क्रमशः खिइन थाले कम्युनिष्टहरु

क्रमशः खिइन थाले कम्युनिष्टहरु

केपी ओलीको हठ र दम्भले आफूलाई मात्र हैन, दललाई पनि झार्दैझार्दै कहाँसम्म पु¥याएछ भन्ने कुराको हिसाब हेर्दा डरलाग्दो विवरण उत्रिएको छ । ०७४ फागुन २० मा सम्पन्न निर्वाचनअनुसार ५९ सदस्यीय राष्ट्रियसभामा तत्कालिन नेकपासँग एक्लै ४९ सदस्य थिए । ०७७ फागुन २३ मा सर्वोच्चले एमाले र माओवादीलाई अलग बनाएपछि ओली नेतृत्वको एमालेसँग ४० जना भए ।

अहिले त्यही एमाले पनि टिकाउन नसक्दा त्यहाँबाट सात जना बाटो लागिसके । र, संख्या खुम्चिएर ३३ मा झरेको छ । त्यसमध्ये आउने फागुन २० मा चार वर्षे पदावधिका २० जनाको पद रिक्त भई त्यसमा निर्वाचन गराउनका लागि पुस २० गतेबाट प्रक्रिया शुरु हुँदैछ । पदावधि सकिनेमा एमालेका आठमध्ये नैनकला ओझा, कोमल वली, कविता बोगटी, रामलखन हरिजन, चक्रबहादुर स्नेही, अगम बान्तवा, परशुराम मेघी गुरुङ र सुमन प्याकुरेल छन् ।

नेकपा (एस) बाट उदया शर्मा, शान्ति अधिकारी जिसी, ठगेन्द्र पुरी, शेरबहादुर कुँवर हुन् । कांग्रेसका तारादेवी भट्ट, राधेश्याम अधिकारी र दीर्घनारायण पाण्डे हुन् । माओवादीका शशिकला दाहाल, खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा र मनोनीत रामनारायण बिडारी पनि फागुन २० गते पद सकिनेमा पर्छन् ।

एउटा पार्टी फुटेर तीनवटा भइसक्यो । त्यसपछि पछिल्लो समय विकसित घटनाक्रमअनुसार यदि नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरे भने एमाले १५–१६ मा झर्ने खतरा विद्यमान छ । किनभने, एमाले सबभन्दा बलियो भएको प्रदेश हो, बागमती । त्यहाँ रामबहादुर थापाको पद रिक्त भएर उपचुनाव हुँदा गठबन्धनकै बलमा डा.खिमलाल देवकोटाले जितेको धेरै भएको छैन । ती मतदातामध्ये ५० प्रतिशत नै एमालेमा लागेछन् भने पनि गठबन्धन नै बहुमतमा हुने स्थिति छ ।

अब फागुन २० मा निर्वाचित भएर आउनेबाहेक ६ वर्षे पदावधिअन्तर्गत अझै दुई वर्ष राष्ट्रियसभा सदस्य हुन पाउनेहरुको संख्या २० छ । तीमध्ये वामदेव गौतमको पाँच वर्ष बाँकी छ । बादलको ६ वर्षे कार्यकाल रिक्त भएर उपचुनावमा निर्वाचित भएका डा.खिमलाल र चार वर्षे कार्यकाल रहेका चन्द्रबहादुर खड्का (माओवादी) को ठाउँमा आएका दीर्घनारायण पाण्डे (लुम्बिनी प्रदेश) हरुको हकमा भने जति–जति कार्यकालका सांसदहरुको पद रिक्त भएको हो, तिनको कार्यकाल पनि त्यति–त्यति नै गणना हुन्छ । जस्तो कि, बादल ६ वर्षे थिए, अब खिमलालले बाँकी २ वर्ष हुन पाउँछन् । चार वर्षे चन्द्रबहादुरको ठाउँमा गत साउनमा मात्र चुनाव जितेका दीर्घनारायणको पद यही फागुनमा सकिन्छ ।

टिप्पणीहरू