काँग्रेसमा कतै क्रियाशीलको बिरोध, कतै जमघट

काँग्रेसमा कतै क्रियाशीलको बिरोध, कतै जमघट

नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सस्दस्यको विवरणको विषय निकै पेचिलो बनेको छ । क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको आरोप लगाउँदै रौतहट काँग्रेसले काँग्रेस मुख्यालयमा अघिल्लो महिनादेखि धर्ना दिँदै आएको छ । आज पनि उक्त धर्ना जारी रहेको बताइएको छ ।

यसैबीच काठमाडौंमा महाधिवेशनलाई लक्षित गरेर क्रियाशील सदस्यहरुको भेला र जमघटले औपचारिकता पाएका छन् । आज गोकर्णेश्वर नगरपालिका २ नम्बर इकाई समितिले नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नम्बर ३, गोकर्णेश्वर नगरपालिका २ को बृहत क्रियाशील भेला बोलाएको छ । बिहान ७ बजेदेखि नयाँ पार्टी प्यालेस, गोकर्णेश्वरमा कार्यक्रम भइरहेको छ ।

उता.नेपाली काँग्रेस मध्यपुर थिमि वडा नम्बर २ कार्यसमिति भक्तपुरले पनि क्रियाशील सदस्य भेला कार्यक्रम गरेको छ । फुटशल दिव्यश्वरी आयोजनामा रहेको फुटसलमा बिहान ८ बजेदेखि उक्त कार्यक्रम भइरहेको छ ।

यता काँग्रेसको नेपाल दलित संघ, जिल्ला कार्यसमिति, काठमाडौले असमावेशी निर्वाचन निर्देशिका तथा अनुसूचीमा कटौती भएका दलितका अधिकार कायम गराउन बिहान ८ बजेदेखि धर्ना कार्यक्रम राखेको छ । काँग्रेस पार्टी कार्यालयमा उक्त धर्ना भइरहेको छ ।

आजै नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पस समितिले १२ औं क्याम्पस सम्मेलनको आयोजना गर्ने जनाएको छ । मीनभवन क्याम्पसमा बिहान १० बजेदेखि सम्मेलन शुरु हुनेछ ।

नेपाल वायुसेवा निगमको मुख्य कार्यालयमा त्यहाँका तीन वटा कर्मचारी युनियनले गर्दै आएको धर्ना कार्यक्रम आज पनि हुँदैछ । धर्ना बिहान साढे १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म हुने जनाइएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आज प्रधानमन्त्री कार्यालय र उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्मरणपत्र बुझाउने जानकारी दिएको छ । उक्त कार्यक्रम बिहान साढे ११ बजे हुने जानकारी दिइएको छ ।

आज पनि संसदको विधायन व्यवस्थापन समितिको बैठक साढे ११ बजे बस्दैछ । बैठक समितिको सभाहल सिंहदरबारमा हुने जनाइएको छ ।

उता राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरू, काठमाडौं उपत्यकाका उत्प्रेरक र अन्तर जिल्ला कमिटीका अध्यक्षहरूको संयुक्त बैठक बोलाएको छ । कार्यक्रम दिउँसो २ बजे अल्फा बिटा भवन, नयाँ बानेश्वरमा हुने भनिएको छ ।

त्यसैगरी संघको महालक्ष्मी नगर, ललितुरबाट प्रतिनिधित्व गरेका जिल्ला कमिटी सदस्यहरूको बैठक बोलाइएको छ । साँझ साढे ५ बजे स्टार स्टिक फूड्ल्यान्ड, रातामकै चोक, ललितपुरमा बैठक बस्ने जानकारी दिइएको छ ।

आज पनि नेपाल ल क्याम्पसको डिनको कार्यालय र त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यलयमा हुँदै आएको तालाबन्दी जारी रहने सम्बन्धित पक्षले जानकारी दिएको छ ।

टिप्पणीहरू