अकस्मात म्वाइ खान आएपछि

  • लक्ष्मी काफ्ले

एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका निकै चतुर खेलाडी मानिन्छन् । तर, उमेर बढ्दै गएसँगै उनलाई स्वास्थ्य अवस्थाले पनि सताउँदै छ । डाक्टरहरूले धेरै धपेडी नगर्नु भनेका छन् । तर, स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई एक नम्बर बनाउनै पर्ने दबाब छ । 
यसै क्रममा अघिल्लो साता झण्डै ५ दिनसम्म गृहजिल्ला झापा बसे । झापा भनिसक्दा प्रतिष्ठाको विषय आउँछ । कारण भने एउटै छ– यो एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता केपी सिटौलाको गृहजिल्ला हो । कांग्रेस नेता सिटौला झापामा आफ्नो दललाई पहिलो बनाउन निकै अघिदेखि दौडधुपमा छन् । विश्वप्रकाश शर्मा, गगन थापा, रामशरण महतलगायतले झापाका चुनावी सभालाई संबोधन गर्न थालेपछि ओलीमा चिन्ता बढ्नु स्वाभाविकै हो । त्यसपछि उनी पनि हान्निए गृहजिल्ला । स्वास्थ्यको ख्यालै नगरी दिनमै आधा दर्जनसम्म चुनावी सभालाई संबोधन गर्न भ्याए । राति १२ बजेसम्म उम्मेदवारका घरमा बैठक राखे । मध्यराति टेलिभिजनलाई अन्तर्वार्ता दिने हिम्मत गरे । बिहान सबेरै उठेर सभालाई संबोधन गर्न हिँडिहाले । 

५ दिन झापा बसाइक्रममा बुधबार एक गज्जवकै दृश्य देखियो । कसैले अनुमान लगाएकै थिएनन् त्यस्तोसम्म देख्न पाइएला भनेर । झापा गाउँपालिकामा संबोधन सकेर अर्जुनधारा नगरपालिका गए । त्यसपछि बिर्तामोडमा बोल्ने कार्यक्रम थियो । बिर्तामोडमा हजारौं सर्वसाधारण तथा कार्यकर्ता पर्खी बसेका थिए । तातो घाममा २ घण्टाको पर्खाइपछि ओली स्टेजमा पुगे । उनीभन्दा अगाडि अन्य नेताको बोल्ने पालो थियो । त्यसैले ओली केही बेर स्टेजमा बसे । सुरक्षा गार्डले औषधि ल्याइदिए । त्यसपछि शुरु भयो ओलीसँग सेल्फी खिच्ने र छेउमा बस्नेहरूको लहर ।
सेल्फी खिच्नेको लाइन हेर्दा लाग्थ्यो त्यहाँ कुनै दलका अध्यक्ष नभएर अन्तर्राष्ट्रिय स्तरका खेलाडी वा बलिउडका हिरो–हिरोइन् छन् । सेल्फी लिनेमा अधिकांश किशोरीहरू थिए ।

त्यसपछि आयो मूलदृश्यको पालो । एक महिला सुरुसुरु मञ्चमा चढिन् । ओलीलाई नमस्कार गरिन् । अनि धमाधम चुम्बन शुरु गरिन् । शुरुमा बायाँ गालामा चुमिन् । त्यसपछि दायाँतिर ।

कोही हाँसे, कोही अलमल्ल परे । मञ्चमै बसेका धेरै नेताले यो दृश्य देख्नै पाएनन् । पत्रकारहरू पनि कसैले यो ५ सेकेण्डको दृश्य खिच्न भ्याएनन् । यो भिडियो कैद गर्ने म मात्र भएँ । तर, ओलीलाई चुम्बन गर्ने ती महिला को हुन् ? कसैलाई थाहा भएन् ।

त्यसपछि ती महिला को हुन् पत्ता लगाउन निकै हम्मे प¥यो । मैले यो भिडियो युट्युबमा राखेको थिएँ । केही बेरमै यो भाइरल बनिसकेको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले अनेक अड्कलबाजी गरे, ती महिलाका बारेमा । पछि पत्ता लाग्यो, उनी ओलीकी सानीमा रहिछन् ।

ओलीलाई सार्वजनिक मञ्चमै चुम्बन गरेर चर्चामा आएकी उनको नाम सावित्रा थपलिया हो । बिर्तामोड–९ स्थित गरामनी निवासी उनी ७० वर्षकी भइन् । २५ वर्षपछि भेटेकोमा हर्षले त्यसो गरेकी थिइन् । उनी ओलीकी बालसखा पनि हुन् । सानामा उनीहरूले एउटै थालमा भात खाएका थिए । ओलीलाई चुम्बन गरेको यो भिडियो अहिले भाइरल भएको छ । धेरैले युट्युवबाट लाउनलोड गरेर आफ्नो अकाउन्टबाट अपलोड गरेका छन् । 

टिप्पणीहरू