पुरुषलाई अभिनेत्री केकीको प्रतिकात्मक चुनौती

पुरुषलाई अभिनेत्री केकीको प्रतिकात्मक चुनौती

नेपाली चलचित्रकी नायिका केकी अधिकारीले महिला हिंसा र बलात्कारबिरुद्ध युट्युब भिडियो सार्वजनिक गरेकी छन् । दैनिकजसो महिलाहरु यौनजन्य हिंसामा परेको घटना सार्वजनिक भइरहेका बेला केकीले त्यसविरुद्ध सचेतनामूलक भिडियो सार्वजनिक गरेकी हुन् ।

’ए पुरुष’ नामक भिडियो केकीले आफ्नो निजी युट्युब अकाउन्टमार्फत सार्वजनिक गरेकी हुन् । आफैँले लेखेको मार्मिक कवितालाई उनले भिडियोमा आफ्नै आवाजमा उत्कृष्ट ढंगले प्रस्तुत गरेकी छन् । नारीको कोख हरेक पुरुषको पहिलो घर हुने भन्दै उनले आफ्नो घरको सुरक्षा गर्नु उनीहरुको जिम्मेवारी र कर्तव्य भएको समेत उल्लेख गरेकी छन् ।

‘टिनको,खरको,क्रंकिटको छानो भएको घरभन्दा अघि मेरो कोख तिम्रो घर थियो । अहंकारले फुल्ने छातिमा पहिलो श्वास त्यहीँ भरेको हुँ । क्रुर तिम्रा पंजाहरुका भाग्यरेखा त्यहीँ कोरेको हुँ । तिमीले हेर्ने आँखा, तिमी उभिने मेरुदण्ड र तिम्रा पुरुषार्थका प्रतिक अंग त्यहीँभित्र हुर्किएका हुन् । ए पुरुष,म नारी हुँ । नबिर्स मेरो कोख तिम्रो पहिलो घर हो’, उनले भनेकी छन् ।

‘खूब वीरताको कुरा गर्छौ । खोई कुन युद्ध लडेका हौ ? के तिमीले जितेका हौ ? कुन सिमानाको रक्षा गरेका हौ ? को दुश्मनलाई हराएका हौ ? अँध्यारोमा,एकान्तमा म आफैँ तिमीबाट असुरक्षित छु । तिम्रो पहिलो घर असुरक्षित छ । खुब पौरखको कुरा गर्छौ । म सोच्दै छु, तिमी साँच्चै वीर हौ कि कायर हौ ?’ उनले पुरुषलाई गतिलोसँग प्रश्न गरेकी छन् ।

महिलालाई आमाको बिम्ब बनाएर प्रस्तुत गरिएको कवितामा आमामाथि कुदृष्टि लगाउनेको आँखा फोर्न र बर्चस्व जमाउनेहरुको मेरुदण्ड भाँचिदिन प्रत्येक पुरुषलाई चुनौती दिइएको छ । ’तिमीसँग ताकत छ भने ममाथि कुदृष्टि लाउने आँखाहर फोडेर देखाऊ । ममाथि बर्चस्व जमाउने मेरुदण्डहरु भाँचेर देखाऊ । ममाथि आक्रमण गर्ने पंजा रोकेर देखाऊ । छ ताकत ? नत्र झुकाउ तिम्रो शीर,नफुलाऊ तिम्रो छाती, किनकि म नै तिम्रो जननी हुँ’, उनले चुनौती दिएकी छन् ।

अन्त्यमा ‘ए पुरुष शर्म गर किनकि म तिम्रो पुरुषार्थलाई गिज्याइरहेकी छु । ए पुरुष, म नारी हुँ । नबिर्स मेरो कोख तिम्रो पहिलो घर हो’ भन्दै केकीले कविता टुङ्गाएकी छन् ।

महिला हिंसाविरुद्ध सचेतना जगाउन र समाजलाई घचघच्याउन केकीले सन्देशमूलक र मार्मिक भिडियो सार्वजनिक गरेकी हुन् ।

टिप्पणीहरू