​कोठा खोजीखोजी, गाडी रोजीरोजी

नवनिर्वाचितहरूले साना कुरामा ¥याल काढेको देख्दा देख्नेसुन्नेले नै लाज मान्न थालिसकेका छन् । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आफूलाई तल्लो तलामा कार्यकक्ष व्यवस्था गरेर कार्यकारी अधिकृतले माथिल्लो तला रोजेकोमा असन्तुष्टि जनाउँदै माथि सरेका छन् । निर्वाचित भएलगत्तै टाटासुमो गाडी र कारमध्ये कार छानेका मेयर महर्जनले अहिले फेरि आफू टाटासुमो चढेर कार्यकारी अधिकृत टेकराज पन्थीलाई सानो कार दिएका छन् । 

यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफ्नोभन्दा महँगो गाडी कार्यकारी अधिकृत हरि दाहालले चढिरहेको कुरा घुमाउरो पारामा खोल्ने गरेका छन् । महालक्ष्मी नगरपालिकाका कार्यकारी अधिकृत भने आफ्नो निजी स्कुटरमा कार्यालय आउने गरेका छन् । 

ललितपुरस्थित ३ गाउँपालिकाका प्रमुखले मन्त्रालयले गाडीका लागि इन्धन वा भाडाबापतको कुनै सुविधासम्बन्धी निर्णय नगर्न अनुरोध गर्दागर्दै इन्धनबाहेक मासिक १ लाख ८० हजारदेखि २ लाखसम्म तिर्ने गरी गाडी भाडामा लिएका छन् । गाउँपालिकाले वार्षिक २४ लाख रुपैयाँ तिर्न आन्तरिक स्रोतको व्यवस्थापन कसरी गर्ने भनेर स्थानीयहरूले विरोध जनाएका छन् । २४ लाख रुपैयाँ भाडामा खर्च गरिरहँदा जिल्लाको सबै क्षेत्रमा राम्रोसँग चल्ने टाटासुमो नै २८ देखि ३० लाख रुपैयाँमा किन्न सकिन्छ भन्दै निर्वाचितहरूको कुरा काट्न थालिएको छ । 

टिप्पणीहरू