पाकिस्तान पनि के कम !

पाकिस्तान पनि के कम !

जापानको राजधानी टोकियोमा जारी पाराओलम्पिक्सकमा पाकिस्तानले पनि स्वर्ण पदक जितेको छ । फरक क्षमता भएकाहरुको ओलम्पिक्समा स्वर्ण पदक जितेपछि पाकिस्तानले पनि खुशी मनाएको छ ।

टोकियो २०२० पाराओलम्पिक्समा पुरुषतर्फको डिस्क्सथ्रो प्रतियोगितामा हैदर अलीले स्वर्ण पदक जितेका हुन् । पाकिस्तानले पुरुष डिस्कथ्रो प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक जितेको हो । त्यसैग्री पाराओलम्पिक्समा पाकिस्तानको यो नै पहिलो स्वर्ण पदक हो ।

उक्त विधामा युक्रेनका झाब्न्याकले ५२ दशमलब ४३ मिटर थ्रोका साथ रजत पदक जितेका छन् भने ब्राजिलका टेक्सेरा डी सुजाले ५१ दशमलब ८६ मीटर थ्रोकासाथ कास्य पदक जितेका छन् ।

जन्मँदै एकातर्फको अङ्ग असन्तुलन भएका कारण उनको दाहिने गोडा दुई इञ्च छोटो छ । तर पनि हैदरले यसअघि बेइजिङ्ग पाराओलम्पिक्समा रजत र रियोमा कास्य पदक गरि दुई पदक जितेका थिए ।
हैदरले पाकिस्तानको लागि पहिलो स्वर्ण पदक जितेकामा इस्लामाबादस्थित अमेरिकी दूतावासले समेत बधाई दिएको छ ।

टोकियो पाराओलम्पिक्सको पछिल्लो विवरणअनुसार चीनले ८७ स्वर्ण पदक जितेर पहिलो स्थानलाई कायम राखेको छ । त्यसैगरी बेलायत ४० र संयुक्त राज्य अमेरिका ३५ स्वर्ण जितेर दोस्रो र तेस्रो स्थानमा देखिएका छन् ।

भारतले हालसम्म ३ स्वर्ण, ७ रजत र ५ कास्य पदक जितेको छ । नेपालको तर्फबाट एक जनाले भाग लिएका छन् । ताइक्वान्दोमा पलेशा गोवर्धनले भाग लिए पनि पदक जित्न सकिनन् ।

टिप्पणीहरू