फोहोरबाट ऊर्जा

काठमाडौं महानगरपालिकामा अब फोहोरबाट ऊर्जा र मल उत्पादन गर्ने कार्यको विधिवत् आरम्भ गरिएको छ । नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले हालै उद्घाटन गरी उक्त कार्यको शुभारम्भ गरिएको हो । पहिले पहिले त फोहोर भनेपछि फोहोरै हुन्थ्यो । त्यसको कुनै काम छैन । तर, अहिले फोहोरबाट बिजुली पनि निकाल्ने भनेपछि यो त फाइदाको कुरा भयो । 

यो राम्रो कामका लागि हाम्रो मेयर सा’बलाई बधाई । साथसाथै उहाँलाई एउटा सुझाव पनि । त्यो के भने हालै प्रयोगमा आएको यो विधि टोल टोलमा उत्पादन हुने फोहोरबाट मात्रै बिजुली निकाल्ने खालको रहेछ । अब हाम्रो सिंहदरबारमा उत्पादन हुने फोहोरबाट पनि बिजुली वा यस्तै केही निकाल्ने कुनै विधि विकास गर्ने हो कि ? यदि सिंहदरबारको फोहोरबाट बिजुली निकाल्ने विधि पत्ता लगाउन सकियो भने हामी लोडसेडिङबाट मुक्त हुने त छँदै छ, अहिले चर्चामा आइरहेको अरुण–फरुण जलविद्युत् परियोजना पनि चलाउनै पर्दैन । ऊर्जामा ढुक्कै भए हुन्छ । यसमा मेयरज्यूको विचार के छ कुन्नि !

टिप्पणीहरू