिन् भने त्यो कुनैपनि सञ्चारमाध्यमको निम्ति मसालेदार समाचार हुने गरेको छ ।’

श्रीदुलिकाको अनुभव छ, ‘कतिपय सञ्चार माध्यमले निकै ठूलो अक्षरमा विभिन्न शीर्षकमा लेख्ने गरेका छन्– ममताको मृत्यु, क्रुर आमाद्वारा दूधे बालक सडकमा अलपत्र आदि । यी सबै घटनाले आमाको चरित्रमाथि प्रश्नचिन्ह उठाएको हुन्छ र यस्ता समाचारतिर मात्र मानिसहरू निकै ठूलो आँखा र ध्यान लगाउँछन् ।’

तर त्यसविपरित भारतीय समाजमा देखिन थालेको अर्को पक्षको बारेमा पनि झाले सटिक विश्लेषण गरेकी छन् । त्यस्तै अवस्थाका एक जना सिंगल फादर (एक्लो पिता) ले भने कुनै चारित्रिक उल्झन र आरोपको सामना गर्नुपर्दैन । उनी फुक्काफाल भएर जीवन जिउन सक्छन् ।

‘चाहे गरिब होस् वा धनी– दुवै परिवारमा रहेका सिंगल फादरले तुलनात्मक रुपमा सम्मानको जीवन भोगिरहेका हुन्छन् । कुनै न कुनै हजुरआमा वा अन्य आमाहरु ती सिंगल फादरको सहयोगको निम्ति हाजिर हुन्छन् । सिंगल फादर पनि नियमित कार्यालय जान्छन्,घर फर्कन्छन् । आवश्यकताअनुसार आराम पनि गर्दछन् । कहिलेकाँही सिंगल फादरको बच्चा कोठामा छिर्दा वा बरण्डामा खेल्दा आवश्यकताअनुसार यसो हेरचाह गरी टोपल्छन्,’ झाले विश्लेषण गरेकी छन् ।

त्यसैगरी गरिब परिवारमा पनि त्यस्ता बुबाले स्टीलको थालीमा सहानुभूतिसहितको तातो नास्ताको अवसर सँधै पाइरहेका हुन्छन् । तर अर्कोतर्फ सिंगल मदरसँग त्यति सहज अवस्था नदेखिने भएकाले एक्लो आमा र एक्लो बाबुको जीवनमा देखिएको सामाजिक अन्तरबारे सजिलैसँग बुझ्न सकिने उनको भनाइ छ ।

तर, उता चेन्नईको उच्च अदालतले सन् २०१८ को एक फैसलामा सिंगल प्यारेन्टिङ (एक्लो अभिभावकत्व) लाई सबैभन्दा खतरनाक प्रवृत्ति भनेर औंल्याएको छ । अदालतको फैसलामा उक्त प्रवृत्ति बढ्दै गएमा संसारलाई तहसनहस पार्ने चेतावनी दिइएको छ । फैसला गर्ने न्यायाधीशले भनेका छन्, ‘एक्लो आमाले हुर्काएका बच्चाहरूको व्यवहार परिवर्तनशील हुन्छ,जुन सभ्य समाजको लागि हानिकारक हुनसक्छ ।’

पछिल्लो समय भारतलगायतका देशमा सिंगल मदर (एक्ली आमा) हरूको संख्या बढ्दो छ । १ करोडभन्दा बढी त्यस्ता भारतीय आमा एक्लैले आफ्नो घर र बच्चालाई एकैसाथ सम्हालिरहेका छन् । आमा चाहे एक्लो हुन् वा बाबुसहितको, उसको लागि आफ्ना बालबच्चा संसारमा सबैभन्दा अमूल्य चीज हुने झाले बताएकी छन् ।

टिप्पणीहरू