​खुशीयालीमा बंगुरले खान थाले खसी

सिन्धुपाल्चोकका जनप्रतिनिधि कोही भोजभतेरमा व्यस्त छन् त कोही दिनहँु सम्मान लिनमै । कोहीचाहिँ विवाह भोजमा टन्न मदिरा सेवनपछि चुनावमा असहयोग गरेको भन्दै अन्य दलका कार्यकर्तालाई मुक्याउनै सक्रिय छन् ।

ठेकेदार ब्याकग्राउण्डबाट आएका केही जनप्रतिनिधि भने असारे विकास सक्न मरिमेटेर लागेका छन् । भोजभतेर र सम्मान खानेमा एमालेका जनप्रतिनिधि बढी छन् भने मारमुंग्रीमा कांग्रेसका देखिएका छन् । मेलम्ची नगरपालिका मेयर डम्बर अर्याल र उपमेयर चुनाव जितेदेखि नै भोजमा व्यस्त छन् । चुनाव जित्नेहरूले भोज लगाए पनि जनता भने असारको रोपाइँमा व्यस्त हुन थालेपछि भोजमा सीमित कार्यकर्ताको मात्रै सहभागिता रहने गरेको छ ।

केही दिनअघि मेलम्ची नगरपालिकाको तीन वडामा एकै दिन खसी काटेर भोज लगाएपछि चुनाव जित्नेहरूलाई जान भ्याइनभ्याइ भयो । शिखरपुर, बाँसबारी र मेलम्चीमा एकैदिन ‘कक्टेल पार्टी’ आयोजना भएको थियो । एउटा भोजमा ५ देखि ६ लाखसम्म खर्च हुने गरेको स्रोतको भनाइ छ । तालामाराङमा आठवटा खसी काटिए पनि खाने सहभागी थोरै भएपछि आयोजकले बंगुरलाई खुवाएका थिए । शिखरपुरमा कांग्रेस नेता तारानाथ दाहालका दाइको घरबाट खसी किनेर चुनाव जितेको अवसरमा भोज लगाइएको थियो ।

डम्बर अर्याल मात्रै होइन, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा पनि भोजमै व्यस्त छन् । लामाले चुनाव जितेको अवसरमा केही दिनअघि काठमाडौंको गोर्कणमा भव्यभोज आयोजना गरिएको थियो । जाँडपानीसहित हुने यस्ता भोजमा कसले भोट हाल्यो हालेनसमेत चर्चा हुने गरेको सहभागीले जानकारी दिए । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीसहितलाई सम्मानमा भ्याइनभ्याइ छ ।
यता, सुनकोशी गाउँपालिकाका अध्यक्ष भने माओवादी कार्यकर्तालाई कुटपिटपछि मुद्दा मिलाउन केही दिन जिल्ला प्रहरी कार्यालय धुलिखेलमा व्यस्त भए । अध्यक्ष श्रवणकुमार जिसीले ठोकर्पाका माओवादी कार्यकर्ता श्रीकृष्ण गौतमलाई कुटेको भन्दै बनेपामा उजुरी परेपछि दुवै पक्षलाई झिकाएर आगामी दिनमा यस्तो गतिविधि नगर्ने भन्दै प्रहरीले मिलापत्र गराएको थियो ।

इन्द्रावती गाउँपालिका–१ का कांग्रेस वडा अध्यक्ष श्री लामाले मत नदिएको भन्दै आफ्नै कार्यकर्तालाई मनलाग्दी भनेको रेकर्ड यतिबेला भाइरल भएको छ । उनले नाताले भाञ्जा पर्नेलाई फोनमार्फत धम्की दिएका छन् । लामाले आफ्नो शरीरमा एक थोपा रगत छउञ्जेल लड्ने चेतावनी दिएका छन् । कांग्रेस भएर एमालेलाई भोट हाल्ने भन्दै सबैलाई ठीक गर्ने उनले चेतावनी दिए । श्यामलाल भन्ने व्यक्तिसँग भिड्ने चेतावनी दिँदै उनले भने, ‘मासाले रण्डीका छोराहरू, तिमीहरूसँग जाँ भेटे त्यहीँ वार गर्छु, तिमीहरू वान डन, टु डन जे भए पनि वार गर्छु ।’
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको सदस्यसमेत रहेका दीपेन्द्र थापा चौतारा नगरपालिका–१ बतासेबाट वडाध्यक्षमा निर्वाचित भए पनि विभिन्न ठेक्कामा सहभागी हुने गरेका छन् ।

– सुनील शर्मा

टिप्पणीहरू