कांग्रेस महाधिवेशन : धादिङमा कार्यकर्ता तान्ने दौडधुप

कांग्रेस महाधिवेशन : धादिङमा कार्यकर्ता तान्ने दौडधुप

-शंकर श्रेष्ठ

धादिङ– वडा अधिवेशनको दिन नजिकिएसँगै धादिङमा नेपाली कांग्रेस कार्यकर्ताको राजनीतिक सरगर्मी बढेको छ । अधिवेशन कार्यतालिक सार्वजनिक भएदेखि नै जिल्ला र स्थानीय नेता कार्यकर्ता छुट्टाछुट्टै छलफल र भेटघाटमा व्यस्त छन् ।

नेपाली कांग्रेस धादिङको १४औं अधिवेशन अन्तर्गत धादिङमा २१ गते वडा अधिवेशन हुँदैछ । भौगोलिक विकटताका कारण निर्वाचन प्रतिनिधिहरु समयमै मतदान केन्द्र पुग्न कठिन भएकोले केन्द्रले तोकेको भन्दा ३ दिन पछि सारेको हो ।

केन्द्रमा देखिएको गुटको प्रभाव जिल्लामा पनि प्रष्ट देखिएको छ । कुन वडामा कस्का उम्मेदवार अघि बढाउने भन्ने विषयमा नेता कार्यकर्ताको दौडधुप भइरहेको छ । केही नेताहरु भने जिल्लाका सबै वडामा सहमतिको प्रयासमा जुटिरहेका छन् ।

धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् । आकांक्षीहरु धेरै भएकोले वडा तहमा कस्का उम्मेदवार बढी आउलान् भनेर आकलन गरिहाल्न सक्ने अवस्था छैन । स्थानीय अगुवा कार्यकर्ता अवसरको खोजीमा नेताको बचन कुरेर बसेकाले नतिजा यस्तै आउछ भनिहाल्न नसकिने नेताहरु नै बताउँछन् ।

छिटफुट बाहेक सबै वडामा सहमतिको प्रयास भइरहेको नेताहरुले प्रतिक्रिया दिँदै आएका छन् । तर, जिल्लाको नेतृत्वमा भने रस्साकस्सी नै हुने देखिएको छ । नेपाली कांग्रेस धादिङका जिल्ला कार्यसमिति सदस्य नवराज तिमल्सिना भन्छन्,‘वडामा भन्दा बढी गुटको प्रभाव जिल्लाको नेतृत्वमा देखिएको छ ।’

नेताहरुका अनुसार विकटमा पर्ने रुविभ्याली र खनियाबास गाउँपालिकाका अधिकांश वडामा सर्वसम्मत हुने अवस्थामा छन् । रामनाथ अधिकारीले विगतदेखि नै पकड जमाउँदै आएको नीलकण्ठ नगरपालिका वडा नं. ३ मा यो पटक भीम प्रसाद ढुंगानाको प्रवेश दरिलो देखिएको छ । ज्वालामुखी गाउँपालिकाको वडा नं. ४ मा दुबै पक्षले आफ्नो दावी छोडेका छैनन् । सतहमा २ पक्ष मात्रै देखिएपनि यहाँ तेश्रो पक्षको सहयोग आवश्यक पर्ने देखिन्छ ।

नेपाली कांग्रेस धादिङको भाद्र २१ गते हुने वडा अधिवेशनबाट २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुनेछन् भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् । जिल्लामा १०४ वडा रहेका छन् । सबै वडामा एकैदिन निर्वाचन हुनेगरी तयारी भएको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद अधिकारीले बताए ।

जिल्लामा को कता ?

जिल्लाको नेतृत्वका लागि भने पुरानै अनुहारहरु सभापतिको आकांक्षीका रुपमा देखिएका छन् । हालका जिल्ला सभापति रमेश धमला दुई कार्यकाल जिल्ला सभापति भैसकेका रामनाथ अधिकारीलाई सभापतिको उम्मेदवार बनाउने दौडमा देखिन्छन् भने पूर्वमन्त्री दिलमान पाख्रिन अघिल्लो अधिवेशनका प्रत्यासी भीम प्रसाद ढुंगानालाई सभापति बनाउने कसरतमा लागेका छन् ।

ढुंगानाको पक्षमा पूर्व मन्त्री पाख्रिनसहित प्रदेश सांसद डा.राजाराम कार्की, जिल्ला सचिव हरिराम बुर्लाकोटी, महासमिति सदस्य तिलक रुवाली, पूर्व जिल्ला उपसभापति रामकृष्ण अधिकारी, नेता शिवराज अधिकारीलगायत छन् ।

अधिकारीको पक्षमा जिल्ला अध्यक्ष धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, हरि अधिकारी, फडिकान्त छत्कुली, हालका जिल्ला उपसभापति भक्त लामा, जिल्ला सचिव विनोद तिमल्सिना खुलेरै लागेका छन् । नेता कृष्ण रिजाल र प्रभातकिरण सुवेदी पनि अधिकारीकै पक्षमा छन् ।

तर, दुबै पक्षका नेताहरुले आफ्ना उम्मेदवारको नाम भने सार्वजनिक गरिसेको छैन । ढुंगाना र अधिकारी दुबै ब्याक भएको खण्डमा पौडेल पक्षबाट हालका जिल्ला सभापति धमला, जिल्ला उपसभापति लामा र महासमिति सदस्य तिमल्सिना जिल्ला सभापतिको जिल्ला सभापतिको आकांक्षी भएको बुझिएको छ । देउवा पक्षका ढुंगाना ब्याक हुँदा पूर्वमन्त्री पाख्रिन आउने सम्भावना छ ।

पौडेल प्यानलबाट आकांक्षी देखिएका मध्य जस्ले दक्षिण धादिङका पुराना नेता हरि अधिकारीको समर्थन पाउँछ उ नै जिल्ला सभापतिको उम्मेदवार बन्ने सम्भावना छ । १३ औं जिल्ला अधिवेशनमा रमेश धमला र भिम प्रसाद ढुंगाना बीच प्रतिपर्धा हुँदा झिनो मतले धमला विजय भएका थिए ।

पछिको राजनीतिक स्थायित्व जोगाउने पक्षमा युवा सर्कल लागेका छन् । तरुण दल र नेवि संघमा काम गरेर आएका युवा पुस्ता पनि पार्टीको जिम्मेवारी लिने कसरतमा छन् । वडा तहसम्म गुटको राजनीति पु¥याउन हुन्न, स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ भन्ने लाइनमा आफुहरु रहेको युवा नेता दिपक कोइराला बताउँछन् ।

पछिल्लो समय जिल्लामा राजनीतिक चहलपहल देखाउँदै आएका अर्काे युवा नेता रमेश कोइराला भन्छन्, ‘वडामा वर्चश्व छ भन्दैमा पेलेर जानु उपयुक्त हुँदैन, सबैको हित हुनेगरी चित्तबुझ्दो निर्णय गराउनेतर्फ हामी युवा पुस्ता लागेका छौं ।’

धादिङमा हाल १५ हजार ७ सय ८८ जना क्रियाशिल सदस्य छन् । अघिल्लो अधिवेशनको भन्दा यो संख्या झण्डै दोब्बरले बढी हो । जिल्लाबाट ५० जना संघीय महाधिवेशन प्रतिनीधिहरु छनौट हुनेछन् । प्रदेश अधिवेशनका लागि धादिङबाट ६८ जना प्रदेश अधिवेशन प्रतिनिधि जानेछन् । संघीय महाधिवेशन प्रतिनिधि स्वतः प्रदेश महाधिवेशन प्रतिनिधि हुने भएकाले प्रदेश महाधिवेशन प्रतिनिधिको संख्या १ सय १८ पुग्नेछ । यो अधिवेशनबाट ४ वटा प्रदेश कार्यसमिति, २ वटा संघीय क्षेत्र कार्यसमिति र एउटा जिल्ला कार्यसमिति चयन गर्नेछ ।

टिप्पणीहरू