कर्मचारी र वकिलमा को–कता !

कर्मचारी र वकिलमा को–कता !

माधव नेपाललाई ‘मध्यपन्थी’ हरुले कति घाटा पु¥याए भने, उहाँनिकटका नेता–कार्यकर्ताको राम्रो वर्चश्व रहेको पेशागत फाँटमै क्षति बढ्यो । डा.विश्वनाथ प्याकुरेल अध्यक्ष रहेको पेशागत महासंघमा त तलमाथि भएको छैन । तर, विषयगत संगठनका नेताहरु दायाँबायाँ भइदिँदा समस्या बढेको छ ।

जस्तो– पार्टीको पेशागत जिल्ला कमिटीबाट माधवपक्षीय प्रेम पराजुली (दुबै), समीर नेपाल, चित्रगुप्त साँवाहरु अलि अगाडि नै ओलीतिर लागेका छन् । कर्मचारीहरु संगठित हुने निजामती इलाका कमिटीबाट अर्थ मन्त्रालयका उपसचिव चण्डी घिमिरे, तेह्रथुमका सिडिओ जयराज भण्डारी, पाँचथरका सिडिओ पुण्य ढकालसहित लेखा पनेरु, हरिकृष्ण महताराहरु केपीसँगै छन् ।

तर, पेशागत जिल्ला कमिटीअन्तर्गत सेवाको इलाकामा भने तलमाथि भएन । वित्तीय इलाकातर्फ कतिपय रिटायर्ड भएकाहरु नै कमिटीमा थिए । इन्सेक इलाका सानो थियो, बढी केपीतिर छन् । प्राध्यापक इलाकामा पहिल्यै केपीका बढी हुन् । कानुन इलाकातर्फ सदस्यता रहेका शम्भु थापा, हरि उप्रेती, गोविन्द बन्दी, टीकाराम भट्टराई, बसन्त बस्नेतहरु माधवतिरै छन् ।

वकिलहरुको पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पिपिएल) का अध्यक्ष रुद्र नेपाल ढुल्मुलिएपछि महासचिव ईश्वरी भट्टराईसँग सोमबार पनि भनाभन चल्यो । रघु पन्त इञ्चार्ज भएपछि पूर्वमालेका नाममा पेलिएका बसन्तसहित चन्द्र शाही, गुणराज आचार्यहरु अहिले पनि माधवसँगै छन् । रुद्रको समस्या रहेछ, पत्नी मीना ज्ञवालीका कारण । बल्खुदेखि नै पार्टी अफिसमा रहेकी मीना र भोजपुर सम्पर्क मञ्चको अध्यक्ष हुँदा रुद्रको विवाह अष्टलक्ष्मी शाक्यले गराइदिएकी हुन् । अहिले मीना प्रदेशतर्फ समानुपातिक सांसद छिन् । हरदम अष्टसँगै हुन्छिन् ।

विश्वविद्यालय इलाकामा ओली प्रधानमन्त्री हुँदा उपकुलपति, रजिष्ट्रारका कारण मान्छेहरु डराएका थिए । अहिले सबै माधवतिर खुलेका छन् । यदि सामान्य प्रशासन मन्त्रालय एकीकृत समाजवादीले पायो भने कर्मचारी सर्लक्कै माधवको साथ हुन्छन् भनिन्छ । अर्कातिर, कर्मचारीहरुको खुला मोर्चा निजामती संगठन अर्को बनाउन मोहन घिमिरे, केदार देवकोटाहरु सक्रिय भएका छन् ।

सञ्चार इलाकाका शम्भु श्रेष्ठ, टंक पन्त, बालकुमार नेपाल, विश्वमणि सुवेदी, नरेन्द्र साउद, ऋतुराज सुवेदी, ध्रुव लम्सालसहित ४० पत्रकार माधवकै पक्षमा छन् । उनीहरुले भर्खरै खुला मोर्चाको रुपमा समाजवादी प्रेस संगठन गठन गरिसके ।

टिप्पणीहरू