​देउवालाई मात्रै नदिउँ न दोष ! « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

​देउवालाई मात्रै नदिउँ न दोष !

प्रकाशित मिति :  २५ असार २०७४, आईतवार १६:४६


  • रमण पनेरु

ली क्वान युको प्रभाव यति प¥यो कि नेपालबाटै उनीबारे टम प्लेटले लेखेको ‘ली क्वान युसँगको वार्तालाप’ पुस्तक मगाएर पढ्न भ्याएँ । उनको उदार आर्थिक नीतिमार्फत् सिंगापुरको प्रगतिको धेरैले आरिस गर्छन् । पश्चिमा जगतले उनलाई नरम तानाशाह भनेर व्याख्या गरेको छ । अहिले नेपालमा पनि ली क्वान यु को खोजी भइरहेको छ । समस्या कहाँनेर छ भने नेपाले सिंगापुर होइन । 

लीलाई टम प्लेटले भारतमा पनि सिंगापुर जस्तै रूपान्तरण सम्भव छ वा छैन भनेर सोधेका थिए । उनले विविधतालाई तेस्र्याउँदै भारतको हकमा सिंगापुरको जस्तो परिवर्तन गर्न आफूले सक्दैनथेँ भनेर प्रष्टै भनेका छन् । ब्रिक्स देशमध्येबाट भारत र चाइनाको बारम्बार तुलना हुने गर्छ । त्यसमा भारतलाई चाइनाले सजिलै पछार्नसक्ने अनुमान छ । कारण के भने भारत विभिन्न जातजाति, भाषा, र संस्कृतिमा विभक्त छ । तर, चाइनामा एक हौँ भन्ने भावना छ । भारतमा सबैको चित्त बुझाउन जति गाह्रो छ चाइनामा त्यस्तो छैन । नेपालमा पनि भारतको जस्तै साँस्कृतिक विविधता छ र सिंगापुरको जस्तो सामुद्रिक पहुँच छैन । सामुद्रिक पहुँच नहुनु  अन्तर्राष्ट्रिय व्यापारमा असहजता आउनु हो । त्यसैले पनि नेपालमा सिंगापुरजस्तै विकासको अपेक्षा गर्नु उच्च महŒवाकांक्षा हुन्छ । बरु नेपाललाई स्विजरल्याण्डजस्तै वैदेशिक नीतिले सफलता दिलाउन सक्छ । 

ली क्वानको प्रसंग साझा सवालका एक प्रश्नकर्ता सागर ढकालले प्रम देउवालाई प्रश्न राख्दा निस्किएको हो । नेपाल लीकै जिम्मा लाउँदा पनि विकास गर्न सकिन्न थियो । एक ठाउँमा सफल भएको प्रयोग अर्का ठाउँमा पनि सफल हुन्छ भन्ने के छ र ? हिमालमा फलेको स्याउ तराईमा रोप्दा अनि तराईको आँप हिमालमा रोप्दा के दुबैमा फल लाग्छ ? विकास अर्थशास्त्रका सिद्धान्त पनि त्यस्तै हुन् । कतिसम्म भनिएको छ भने विकसित देशका नीति विकासोन्मुख देशमा लागू गर्न खोज्नु एक ठाउँमा उम्रने उन्यूको बोटलाई अर्को ठाउँमा सार्नुजस्तै हो । उन्यू मर्ने मात्रै होइन, कहिलेकाहीँ विषाक्त भएर झांगिन पनि सक्छ । 

लीको प्रसंगसँगै सागरले बेलायती प्रधानमन्त्री र तिनको योग्यताबारे प्रसंग उठाएका थिए । हामीकहाँ किन शैक्षिक रूपमा अब्बल विद्यार्थी प्रधानमन्त्री हुँदैनन् भनेर प्रश्न तेस्र्याएका थिए । शायद प्रश्नकर्तालाई थाहा थिएन कि प्रम देउवा त्रिविबाट कानुनमा स्नातक, राजनीति शास्त्रमा स्नातकोत्तर र लण्डन स्कुल अफ इकोनमिक्सबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा शोधार्थतर्फ भर्ना भएका छात्र हुन् । शैक्षिक योग्यताको सवालमा देउवालाई कमसल भन्न मिल्दैन । फेरि हामीले देउवाको समयकालको पनि ख्याल राख्नुपर्छ । देशमा पञ्चायत चलेका बेला शिक्षामा कत्तिको पहुँच थियो भन्ने हेक्का राख्नु जरुरी छ । 

प्रश्नकर्ताले ली क्वान र अक्सफोर्डको प्रसंगमै प्रश्न रोकेको भए शायद बेग्लै माहोल हुन्थ्यो होला । तर, उनले व्यक्तिगत आक्षेपसमेत लगाए । देउवाले हिरा पाएर ढुंगा बनाएको र देशले उनीबाट उन्मुक्ति चाहेको कुरा राख्नु र प्रश्न सकिएपछि पनि नरोकिनुले माहोल अलि असहज बनाएको कार्यक्रम हेर्ने जो–कोहीले अनुमान लगाउन सक्छ । 

स्वतन्त्रता र प्रजातन्त्रलाई सर्वोपरी मान्नेले तानाशाहीलाई आदर्श मान्ने कुरै भएन । ली क्वान यु शैली महेन्द्रले अपनाउन नखोजेका होइनन् । त्यसले कति सफलता पायो समयले देखाइसकेको छ । अझै पनि मधेसीले महेन्द्रीय राष्ट्रबादको विरोध गरिरहेको स्थिति छ । देउवा तातिनुमा उनलाई नेपाललाई हीराबाट ढुंगा बनाएको आरोप लाग्नु अनि कहिले विस्थापित हुने भनेर सोधिनु हो जस्तो लाग्छ । त्यसको जवाफ दिने क्रममा पनि प्रतिवाद गरिरहनुले उनलाई झन् आक्रोशित बनाएको थियो ।  मान्छे भएपछि संवेगलाई पूर्णतया निषेध गर्न सकिन्न । सकियो भने राम्रो हो । साझा सवालले सम्पादन गर्दा पूर्ण प्रश्न नराखी आधा राखेकाले पनि प्रम त्यत्तिकै तात्तिए भन्ने परेको छ । प्रश्नकर्ता फेसबुक पेजमा पूरा प्रश्न राखेका छन् । 

अक्सफोर्ड काण्डबाहेक पनि धेरै कुरा उल्लेख भएको थियो । तिनको खासै चर्चा भएन । कसैलाई तथानाम भन्ने मौका नेपालीले प्रायः गुमाउँदैनन् । ‘मोहन रेग्मी काण्ड’मा एकतर्फी कुरा सुनेर गाली गर्नेहरू जस्तैको अवस्था हाल पनि रह्यो । असारमा त पानी पर्छ, रोपाइँ गर्न जानुपर्छ, चुनाव हुँदैन भनी तर्क गर्नेहरू देख्दा सामाजिक सञ्जालभरि सबै किसान मात्रै छन् कि भन्ने लागेको थियो तर चुनाव ७०.५ प्रतिशत सहभागितासाथ सम्पन्न भयो । मान्छेले मताधिकार प्रयोगका लागि जेठ–असार केही नभन्दा रहेछन् भन्ने पुष्टि भयो । 
प्रत्यक्ष निर्वाचनले अघिल्लो दिनसम्म किसानी गरिरहेको मानिसलाई एकाएक प्रधानमन्त्री बनाइ दिन सक्छ । गलत मानिस माथि पुग्यो भने त्यसलाई ओराल्न गाह्रो हुन्छ भन्ने कुराको उदाहरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । रक्सी र मासुमा भोटको कारोबार हुने हाम्रो समाजमा प्रत्यक्ष कार्यकारी हुनेबित्तिकै सबै समस्या छुः मन्तर हुन्छ भनेर कसरी मान्ने ? 

०५२ सालमा माओवादीले राखेको मागमा १९५० को सन्धि, महाकाली सन्धिको खारेजी, खुला सिमाना नियन्त्रण, राजा र राजपरिवारको विशेषाधिकारमाथि नियन्त्रण, धर्मनिरपेक्षता, नयाँ संविधानलगायत धेरै माग थिए । कुन माइकालालमा त्यो बेला यी सबै माग पूरा गर्नसक्ने आँट र क्षमता थियो ? यदि थियो भने देउवाको कार्यकाल सकिएपछि किन पूरा भएनन् ती माग ? माओवादी जनयुद्ध शुरु भयो भन्नेबित्तिकै त्यो साल जन्मेका सबै शिशुलाई तिमीहरू अलच्छिना भएकाले जनयुद्ध शुरु भयो भन्न मिल्छ ? देउवा राजाबाट खोसिने र अक्षम घोषित हुने दोस्रो जननिर्वाचित प्रधानमन्त्री हुन् । बिपीलाई पनि अनेक आरोप लाएरै जेलमा कोचिएको होइन र ? अनि कोइराला र देउवालाई हेर्ने नजरचाहिँ किन फरक ? ६ दलले चुनाव सार्न निवेदन दिएको नदेख्ने अनि दोषजति देउवालाई मात्रै दिने ? बहालवाला प्रधानमन्त्री भएकै अवस्थामा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेपछि कोइरालालाई दबाब दिन आयोजित भेलामा रामचन्द्र पौडेल सभापति चुनिने कुरा थियो । उनी उचालेर काखा लागेपछिमात्र  देउवाले रिक्तता पूरा गरेका हुन् । देउवा मात्रै दोषी अनि पौडेल र कोइरालाचाहिँ निर्दोष ? थुप्रै कमजोरीका बाबजुद देउवाले थालनी गरेका राजश्वको प्रमुख स्रोतका रूपमा रहेको भ्याट कर थालनी, कदमजम, उदारवादी अर्थनीति, दलित, महिला आयोग, युवा तथा खेलकुद मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय गठन, कमैया, हलिया मुक्तिलगायत कामलाई के भन्ने ! 

जे गरे, जे भने पनि नराम्रै मात्र भन्ने र आरोप मात्रै लाउने हो भने राम्रो प्रयास किन गर्नुप¥यो ? सबैले बद्ख्वाइँ नै गर्ने भएपछि जे गरे पनि भइहाल्यो नि ! झापड काण्डमा संसद्मै अल्मल्याउने प्रचण्डपछि आफैंलाई झापड पर्दा गम्भीर बनेका थिए । आफूलाई पर्दा मात्रै गम्भीर हुने– अरूलाई पर्दा खिसिट्युरीमै समय खर्चने परम्परा तोडिनु पर्दैन ? नेतृत्व मात्रै गलत प्रशासन, जनता, शिक्षक, आदि सबै सही भएरै हो त देश बिग्रिएको ? अनि त्यसमा पनि एक व्यक्तिलाई इतिहासका सम्पूर्ण गल्तीको भार बोकाउन खोज्नु पूर्वाग्रही नभएर के हो ? सबैले सोचौँ ।


प्रतिक्रिया दिनुहोस !