घरीघरी भैरा’कै छ मनपरी

विमानस्थलबाट पटक–पटक पास गरिएको चर्चित ३३ किलो सुनकाण्डसम्बन्धी मुद्दामा काकताली परेको हो वा नियोजित संयोग हो लगातार उनै दुई न्यायाधीशको इजलासमा मुद्दाको पेशी चढ्ने गरेको छ । उच्च अदालत पाटनमा हाल विचाराधीन मुद्दाको यही असार महिनामा १ गते ८ र १५ गते पेशी चढ्यो । अनि हरेक पटक बेञ्चमा पारिए उनै श्रीमान्हरू । पाटन अदालत स्रोत भन्छ, ‘न्यायाधीश पन्छिनाले धन्न अहिलेसम्म आदेशचाहिँ आइसकेको छैन । नत्र यस्तो संयोगले के–के नतिजा दिन्थ्यो अनुमान लगाउनै गाह्रो ।’

मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ तैनाथ वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीसमेत ३३ जनाविरुद्ध मुद्दा थियो । जसमध्ये खत्रीसहित १२ जनालाई अभियोगपत्र साथ काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा गोपालबहादुर शाहीसमेतका ७ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने खत्रीसहित ५ जना धरौटी तारेखमा छाडिएका छन् । यो मुद्दा पेश हुँदाका बखत २१ जना प्रतिवादी फरार रहेकोमा जिल्ला अदालतमा हाजिर हुने र धरौटी÷तारेखमा छुट्नेक्रम जारी छ । यो मुद्दामा सुनका बिस्कुट थान २८२ अर्थात् ३२८९२.४८ ग्राम, गरगहना ६८४.९२ ग्राम गरी जम्मा ३३ किलो ५७७.४ ग्राम र सोको मूल्य १६ करोड ८२ लाख ८८ हजार बराबरको बिगो र ५ वर्षसम्म कैदको मागदावी गरिएको थियो । गएको फागुन २२ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा १२ जना प्रतिवादीलाई थुनछेक आदेश चैत ४ गते दिइयो । ७ जना थुनामा गए जसमा सुन कारोबारी गोपालबहादुर शाही, तस्करीको व्यवस्था मिलाउने दिनबन्धु थापा, कारोबार मिलाउने सन्तोष काफ्ले, रामहरि कार्की, एक्सरेका कर्मचारी राजकुमार ढकाल, भन्सार कर्मचारी श्यामकृष्ण श्रेष्ठ (च्वामु) र श्रीनारायण यादव रहेका छन् । दुई लाख धरौटीमा एसएसपी श्यामबहादुर खत्री छुटेका छन् भने सुन किन्नेमा राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र सपन श्रेष्ठ छन् ।

यसरी गम्भीर अपराधका आरोपीलाई धरौटीमा छोड्नु हुँदैन भनी उच्च अदालत पाटनमा निवेदन परेकोमा प्रतिवादीले १० वटा निवेदन पेश गरेपछि पटक पटक पेशी सार्दै आएका थिए । तेस्रो बहस १५ गते पूरा हुन नसकेकाले आदेश आएको छैन । तर करिअरवाला न्यायाधीशलाई नै बदनाम गर्ने गरी कर्मचारीले पटक पटक उनैकोमा पेशी तोकिदिँदा बादी पक्षबाट निवेदन दिनेहरू भने निराश बन्दै गएका छन् । त्यसमाथि जिल्ला अदालत काठमाडौंमा फरार अभियुक्तहरू हाजिर हुने र धरौटीमा छुट्ने क्रम जारी छ । जेठ २२ गतेदेखि ३० गतेसम्म राजेश बोगटी, राजेन्द्रकुमार शाक्य र गीता श्रेष्ठ यसरी जनही डेढलाख धरौटीमा छुटेका छन् भने सुन किन्ने व्यापारी मल्लिका बज्राचार्य शाक्य साधारण तारेखमा छिन् । 

टिप्पणीहरू