केपीवादले भ्रष्टाचार गर्न कानुन नै बनाएछ !

केपीवादले भ्रष्टाचार गर्न कानुन नै बनाएछ !

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य केदार न्यौपानेले आफ्ना पूर्वअध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्न कानुन नै फेरबदल गरेको आरोप लगाउनुभएको छ ।

हेटौँडामा नेकपा (एस) को पार्टी कमिटी रुपान्तरण तथा नयाँ नेतृत्व चयनका लागि आयोजित कार्यक्रममा बोल्दै न्यौपानेले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेको अनुहार नै नहेर्ने बताए पनि आफैँले कानुन संशोधन गरी गिरीबन्धुलगायत जग्गा काण्डमा ओली सरकारको असली नियत देखिएको बताउनु्भयो ।

‘हामीलाई एमालेको सिद्धान्त, विधि,विधानमा आपत्ति होइन,’ उहाँले भन्नुभयो, ‘केपीवाद सहन सकेनौँ र छुट्टियौँ ।’ केपीवाद भनेको व्यक्तिवाद हो,व्यक्तिवाद भनेको पुँजीवाद हो भन्दै न्यौपानेले समाजवादको यात्रामा हिँड्ने सारथीहरु केपीवादमा लागेपछि आफूहरुले केपीवादतर्फको बाटो छोट्याएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य मुनु सिग्देलले नयाँ पार्टी निर्माणको क्रममा पर्याप्त भ्रमहरु छरिएको बताउनुभयो । कसैलाई मेयर, कसैलाई उपमेयर र सांसद बनाउनेसम्मको आश्वासन दिएर फकाइरहेको भन्दै उहाँले केपीवादको आलोचना गर्नुभएको छ ।

केही साथीहरु अझै पनि अलमल गरिरहेकोतर्फ इंगित गर्दै उहाँले भन्नुभयो, ‘अलमल गर्नेहरुलाई पर्खेर बस्ने समय हामीसँग छैन, उहाँहरु आउँदै गर्नुहुन्छ ।’ निर्वाचन कार्यालयमा गएर सनाखत गर्न स्थानीय र प्रदेश सांसदहरु गइरहेको सन्दर्भमा उहाँले अझै बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) मा सांसदको संख्या थप हुने बताउनुभयो ।

नेतृत्वमा पोखरेल

मकवानपुर एमालेमा स्थापित तथा राजनीतिक अवसर नपाएका श्रीधर पोखरेल नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष घोषित भएका छन् । यसअघि नेकपा एमालेको जिल्ला अध्यक्ष रहनु भएकी मुनु सिग्देल केन्द्रीय सदस्य भएपछि जिल्ला अध्यक्षमा पोखरल चयन हुनुभएको हो ।

नेकपा एमालेको सचिव भएर काम गरिसक्नु भएका पोखरेल हक्की स्वभाव र युवामाझ लोकप्रिय नेता रहेको बताइन्छ । उहाँ तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा रहँदा नगर इञ्चार्ज हुनुहुन्थ्यो भने निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको स्थानमा प्रदेशसभा सांसदमा उहाँले टिकट पाउने पक्कापक्की थियो ।

तर, पछि एमालेका तत्कालीन उपाध्यक्षको हस्तक्षेपपछि पौडेलले नै टिकट पाएर मुख्यमन्त्री नै बन्नुभयो । अध्यक्षमा चुनिएपछि संक्षिप्त मन्तव्य राख्दै पोखरेलले विगतमा कम्युनिष्ट एकतापछि प्राप्त अवसरलाई केपी ओलीले भत्काएको भन्दै नवौं महाधिवेशनमा ओलीको पक्षमा हालिएको मत खेर गएकोमा दुःख मनाउसमेत गर्नुभएको छ । उहाँले अब मकवानपुरमा नेकपा एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउने गरी तत्काल १ सय २ वडामै संरचना निर्माण गरिनेसमेत जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू