मकवानपुरमा विप्लवका दुई रात

मकवानपुरमा विप्लवका दुई रात

पार्टीमाथिको प्रतिवन्ध फुकुवा भएसँगै राजनीतिक भेटघाट र संगठन विस्तारमा सक्रिय रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मकवानपुरमा दुई रात बिताउनु भएको छ । विकट गाउँमा बिताउनुभएका विप्लव त्यहाँबाट भने सोझै काठमाडौँतर्फ लाग्नुभएको बताइएको छ ।

पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्न विप्लव भदौ १५ गते मकवानपुरको मनहरी गाउँपालिका-३ पुग्नु भएको हो । दुई रात जनताकै घरमा सामान्य जीवनशैलीमा बिताएर उहाँ भदौ १७ गते काठमाडौँ फर्कनु भएको विप्लवनिकट स्रोतले बताएको छ ।

स्रोतका अनुसार महिला संघको बैठकका लागि देशभरबाट झण्डै एक सय पाहुना सहभागी भएका थिए । उनीहरु सम्पूर्णलाई स्थानीय जनताको घरमा आवासको व्यवस्था मिलाएर जनताकै घरमा बैठक चलाइएको थियो । क्रान्तिकारीको केन्द्रीय कमिटी जम्मा ३७ जनाको रहेको बताइन्छ ।

विप्लवले बैठकका अतिरिक्त कार्यकर्ता भेटघाटलाई निरन्तरता दिनु भएको थियो । भेटघाटका क्रममा उहाँले दुई वटा कुरालाई आफ्नो बटमलाइन बनाउनुभएको बताइन्छ । त्यहाँ सहभागी एक कार्यकर्ताका अनुसार ओली सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिको अक्षरश: कार्यान्वयन र वैज्ञानिक समाजवादको एजेण्डालाई जनतामाझ लैजानका लागि जनमत संग्रह नै अहिलेको बटमलाइन भएको विप्लवले बताउनु भएको थियो ।

‘कुनै बिशिष्ट व्यक्तिहरुसँग होइन, सामान्य जनताहरुसँग र कार्यकर्ताहरुको साक्षात्कार उहाँले गर्नुभयो’, ती कार्यकर्ताले भने, ‘जनतासँगै खाने,जनतासँगै सुत्ने र रहने कुरालाई उहाँले मकवानपुरमा पूरापूर उपयोग गर्नुभयो ।’

महासचिव विप्लव मकवानपुरमा आएको र राष्ट्रियस्तरको कार्यक्रम भएको कुरा मूलधारका मिडियामा भने आएको छैन । गुपचुप नै राखिएको छ । यद्यपि, प्रहरीसँगको समन्वयमै गाउँमा कार्यक्रम भएको बताइएको छ ।

सरकारद्वारा प्रतिबन्ध लगाइएपछि भूमिगत राजनीतिक जीवन अघि बढाइरहनु भएका विप्लव तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरी खुला राजनीतिमा आउनु भएको हो । खुला राजनीतिमा आएपछि सबै राजनीतिक दलका प्रमुखहरुसँग भेटघाट गरी सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि इमान्दारिता देखाउन आग्रह गर्दै आउनुभएको छ।

टिप्पणीहरू