मन्त्री बन्नेहरुको ताँतीले….

मन्त्री बन्नेहरुको ताँतीले….

अनुमान र आवश्यकताभन्दा निकै कम मन्त्रालय पाइने भएपछि नेकपा (एस) लाई मन्त्रिपरिषद् विस्तारपूर्व सांसदहरुलाई फकाइफुल्याई गर्न मुस्किल परेको छ । र २२ गते प्रदेश र स्थानीय निकायतर्फका पदाधिकारीले मन परेको दलतिर जान पाउने अधिकार उपभोग नगर्दासम्म मन्त्रिमण्डलले पूर्णता पाउन कठिन छ ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच सोमबार भएको छलफलका क्रममा डा.बाबुराम भट्टराईले ‘समानताका आधारमा गरौँ’ भन्दा नेकपा (एस) का नेताहरु खुशी भए । तर, कुरा टुंगिने बेला उक्त पार्टीले पाँच मन्त्रालय पाउने भयो । त्यसमा बढाएर एउटा राज्यमन्त्री दिने सम्भावना छ । तर, सोमबारअघिको अनुमान थियो, ६ मन्त्रालयको । त्यसमा प्रचण्डले देउवासँग मिलेर आफूहरुबाट दिने भनिएको एक–एक मन्त्रालयको कुरै निस्किएन ।

कारण हो, ती पार्टीमा पनि मन्त्रीका आकांक्षी मिलाउने चटारो । त्यसमाथि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको सिफारिसका एक व्यक्तिलाई मन्त्रालय दिने योजना छ । अनि कानुन मन्त्रालयमा सबैको सहमतिअनुसार अधिवक्ता गोविन्द बन्दीको इन्ट्री हुनसक्छ । कांग्रेस नेताबीच चलेको चर्चाअनुसार, स्वास्थ्य, शिक्षा, रक्षा, गृहसहितका मन्त्रालयमा चित्त बुझाउनुपर्ने हुनसक्छ ।

नेकपा (एस) का बाध्यता के छन् भने, पाँचजनाभित्रैबाट पाँचथरि मापदण्ड पु¥याउनुपर्ने । भौगोलिकता, समावेशी, वरिष्ठता, महिला र दलितको सन्तुलन मिलाउने कुरालाई आधार मानेर मन्त्रीहरुको नाम चयन गरिँदा थुप्रै आकांक्षी निराश हुने स्थिति छ । तर, केही समयपछिको पुनर्गठनमा पारिने र कतिपयलाई मुख्य सचेतक, सचेतक र संसदीय समितिको सभापतिमा चित्त बुझाइने ठाउँ पनि बाँकी नै छ ।

त्यसरी मन्त्री छान्दा प्रदेश १ का एकमात्र सांसद छन्, भवानी खापुङ । महिला एउटा चाहियो नै रामकुमारी झाँक्री तर निरादेवी जैरु, समिमा हुसेन, कल्याणी खड्कासहितका आकांक्षी पनि छन् । बागमती प्रदेशबाट विरोध खतिवडा र जीवनराम श्रेष्ठमध्ये एकजनालाई मन्त्री बनाइने भएको छ । तीमध्ये एकलाई प्रमुख सचेतक बनाउन सकिने स्थिति छ । सुदूरपश्चिमबाट अछामका शेरबहादुर कुँवरलाई नछुटाउने सल्लाह छ ।

उनी फागुन २० गते राष्ट्रिसभाको चार वर्षे कार्यकाल सकिने सांसद हुन् । उनको कार्यकाल सकिएपछि त्यो ठाउँमा फेरि अर्का सांसदको पालो आउँछ । उनी मन्त्री भए भने सुदूरपश्चिममा भीम रावलसँग थोरै मात्र जाने हुनसक्छ । आइतबार नयाँबानेश्वरस्थित एक होटलमा भएको सुदूरपश्चिम भेलामा पुगेका सांसद र सम्पर्क मञ्चका नेताहरुले ‘शेरबहादुर कुँवरप्रति न्याय गरिए हामीलाई भीम रावल चाहिँदैन’ भनेका छन् ।

टिप्पणीहरू