शिवमको ‘पासो’ मा ट्रक डुब्दा २ चालक बेपत्ता

शिवमको ‘पासो’ मा ट्रक डुब्दा २ चालक बेपत्ता

हेटौंडा उपमहानगरपालिका १६ स्थित शिवम सिमेन्ट लिमिटेडले बर्षौँदेखि थाप्दै आएको ‘पासो’ मा परेर दुई जना चालक बेपत्ता भएका छन् ।

स्थानीय कर्रा खोलाले ट्रकसहित दुई जनालाई बगाएको छ । उक्त स्थानमा बर्सेनी ट्रक तथा अन्य सवारी साधन बगाउँदा मानवीय क्षति हुँदै आइरहेको छ ।

शिवम सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा अव्यवस्थित तवरले शिवमले बनाएको कल्भर्टमा आएको भेलले बगाएको हो । ट्रकसँगै दुई जनालाई बगाएको स्थानीय नवराज न्यौपानेले बताएका छन् ।

ट्रकसँगै बगेकाहरुमा सोही ट्रकका चालक हेटौंडा ६,चौघडामा भाडामा बस्ने ४० वर्षीय बद्री सार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४१ वर्षीय गणेश थापा मगर रहेको बताइएको छ । खोलामा एक्कासी आएको भेलले उक्त ट्रकलाई बगाउँदा हराएका दुई जनाको खोजी तीब्र पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताउनुभएको छ ।

यसअघि पनि सोही ठाउँबाट एउटा भारतीय ट्रकलाई कर्रामा आएको भेलले बगाएको थियो । बिहीबार पनि उक्त स्थानमा एक जना नागरिक बगेका थिए । शिवम सिमेन्टको चरम लापरबाहीका कारण सो क्षेत्रमा पटक पटक दुर्घटना हुँदासमेत सरोकारवाला निकाय मौन देखिएको छ ।

शिवम सिमेन्टले मकवानपुरगढी ३ र हेटौंडा उपमहानगरपालिका १७ जोड्ने स्थानमा समेत स्ल्याब ढलानको नाममा ‘पासो’ थापेकाले नागरिकले सास्ती भोग्नुपरेको छ । तत्काल उक्त असुरक्षित स्थानको व्यवस्थापन नगरे यातायात चल्न नदिने सो भेगका स्थानीयले बताएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भने घटनाक्रमको संवेदनशीलतालाई ध्यानमा राखेर आइतबार शिवमको प्रतिनिधि बोलाई आवश्यक छलफल गर्ने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘गलत कार्य गर्नेलाई सजाय हुन्छ ।’

टिप्पणीहरू