महन्थको टोली अब मधेसमा आक्रामक

महन्थको टोली अब मधेसमा आक्रामक

जनता समाजवादी पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल भदौ २३ पछि आक्रामक ढंगले संगठन बिस्तारमा लाग्ने भएको छ । भदौ २२ गतेसम्म निर्वाचन आयोगले दल रोज्न सनाखतको समय दिएकाले त्यतिबेलासम्म जनप्रतिनिधिहरुलाई आफ्नो पार्टीमा आकर्षित गर्ने र दलले सबैतिर बैधानिकता पाएपछि संगठन बिस्तारमा लाग्ने नेता अनिल झाले बताएका छन् ।

जनआस्थासँगको संक्षिप्त कुराकानीमा झाले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले मधेसको ‘लिगेसी’ गुमाइसकेकोले मधेशमा रिक्त दलको आवश्यकता आफ्नो दलले पूरा गर्ने बताएका छन् । नवगठित लोसपा पुरानै राष्ट्रिय जनता पार्टीको निरन्तरता रहेको दाबीसमेत झाले गरेका छन् ।

वैधानिक रुपमा जसपा भन्न नमिले पनि लोसपा जसपाकै निरन्तरता रहेको उनले बताए । भदौ २२ मा सनाखतको काम सकिएपछि केन्द्रीय समितिको बिस्तार र राजनीतिक समिति गठन गर्ने राजपाकालको अध्यक्ष मण्डल सदस्यसमेत रहेका नेता झाले जानकारी दिए ।

नवगठित लोसपाको विधानमा ४ सय १ सदस्यीय केन्द्रीय समिति, १ सय ५१ सदस्यीय राजनीतिक समिति र ३१ सदस्यीय कार्यकारिणी समितिको व्यवस्था छ । भदौ २३ पछि टोल,वडा, पालिकादेखि प्रदेश,क्षेत्र,संघीय क्षेत्र हुँदै जिल्ला र प्रदेश कमिटी गठन गर्ने तयारीमा जसपा रहेको बताइएको छ ।

अहिले पनि धेरै जना नेता जिल्लामा सक्रिय रहेको र भदौ २३ पछि केन्द्रीय नेताहरु नै टोल टोलसम्म पुग्ने तयारी गरिएको उनीहरुको दाबी छ । आफूसमेत अहिले मधेशमा रहेको बताउँदै झाले भने, ‘अब लोसपालाई मधेशको नम्बर एक दल बन्न कसैले रोक्न सक्दैन ।’ आगामी स्थानीय र आमनिर्वाचनमा लोसपाले मधेशमा सबैलाई बढार्ने रणनीतिसहित अगाडि बढ्ने तयारी अन्तिम चरणमा पुगेको झाले बताए ।

टिप्पणीहरू