​म्याडमलाई मन्त्री बनाउने भन्दै पैसो मागेपछि..

सरकार त फेरिनै नहुने, फलानो र चिलानो मन्त्री हुने भन्दै पैसा उठाउने गिरोह सल्बलाउने । ‘मन्त्री बन्नलाई माथि बुझाउनुपर्ने भयो’ भन्दै पैसा माग्ने र उक्त रकम मन्त्री भइसकेपछि अनुदान वा कुनै शीर्षकबाट मिलाएर दोब्बर फिर्ता गर्नेसम्मको शर्त राखिने ।

अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा यस्तै धन्दाका एकजना कमरेड जाकिएका छन्, जसलाई छुटाउन उपल्लोतहको शक्तिकेन्द्र नै सक्रिय छ । जनकपुरकी माओवादी सांसद प्रतीक्षा तिवारी मुखिया कृषि मन्त्री बन्ने भन्दै ताप्लेजुङका दीपेन्द्रकुमार शेर्पासँग पैसा उठाएका राजकुमार तामाङ हुन्, प्रहरी हिरासतमा जाकिने । माओवादी लडाकुका ब्रिगेड कमाण्डर र आजकल वाइसिएलमा काम गर्ने काभ्रेका उनले एयरपोर्टमा ताप्लेजुङ पाथिभरा नामक गेष्ट हाउस खोलेका दीपेन्द्रसँग कृषि मन्त्रालयबाट ५० लाख अनुदान दिलाइदिने भन्दै २० लाख रुपैयाँ ठगेका हुन् । हरिबोल गजुरेल कृषि मन्त्री हुँदा राधिका तामाङ राज्यमन्त्री थिइन् । राधिकासँग एकचोटि भेट पनि गराइदिए । भित्री मामिला नबुझेकी राधिकाले वाइसिएलका साथीले भेट्न ल्याएको भन्दै दीपेन्द्रसँग राम्रो मिजासमा बोलिन् । तर, उनको कार्यकालभरि न दिएको पैसा फिर्ता भयो, न अनुदान नै पाए । त्यसपछि अहिलेको सरकारमा जनकपुरकी प्रतीक्षा कृषिमन्त्री हुनेबित्तिकै काम गरिदिने बचन दिइयो । तर, दीपेन्द्रले प्रतीक्षालाई चिनेका छैनन्, देखेका र भेटेका पनि छैनन् ।

राजकुमारलाई प्रहरी हिरासतमा लैजाने अस्त्रचाहिँ अर्कै थियो । जागिरमा भौँतारिएका एक युवकलाई भरतपुर क्यान्सर अस्पतालको सेक्युरिटी गार्डमा सरकारी जागिर लगाइदिने भन्दै तीन लाख लिएका थिए । पैसा लिएर एकवर्षदेखि फरार थिए । न जागिर मिल्यो, न पैसा नै । त्यसपछि प्रहरीलाई उजुर गरेका हुन् । राजकुमारलाई प्रहरीले पक्राउ गरेपछि उनीबाट पीडित भएका झण्डै दर्जन व्यक्ति टेकु पुगेका छन् । त्यसक्रममा खुलासा भयो, सरकार फेरिनासाथ फलानो मान्छे मन्त्री हुन्छ, यस्तो गरिदिन्छु भन्दै पैसा उठाउनु उनको धन्दै रहेछ । यो कुरा चाल पाएपछि असार ३ गते मध्यरात भीषण आगलागी भई करोडौँको धनमाल क्षति भएको भक्तपुरस्थित यति कार्पेट उद्योगका कर्मचारीहरु पनि टेकुतिर ताँती लाग्न थालेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुनासाथ जनार्दन शर्मा गृहमन्त्री बने ।

 राजकुमारले गरेको ठगीचाहिँ गृहकै नाममा, तर मन्त्रीलाई नमुछी । उनले प्रतीक्षा तिवारीलाई प्रचण्डले गृहराज्यमन्त्री बनाउन लागेको भन्दै राज्यमन्त्री बन्नासाथ क्षतिपूर्तिबापत ५० लाख रुपैयाँ उपलब्ध गराउने नाममा रकम उठाएका हुन् । दीपेन्द्रसँगचाहिँ रकम दिएको प्रमाण नै छ । उनले दरबारमार्गस्थित होटल रोयल सिंगीमा रकम दिएका थिए । त्यसदिन रकम दिँदै गर्दाको सिसिटिभी फुटेज पनि जाहेरीमा संलग्न गराएका छन् । 

यसबारे सांसद प्रतीक्षालाई सोध्दा उनले राजकुमारलाई चिनेको स्वीकारिन् । तर, रकम उठाउन पठाएको कुरालाई निराधार भनिन् । ‘अरुको नाम नलिएर तपाईंकै नाम किन लिए त ?’ भनी सोधिएको प्रश्नमा भनिन्, ‘कार्यकर्ताले नाम लिने नेताकै हो ।’ उनले आफूलाई यस्तो प्रश्न सोधिनुका पछाडि केही दलाल व्यापारीको हात रहेको बताइन् । ‘केही दलाल राजकुमारलाई देखाएर मेरो बद्नाम गर्न खोज्दैछन्, तपाईंलाई पनि तिनीहरुले नै भनेको हुनुपर्छ’ उनले भनिन्, ‘पैसा उठाएर मन्त्री बनिँदैन, मन्त्री त पार्टीले बनाउने हो ।’ ती दलाल व्यापारी भनिएका व्यक्ति को हुन् भन्नेबारे केही पनि बताइनन् । प्रहरी हिरासतमा राखिएका राजकुमारको रिहाईका लागि पूर्वमन्त्री सूर्यमान दोङले तीव्र दबाब दिइरहेको प्रहरीस्रोत बताउँछ ।

टिप्पणीहरू