चितवनबाट दुई छोरीकाे आमा मितभाञ्जासँग भारततिर बेपत्ता

चितवनबाट दुई छोरीकाे आमा मितभाञ्जासँग भारततिर बेपत्ता

दिदीको छोरासँगै घरबाट निस्केकी चितवन,खैरहनी–२ की एक महिला बेपत्ता भएकी छन् । गत साउन १३ गतेदेखि बेपत्ता भएपछि खोजी गरिदिन अनुरोध गर्दै परिवारका सदस्यले साउन १५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिएका हुन् । तर अहिलेसम्म उनको बारे केही पनि पत्ता लाग्न नसकेको परिवारजनले बताएका छन् ।

बेपत्ता भएकी महिला माही परियार हुन् । अन्दाजी २६ वर्षकी उनी दिदीको १७ वर्षीय छोरा रोहित थापासँग घरबाट निस्केकी तर छोरा फर्केर घर पुगे पनि उनी भने हराइरहेकी हुन् । भरतपुरमा वकिल गजेन्द्र वस्तीलाई भेट्ने र अस्पतालमा जाँचेर घर फर्कने भन्दै उनीहरु निस्केका थिए ।

भएभरका आफन्त तथा चिनेजानेकासँग सोधखोज गर्दा समेत उनको पत्ता लाग्न नसकेको घरका मान्छेले बताएका छन् । घरमा कुनै झैझगडा नभएको माहीकी सासू लालुमाया परियार बताउँछिन् ।

उनका अनुसार हराउनुभन्दा केही दिनअघि श्रीमानले विदेशबाट ९० हजार रुपैयाँ पठाइदिएका थिए । त्यतिञ्जेल उनका श्रीमान् सुरज परियार साउदीमा कार्यरत थिए । अहिले श्रीमती हराएपछि उनी नेपाल फर्किसकेका छन् । सुरज र माहीका दुई छोरी छन् । छोरीहरुलाई छाडेर एकसरो कपडामा गएकी माहीले रकम र केही गहनासमेत घरबाट लगेको सुरज बताउँछन् ।

माहीको माइती भारतको उत्तराखण्ड राज्यको हरिद्वार नजिकै हो । परिवारले उनी भारततिरै गएको आशंका गरेको छ । यसबीचमा भारत घर भएका दिदीको छोरा रोहित पनि आफ्नो घर पुगिसकेका छन् ।

रोहितले भने सानीमाले आफूलाई बोर्डरसम्म ल्याई एक्लै गाडी चढाएर पठाएपछि केही थाहा नभएको बताएका छन् । सुरजले ससुरालीमा फोन गरेर बुझ्दा माहीकी आमा (सासू) ले ‘अब माहीलाई पर्खेर बस्नुभन्दा अर्कै बिहे गर्नु बेस ज्वाइँ’ भनेको सुनाएका छन् ।

माही आफ्नो मितभान्जा नाता पर्ने भारत घर भएका पुरुषसित उतै गुपचुप रहेकी हुन सक्ने आफूहरुको अनुमान नजिक पुगेको सुरज बताउँछन् । सुरजका भिनाजु जीबी परियारले भने, ‘केही समयअघि ती जवान पुरुष आफ्नी आमासँग नेपाल घुम्न आएका थिए । फर्कंदा माही पनि माइत जान्छु भन्दै उनीहरुसँगै उता गएकी थिइन् । मितभान्जासित उनी गाडीको एउटै सिटमा बसेकी थिइन्,’ भनेर अहिले आशंका गरेका छन् ।

‘त्यतिबेला मितेरी साइनो भए पनि माइजू–भाञ्जा नाताबीच नाजायज सम्बन्ध होला भन्ने सोचिएन । अहिले माही हराएसँगै ती पुरुष पनि बेपत्ता भएको खबर सुनेकाले आशंका उब्जिएको छ,’ जीबीले थप प्रष्ट्याएका छन् । कहीँकतै माही भेटिइन् वा फर्किएर आइन् भने आपसमा छलफल गर्ने, उनको कुरा बुझेर फेरि सँगै बस्न चाहेमा छोरीहरुको लागि भए पनि एक पटकलाई माफी दिएर स्वीकार्ने सुरजले समेत बताएका छन् । तर घटनाक्रमले त्यो सम्भावना भने देखिँदैन ।

– अजय गोर्खाली

टिप्पणीहरू