भारतसङ्ग कुरा नगरेको भन्दै एमाले आक्रोशित

भारतसङ्ग कुरा नगरेको भन्दै एमाले आक्रोशित

प्रमुख प्रतिपक्ष नेकपा एमालेले जयसिंह धामी बेपत्ता प्रकरण छानविनमा सरकारले लाचारी देखाएको आरोप लगाएको छ । घटना भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै एमालेले सरकारी भूमिकामाथि आशंका पनि गरेको छ ।

घटनाबारे छानविन गर्न गठित समितिको म्याद पटक-पटक थपेर निकै ढिलो गरी बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको भन्दै एमालेले घटना थामथुम गर्ने प्रयासमा सरकार लागेको आशंका ब्यक्त गरेको छ । ‘आफ्ना नागरिक बेपत्ता पारिएको संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान अन्यत्र मोड्न खोजेको आशंका पैदा भएको छ’, प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नागरिकको जीवनसँग जोडिएको गम्भीर विषयमा सरकार संवेदनहीन र लाचार बनेको आरोप लगाउँदै एमालेले अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । साथै दोषीलाई कारवाही तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न एमालेले सरकारलाई भनेको छ ।

गत साउन १५ गते महाकाली नदी पार गरिरहेका बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएपछि धामी उर्लिरहेको महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

सरकारले घटनाको दोस्रो दिन गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले स्थलगत अध्ययन गरी उतिबेलै प्रतिवेदन तयार गरेको भए पनि लामो समय सार्वजनिक गरिएको थिएन ।

अन्तत: हिजो प्रतिवेदन सार्वजनिक गरिएको छ, तर सरकारी भूमिकामाथि प्रश्न उठेको छ । अध्ययन टोलीले भारतीय सुरक्षाकर्मीकै कारण जयसिंह नदीमा खसेको ठहर गरेकाले सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरेको कतिपयले आशंका गरेका छन् ।

टिप्पणीहरू