मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षीको माग

मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षीको माग

-आशिका लम्साल

प्रतिपक्षी दलहरुको गठबन्धनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति गैरसंवैधानिक भएको ठहर गरेको छ । आज बिराटनगरमा बसेको प्रतिपक्षी दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र,जनता समाजवादी र एकीकृत समाजवादीको बैठकले भदौ १० गते प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले गैरकानुनी तरिकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकोमा बदर हुनुपर्ने माग गरेको हो ।

गठबन्धन बैठकमा मुख्य विपक्षी दल काँग्रेस संसदीय दलका नेता राजिव कोइराला,प्रमुख सचेतक केदार कार्की,माओवादी केन्द्रका नेता ईन्द्र आङबो,एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र राई,जनता समाजवादीका नेता जयराम यादव सहभागी थिए ।एमाले विभाजन भएर निर्वाचन आयोगबाट एकीकृत समाजवादीको मान्यता पाइसकेको,प्रदेश १ सभाबाट चार जना सांसद उक्त दलको केन्द्रीय सदस्य भइसकेको र निर्वाचन आयोगले बाँकी सांसदहरुलाई नयाँ दल रोज्ने अवसर दिइसकेको अवस्थामा हतारमा मुख्यमन्त्री नियुक्त गरिनु गलत भएको बैठकले निश्कर्ष निकालेको छ ।

प्रदेश प्रमुखको उक्त कार्यबाट गठबन्धन बैठकले संविधानको धारा धारा १६८ (१) उल्लंघन भएको ठहर गरेको छ । उनीहरुले “प्रदेश १ मा १० जना सांसदले एकीकृत समाजवादीमा सनाखत गराइसकेकाले एमालेका सांसदको संख्या ५१ बाट ४१ मा झरेको छ” भन्दै यस्तो अवस्थामा प्रदेश सरकार प्रत्यक्ष अल्पमतमा परिसकेकाले कुनै पनि महत्वपूर्ण निर्णय नगर्न सरकार र प्रदेश प्रमुखलाई सचेत गराएका छन् ।

मुख्यमन्त्री शेधरन राईले पार्टीमा दश बुँदे सहमति कार्यान्वयन गराउन भन्दै पदबाट राजीनामा दिएपछि उनैको प्रस्तावमा आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।

टिप्पणीहरू