छोरीहरूका निम्ति बाझेर छुट्टी

राजदूतपछिको उच्च पद सम्हाल्नेगरी परराष्ट्र मन्त्रालयबाट सहसचिव भरत रेग्मी दिल्ली पुगेकै दिन बीचैमा फिर्ता बोलाइएका कृष्ण ढकालले मातहतका कर्मचारीलाई धम्क्याएर आफ्ना छोरीहरूको निम्ति पाहुना कोठा कब्जा गर्न खोजेका छन् ।

आइतबार नायब सुब्बा बृन्दा सुवेदीलाई ‘तिमीहरूले के सोचेका छौ । भोलि सचिव हुनेगरी दोस्रो सिनियरको रूपमा मन्त्रालय फर्कंदै छु । मैले भनेको नटेर्ने ?’ भन्दै उनले एउटा कोठाको चाबी मागेका हुन् । दिल्लीस्थित दूतावासमा नायब सुब्बा स्तरको सहचारीका लागि ५ वटा दरबन्दी थिए । अमृत लोप्चनको बहराइन सरुवा भएपछि उनी बस्दै आएको कोठा पाँच महिनासम्म काठमाडौंका पूर्वमेयर पिएल सिंहले कब्जा गरे । त्यो कोठा बंगलादेशका निम्ति पूर्वराजदूत प्रदीप खतिवडा र परराष्ट्रको प्रशासन सेवाका उपसचिव तीर्थ पौडेलले पनि केही समय प्रयोग गरे ।

उनीहरू  कोही आफैं क्यान्सर पीडित भएर त कोही श्रीमतीको पेटको शल्य चिकित्साका लागि दिल्ली पुग्दा त्यहाँ बस्ने गरेका  छन् । तर, खराब कार्यशैलीका कारण पहिलो चरणको चुनाव सकिनासाथ स्वदेश फर्कने आदेश पाएका डिसिएम ढकालले फर्कने दिन त अटेर गरेर गुजारे नै वैदेशिक पदस्थापन भत्ताको लोभमा उपचार गर्न थप केही समय बस्न पाऊँ भनी निवेदन दिएसँगै आफ्ना छोरीहरूका निम्ति त्यो पाहुनाघर सफा गरिदिन र चाबी आफूलाई सुम्पनसमेत कर्मचारीलाई उर्दी लगाए । उनका दुई छोरी मिसनरी कलेजमा +२ मा अध्ययन गर्दै छन् ।

पढाइ सकिन अझै १ वर्ष बाँकी छ । उनी भन्छन्, ‘मैले राजदूतलाई भनिसकें, छिटो चाबी ल्याऊ ।’ त्यहाँ कार्यरत कर्मचारीचाहिँ आफूहरूले राजदूत दीपकुमार उपाध्यायबाट कुनै निर्देशन नपाएको सुनाउँछन् । बीचमा सञ्चारको कमीका कारण भनाइ र गराइमा तारतम्य मिल्न सकेको छैन । आफू ३ वर्ष कार्यरत रहेको ठाउँमा कार्यभार सम्हाल्न अर्का सहसचिव आइसके तर ढकालले भने अझै दिल्ली छाड्न मानेका छैनन् । ‘अचम्मै भो’ भन्छन्, यस्तो भद्रगोल देख्दा यता परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखाका हाकिमहरू ।

टिप्पणीहरू