दोषीलाई कमरेड नै भए पनि दण्ड देऊ

दोषीलाई कमरेड नै भए पनि दण्ड देऊ

-शरद अधिकारी

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको घटनाले देशव्यापी चर्चा पाएको छ । नेकपा एमालेमा आबद्ध विद्यार्थी नेताहरूले अस्पतालभित्र कार्यकक्षमा रहेका चिकित्सकमाथि जुन खालको घटना घटाए त्यसबारे मानिसले अनेकन धारणा राखिरहेका छन् । कतिपयले अस्पतालमा सेवा सुविधा राम्रो नभएका कारण मोसो दल्नेसम्मको अवस्था आयो भनिरहेका छन् । समाज यति धेरै विभक्त भइसक्यो कि जुनसुकै घटनामा पनि मानिस परस्परविरोधी धारणा राख्छन् । नराम्रो घटनालाई नराम्रो भन्न सक्दैनन् । राम्रोलाई राम्रो भन्न सकिने त कुरै भएन ।

केही महिनाअघि तुलसीपुरका एकजना कोरोना संक्रमितको उपचारमा लापरवाही गरिएको भन्दै नेपालगञ्जका चिकित्सकमाथि अभद्र व्यवहार गरियो । धेरैले घटनाको विरोध गरे । चिकित्सकमाथि कुनै पनि खालको भौतिक आक्रमण गर्ने कुरा समर्थन योग्य थिएन । उक्त घटनामा पीडक भनिएकाहरूले आफन्त गुमाएका थिए । आफन्त गुमाएकाहरूले उग्र व्यवहार देखाए भन्दैमा चर्को विरोध गरिहाल्नुपर्ने थिएन ।

नेपालगञ्जमा ज्यान गएको आक्रोशमा व्यक्त प्रतिक्रिया र तुलसीपुरको घटना एउटै हो त ? कानुन हातमा लिने अधिकार कसैलाई छैन । तुलसीपुरमा भएको घटनापछि चिकित्सकहरु आन्दोलनमा छन् । तुलसीपुरमा दुई पक्षबीच भनाभन हुँदा जो व्यक्ति गएका थिए उनीहरू तयारीमा रहेको देखिन्छ । डाक्टरलाई आज कुनै पनि हालतमा अपमान गर्ने, मोसो दल्ने भनेरै गएको प्रष्ट छ । डाक्टरले यसलाई उपचार गर्छु र यसलाई गर्दिनँ भन्न मिल्दैन ।

तुलसीपुरमा उपचारमा गएकाहरूको आक्रोश थिएन । त्यहाँ नियतवश गएका र जसरी भए पनि डाक्टरलाई अपमान गर्ने गरी गएका थिए । अस्पताल सञ्चालनको जिम्मेवारी प्रदेश सरकारले पाएको छ । व्यवस्थापन समिति पनि बनाइएको छ । प्रदेश सरकारले अध्यक्ष र सदस्यहरू चयन गरेको छ । अस्पतालको सेवा–सुुविधाबारे चित्त नबुझ्न सक्छ । यो दुनियाँमा सबैको चित्त कसैले बुझाउन सक्दैन । यो मन परेन भन्न सकिन्छ । तर, मोसो दल्ने कुरा कदापि सह्य हुँदैन । राप्ती प्रादेशिक अस्पतालमा कुनै चरणबद्ध विरोधको कार्यक्रम राखिएको थिएन । यदि, आफूहरूले राखेका मागको सुनुवाइ भएन भने आन्दोलन गर्ने भनिएको पनि थिएन ।

अस्पताल संवेदनशील क्षेत्र हो । त्यहाँ बिरामी हुन्छन् । बिरामीका आफन्त हुन्छन् । मोसो दलेर बहादुरी प्रदर्शन मूर्खता मात्रै हो । अस्पतालमा नारा जुलुस र होहल्ला गर्ने, चिकित्सकलाई कुटपिट गर्ने, चिकित्सकलाई तर्साउने काम गर्नु हुँदैन । अस्पताल भनेको जो–कोहीका लागि पनि काम लाग्ने स्थान हो । अस्पतालले दिइरहेको सेवा–सुविधा बृद्धिका लागि ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने, अन्तरक्रिया गर्ने, छलफल गर्ने, अनेकन खालका दबाब दिने कार्यक्रम गर्न सकिन्छ तर त्यहाँ गएर हुलहुज्जत गर्नु हुँदैन । अस्पतालको संवेदनशीलता नबुझ्नेलाई कानुनको दायरामा ल्याउनै पर्छ ।

तुलसीपुरका बिरामीको लागि राप्ती प्रादेशिक अस्पताल आस्थाको केन्द्र हो । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो सेवालाई बर्बाद बनाउँदै लगेपछि तुलसीपुर अस्पतालमा बिरामीको चाप बढेको थियो र छ पनि । तुलसीपुर अस्पताल राप्तीका अन्य जिल्लाको पनि केन्द्र हो । सल्यान, रोल्पा र रुकुमका बिरामीका लागि पनि आउने स्थान तुलसीपुर हो । तुलसीपुरमा पहिले अञ्चल अस्पतालका रूपमा रहेको अस्पतालको प्रदेश सरकारले जिम्मेवारी लिएको छ । प्रदेश सरकारले जिम्मेवारी लिइसकेपछि सुधार भएको छ । केही सुधार गर्नुपर्ने होला । डाक्टरको दरबन्दी पूर्ण भएको छैन होला ।

चिकित्सकको व्यवहारमा सुधार गर्नुपर्ने होला । उपकरणहरू थप गर्नुपर्ने होला । यो हुँदाहुँदै पनि डाक्टरमाथि भौतिक आक्रमण गर्नु भनेको अराजकतालाई प्रश्रय दिनु हो । यो घटनामा जो व्यक्ति संलग्न छन् तिनीहरूको आस्था हेरिनुुहुँदैन । ती व्यक्तिको वैचारिक सामिप्यता पनि हेरिनु हुँदैन । कसैले राजनीतिक संरक्षण गर्छ भने त्यो झनै राम्रो कुरा होइन । तुलसीपुर घटनाको विभिन्न कर्मचारी संघसंगठनले विरोध गरिसकेका छन् । स्वयं नेकपा एमाले दाङले घटनामा संलग्नलाई कारबाहीका लागि प्रशासनको बाटो खुला गरिदिएको छ ।

विगतमा कसैलाई चित्त बुझेन भने मोसो दल्ने गरिन्थ्यो । जनयुद्धको समयमा त यो फेसनै जस्तो भयो । आज त्यो अवस्था होइन । यतिवेला मुलुकमा गणतन्त्र आएको छ । यो जनताले ल्याएको गणतन्त्र हो । गणतन्त्रमा विमति राख्न पाइन्छ । सडक तताउन पाइन्छ । दुई वर्षअघि घोराहीमा एक जना निर्माण व्यवसायीलाई मोसो दलिएको थियो । कुनै बेला व्यक्तिलाई हत्या गर्ने अनि सफाया भनेर पर्चा छर्ने गरिन्थ्यो । आज त्यो अवस्था हो त ? पक्कै पनि होइन । आज त्यस्तो काम कसैले गर्छ भने त्यसलाई हदैसम्मको कारबाही गर्नुपर्छ । कुनै सेवाग्राहीले उचित सेवा पाएन अर्थात् लापरवाही गरेको पुष्टि भयो भने लाखौँ रकम अस्पतालले तिरेका अनेकौं उदाहरण नेपालमा छन् ।

यस्तो उदाहरण हुँदाहुँदै पनि तुलसीपुरमा विद्यार्थी संगठनका नेताहरूले जुन व्यवहार देखाएका छन् त्यसको जति नै भत्र्सना गरे पनि कम हुन्छ । पार्टीले समेत विरोध गरिसकेको अवस्थामा स्थानीय प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ । कसैलाई पनि आफ्नो पेशा व्यवसाय निर्धक्क गर्न पाउने कानुनी हक छ । यो हकको रक्षा गर्ने दायित्व आमनागरिकको पनि हो । त्यसैले तुलसीपुरमा भएका जस्ता घटना आगामी दिनमा नहोउन् भन्ने हो भने कानुनी प्रक्रिया अघि बढाउनुपर्छ । यो प्रवृत्तिविरुद्ध सबै लाग्नुपर्छ ।

टिप्पणीहरू