हार्नेचाहिँ को नि ?

स्थानीय तहमा दोस्रो चरणको निर्वाचन आज भइरहेको छ । पहिलो चरण त अस्ति नै सकियो । आज दोस्रो चरणको हुँदै छ । यसपछि छिट्टै तेस्रो चरणको पनि हुन्छ होला । यदि, कुरा मिलेन भने तेस्रो भित्रैबाट तेस्रो (२), तेस्रो (३) चरणको हुने पनि सम्भावना छ ।

अब जहाँसम्म चुनावको कुरा छ, चुनाव भनेपछि पार्टीहरू भिडिरहेका हुन्छन् । त्यसमा कोही हार्छन्, कोही जित्छन् । चुनावको नियमले यही भन्छ । तर, यसपालि स्थिति कस्तो छ भने यसमा कोही पनि हार्नुहुँदैन । सबैलाई जिताउनैपर्ने छ । किनभने अस्ति कांग्रेस नेत्री सुजाता कोइरालाले भन्नुभयो– यो चुनावमा कांग्रेस हार्नु हुँदैन, कांग्रेस हा¥यो भने लोकतन्त्र पनि हार्छ । अब लोकतन्त्रलाई त हराउनुभएन । त्यसैले कांग्रेसलाई जिताउनै प¥यो । 

यता, एमाले अध्यक्ष केपी ओली भन्दै हुनुहुन्छ– अहिले देशमा राष्ट्रियताको लडाइँ एमाले एक्लै लडिरहेको छ, एमाले हा¥यो भने राष्ट्रियता पनि हार्छ । राष्ट्रियतालाई पनि हराउने कुरै भएन । अतः एमालेले पनि जित्नै प¥यो । 

माओवादी अध्यक्ष प्रचण्डको कुरा फेरि अर्कै छ । उहाँ भन्नुहुन्छ, माओवादी हा¥यो भने देशले अहिलेसम्म प्राप्त गरेको उपलब्धि जम्मै हार्छ । हो पनि, बल्लबल्ल प्राप्त उपलब्धिलाई हराउनै भएन । माओवादीलाई पनि जिताउनै प¥यो । 

यसैगरी क्रमशः राप्रपा हा¥यो भने देशभक्त शक्ति हार्छ, त्यसलाई हराउनै भएन । संघीय समाजवादी फोरम हा¥यो भने समावेशीको मुद्दा हार्छ, त्यसलाई पनि जिताउनै प¥यो । नयाँ शक्ति हा¥यो भने पुरानो शक्तिले जित्न पुग्छ, नयाँलाई जिताउनै प¥यो । अब सबैलाई जिताउनै हो भने यो चुनावमा हार्नेचाहिँ को नि ? 

टिप्पणीहरू