​खोज्दै जाँदा अरु पनि खोरमा

बूढेशकालमा कान्छी राख्ने व्यक्ति खोरमा छन्, जोडीसहित । जडिबुटी व्यापारका नाममा मान्छे ठग्दै एकैपटकमा तीनचार थरि लफडा आइलाग्दा ठगी र अपहरणकाण्ड मच्चिएको छ । ६१ वर्षका गोपालबाबु श्रेष्ठले ९ महिना अगाडिदेखि १५ वर्ष पहिल्यै पतिवियोगमा परेकी ४२ वर्षीया कविता दाहालसँग पत्नीवत सम्बन्ध राखेका थिए । घर, डेरा होइन, होटलमा बस्थे । 

रामेछाप सदरमुकाम मन्थली– १५ का गोपाल र भक्तपुर चाँगुनारायण– २, झौखेलकी कविताको भेट भने मान्छेहरु ठग्ने क्रममै भएको हो । नयाँबसपार्कस्थित होटल तनहुँ, स्याङ्जा, पर्वतको पाँचौ तलामा दिनको ११ सय रुपैयाँ तिरेर ९ महिनादेखि बस्दै आएका थिए । त्यो बसोबास गत शनिबारदेखि फेरिएर प्रहरीको टेकुस्थित खोरमा सरेको छ । उनीहरुले भन्ने गरेको काम थियो, जडिबुटीको व्यापार । तर, जडिबुटी बेचबिखनका काम भने कहिल्यै गरेनन् । 

यो दम्पतीलाई खोज्दै जाँदा अन्ततः कालिमाटीमा कस्मेटिक पसल चलाउने कलंकी, सुनारगाउँकी अञ्जु देउला महर्जन, पति मदनकृष्णसहित साथी पनि अपरहरणकारी बनेर प्रहरीकै खोरमा पुगेका छन् । उनीहरु आफ्नो फसेको पैसा उठाउन विप्लवका कार्यकर्ताको सहारामा पुग्दा अन्ततः माओवादीहरुसँगै उनीहरु पनि अपहरणकारी करार भएका हुन् । तर, अपहरणमा पर्ने गोपाल र कविता पनि चोख्खिएनन् ।

अञ्जु देउलाले कालिमाटीस्थित आफ्नो पसल कविताका पूर्वपतितर्फकी छोरीलाई बेचेकी थिइन्, पोहोर । तीन लाख मूल्य तोकेर बेचिएको उक्त पसलको पैसा लिनका लागि छोरीले कवितालाई देखाइन् । आमाले पैसा हैन, त्यति रकम जडिबुटी कारोबारमा हालिदिने र महिनावारी नाफा दिइरहने बताइन् । त्यसो भनेपछि अञ्जुले तीन लाख रुपैयाँ लिनुको सट्टा अर्को आठ लाख रुपैयाँ थपेर कवितालाई दिइन् । आफूलेमात्र हैन, रामकोटकी साथी अञ्जु भारतीलाई पनि पैसा लगानी गरेर लाखौँ मुनाफा कमाउन उकासिन् । उनले भन्नासाथ १० लाख रुपैयाँ कविताको हातमा दिइन् । यसरी २१ लाख रुपैयाँ फसिसकेपछि कविता र गोपालबाबु बेपत्ता भए । फसेको पैसा उठाउने क्रममा उनले कालिमाटी प्रहरी बृत्तमा उजुरी पनि दिइन् । तर, प्रहरीले चासोपूर्वक खोजिदिएन, उनीहरु फेला परेनन् ।

यसबीच अञ्जु देउलाले राजेश नाम गरेको मान्छेलाई मन्दिरमा भेटिन् । कुरा हुँदै  जाँदा आफ्नो पैसा फसेको सुनाइन् । राजेशले विप्लव माओवादीसम्बद्ध राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव राजमान तामाङलाई भेटाइदिए । शुक्रबार राजमानसँग भेट भयो । शनिबारै उनीहरु नयाँ बसपार्कस्थित कविता र गोपालबाबु बस्ने होटलमा पुगे । राजमानसहित अञ्जुका पति मदनकृष्ण, साथी अञ्जु भारती पनि सँगै गए । 

उनीहरुले पाँचतलाबाट जोडीलाई झ्याप पारे । होटल साहुले ‘यो के गरेको’ भन्दा ‘हामी विप्लव माओवादी हौँ’ भन्दै राजमानले होटलवालालाई दुई झापड हानेर जोडीलाई ट्याक्सीमा हाले । होटलवालाले प्रहरी कन्ट्रोलमा फोन गरे । प्रहरीले गोपालको मोबाइल नम्बरका आधारमा लोकेशन ट्र्याक ग¥यो । लोकेशन पकनाजोलमा देखायो । प्रहरीको एउटा टोली होटलकै छेउमा बसेर अर्को टोली पकनाजोलतिर दौडियो । उनीहरुले गोपाललाई शंकरदेव क्याम्पस दक्षिणतिरको गल्लीमा रहेको राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यालयमा राखे । पिटपाट पनि गरे । लेनदेनको कागज गराउन भनी सुरसार गर्दा केही कागजात नपुग्ने भएपछि ती कागज लिन फेरि होटल जाने भए । त्यसरी बागबजारबाट गोपालबाबुलाई लैजाने क्रममा बालाजुबाटै शक्ति विश्वकर्मा र मदनकृष्ण पक्राउ परे र गोपालबाबु उद्धार गरिए । यसपछि प्रहरीले कविताको खोजी गर्दा पक्राउ परेका व्यक्तिहरुले बागबजारको त्यही कार्यालयमा भएको बताए । तर, प्रहरी त्यहाँ पुग्दा सूचना चुहिएर उनीहरु भाग्दै थिए । प्रहरीले पिछा गर्दै जाँदा कवितासहित आरआर क्याम्पसअगाडि पक्राउ परे । 

प्रहरीले अपरहण गर्ने र हुने दुबै पक्षलाई टेकुस्थित अपराध महाशाखामा भेला पा¥यो । अपहरणमा पर्ने दम्पत्तिलाई छोड्न खोजेको, तर समस्यामाथि समस्या थपियो । अपहरण अञ्जु देउलाहरुले पनि रहरले हैन, डुबेको पैसा उठाउनलाई गरेका थिए । तर, उनीहरुले तरिका गलत अपनाए । अञ्जुहरु जसरी नै डुबेको अर्को दम्पत्तिको उजुरी थियो, प्रहरीमा । दोलखा घर भई कोटेश्वर बस्ने माधवप्रसाद श्रेष्ठ र उनकी पत्नी मञ्जुबाट गोपालबाबु र कविताले २७ लाख रुपैयाँ नगद र ६५ तोला सुन लिएर बेपत्ता थिए । प्रहरी परिसरको दर्ता नंं २५९६ मा ठगीसम्बन्धी निवेदन दर्ता थियो । ठग्ने पनि कसरी भने माधवकी पत्नी मञ्जुलाई गोपालले बहिनी भनेर टीको लगाउने, माधवलाई चाहिँ कविताले दाइ भनेर टीको लगाइदिने । आखिर टीको त देखावटी रहेछ, भित्री नियतचाहिँ ठगी गर्ने † यही निवेदनका आधारमा अहिले अपहरणमा परेका गोपाल–कविताको जोडी पनि खोरकै बासमा छ । 

टिप्पणीहरू