मीन विश्वकर्माको किन दुखेछ मन

मीन विश्वकर्माको किन दुखेछ मन

नेपाली काँग्रेसनिकट नेपाल दलित संघका अध्यक्ष तथा काँग्रेस केन्द्रीय समिति सदस्य मीन विश्वकर्माले १४ औं महाधिवेशनको प्रक्रिया शुरुलगत्तै संघ र पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

विश्वकर्माले पार्टी विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाले उपत्यकालगायत मुलुकका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्ण निषेध गरेको आरोप लगाउँदै राजीनामा दिएका हुन् । पार्टीको नवौं महाधिवेशनदेखि हुँदै आएको प्रतिनिधित्व प्रणालीलाई उल्टाएर आफू अनुकूल व्याख्या गरिएको नेता विश्वकर्माको भनाई छ ।

सभापति शेरबहादुरसमक्ष हिजाे दिइएको राजीनामामा भनिएको छ, ‘एघारौं महाधिवेशनमा सम्माननीय सभापतिज्यू आफैँले प्रारम्भ गर्नुभएको ‘कदमजम’ सिद्धान्तको खिल्ली उडाइएको छ । यो प्रवृत्तिले नेपाली काँग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समयपश्चात् नै शून्य हुने देखिएको छ ।’यसैगरी उक्त संघका काठमाडौं जिल्ला उपाध्यक्ष राजु सुनारले पनि नेता विश्वकर्माकै व्यहोरा लेखेर हिजाे राजीनामा दिएका छन् ।

टिप्पणीहरू