जुँगाको लडाईंमा राजधानी तीन साता दुर्गन्धित

जुँगाको लडाईंमा राजधानी तीन साता दुर्गन्धित

उपत्यकामा झण्डै एक महिनादेखि थुप्रिएको फोहोर उठ्न थालेको छ । काठमाडौं महानगरपालिका र नुवाकोट ओखरपौवास्थित सिसडोलका स्थानीयबीच फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा भएको सहमतिपछि फोहोर उठाउन थालिएको हो ।

हिजो प्रहरी वृत्त बालाजुस्थित कार्यालय प्रमुख निर्मल बुढाथोकीको कार्यकक्षमा महानगरको वातावरण विभागका प्रमुख र सिसडोलका स्थानीयबीच वार्ता भएको भई स्थानीयको विभिन्न माग पूरा गर्ने सहमति भएपछि फोहोर उठ्न थालेको बताइएको छ ।

सिसडोल जाने बाटो १५ दिनभित्र ग्राभेल र त्यसपछि तत्काल पिच गरिने भनिएको छ । साथै फोहोरको गाडी ओभरलोड गर्न नपाइने,बिहान ४ बजेदेखि बेलुका ४ बजेसम्म मात्र फोहोर लाने सहमति पनि लेखिएको छ । सिसडोल जाने सडकखण्डको वरिपरि वृक्षारोपण गरेर नजिकैको महालक्ष्मी मन्दिर परिसर र सार्वजनिक खुल्ला ठाँउमा समेत वृक्षारोपण गर्ने सहमति भएको छ । स्थानीयको १६ बुँदे मागको सहमतिमा महानगरका विभागीय प्रमुख हरिकुमार श्रेष्ठले दस्तखत गर्नुभएको छ ।

‘फेरि सिसडोल र ओखरपौवाका सर्वसाधारणले आगामी हिउँद र बर्खामा आन्दोलन गर्न नपरोस् । महानगरका प्रतिनिधिले गरेको दस्तखतलाई अर्को वर्षको झरीले नपखालोस् ।’

फोहोर प्रभावित स्थानीयले वर्षेनी राख्ने गरेका ती मागबारे मुख्य सरोकारवाला निकायको रुपमा काठमाडौं महानगरपालिका र नेपाल सरकारले सँधै सहमति गरेर झारा टार्ने गरेको स्थानीयले बताएका छन् । उनीहरुले भनेका छन्,‘केही वर्षदेखि यहि रीत चलेको छ । हिउँद लागेपछि कानमा तेल हालेर बस्छन् । आखिर सम्झौता गर्नु नै थियो भने तीन सातासम्म किन झुलाइयो ?’

यता महानगरपालिका र नेपाल सरकारले पनि जस आफूलाई र अपजस अरुलाई जाने उद्देश्य राखेको कारण गत सातासम्म फोहोरले काठमाडौं चुलिएको सरोकारवालाहरुले बताएका छन् । स्थानीयको विकास निर्माणसम्बन्धी मागमा सहमति जनाउने तर कार्यान्वयन नगर्ने घातक प्रवृत्तिले नै यो वर्ष पनि हप्तौँसम्म राजधानी दुर्गन्धित बनेको उनीहरुको आरोप छ ।

हिजो एउटा कागजमा हस्तलिखित सहमति गरेलगत्तै काठमाडौंको फोहोरको डंगुर उठिसकेको महानगरका विभागीय प्रमुख श्रेष्ठले बताउनुभएको छ । उहाँले अब स्थानीयको माग पूरा हुने र छिट्टै बञ्चरेडाँडाको ल्याण्डफिल साइट निर्माणसमेत सम्पन्न हुने दाबी गर्नुभएको छ ।

काठमाडौंका महानगर र नगरपालिकालाई कर तिरेका वासिन्दाले भनेका छन्,‘फेरि सिसडोल र ओखरपौवाका सर्वसाधारणले आगामी हिउँद र बर्खामा आन्दोलन गर्न नपरोस् । महानगरका प्रतिनिधिले गरेको दस्तखतलाई अर्को वर्षको झरीले नपखालोस् ।’

टिप्पणीहरू