म्वाइँ खाइ

झापामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीउपर भएको म्वाइँकाण्ड अहिले सामाजिक सञ्जालमा खुबै भाइरल छ । पुरानो भाषामा भन्दा सुपर डुपर हिट भएको छ । उहाँ मञ्चमा आसीन हुनुहुन्थ्यो । एकाएक एक महिला मञ्चमै आएर दुवै गालामा च्वाक्क च्वाक्क म्वाइँ खाइदिनुभयो । अंग्रेजीमा यसलाई ‘किस’ गरेको भन्नुपर्ला । एक पूर्वप्रधानमन्त्रीलाई यसरी सबैका सामु किस गर्दा बबाल त ठूलै हुनुपर्ने हो । तर, भएन । किस खायो, गयो, सकियो । 

यो म्वाइँको दृश्य देखेर मलाई लागिरह्यो, यस्तै म्वाइँ मञ्चमा बसिरहेका कुनै नेत्रीलाई कुनै पुरुष प्रशंसकले खाइदिएको भए के हुन्थ्यो होला ? सुरक्षाकर्मीले तानेर रामधुलाइ गर्थेन ? तर, त्यही म्वाइँ एक पुरुष नेतालाई महिला प्रशंसकले खाँदा भने त्यस्तो केही भएन । के पूर्वप्रधानमन्त्री खड्ग ओलीज्यूको गाला काठमाडौंको रत्नपार्क जतिकै सार्वजनिक हो जसलाई जसले जुनबेला आएर पनि म्वाइँ खान सकियोस् ? 

केही समयअघि माओवादी अध्यक्ष प्रचण्डलाई पनि यस्तै मञ्चमा आएर एकजना कार्यकर्ताबाट गाला चड्काउने कार्य भएको थियो । गाला चड्काउने कार्यकर्ताको रामधुलाइ भयो । अहिले केपी ओलीको गालामा म्वाइँ खाने प्रशंसकको भने कुनै धुलाइ भएन । के नेताहरूको गालामा चड्काउन मात्रै प्रतिबन्ध छ, म्वाइँ खानचाहिँ फ्री हो ? वाइफाइ फ्री भनेजस्तै ‘म्वाइँ खाइ फ्री’ ! 

टिप्पणीहरू