​सौताको रिसले जेठी सनक्क

दोस्रो चरणको स्थानीय चुनावका लागि आज मतदान भइरहेको छ । ढ्वांगमा खसेको भोटको भर हुँदैन । चुनाव जित्न उम्मेदवारले यसपटक लाखमा होइन, करोडमा खर्च गरेका समाचार आइरहेका छन् । तर कतिपय यस्ता उम्मेदवार छन्, जो चुनाव जित्न होइन, पार्टीबाट टिकट पाउनै नेतालाई भेटी चढाउँदा र कार्यकर्तालाई भोजभतेर गर्दा टाट पल्टिसकेका छन् ।

यसपटक टिकट बेच्ने नेता र टिकट किन्ने उम्मेदवारको चर्चा हरेक पार्टीभित्र भइरहेको छ । एमाले व्यवस्थित र जनउत्तरदायी पार्टी भएका कारण टिकटमा चलखेल गर्ने नेता–कार्यकर्तामाथि निगरानी बढाए पनि कांग्रेस र माओवादीमा ठूलो काण्ड लुकाइएको छ । एमालेमा नेताले बैठकभित्र आ–आफ्नो पक्षकालाई टिकट दिलाउन भगिरथ प्रयत्न गरेपनि पार्टीले दिइसकेपछि खासै असन्तुष्टि सुनिएन । बरु तल्लो तहमै टिकट वितरणमा आफ्नो हात जगन्नाथ भएका उजुरी धुम्बाराहीसम्म आएपछि नेताहरुले आन्तरिक छानविन थालेका छन् ।

चुनावअघि नै यस्तो लफडामा परिसकेका रुपनारायण श्रेष्ठलाई बिर्साउने गरी काण्डहरु धुम्बाराही छिर्न थालेका हुन् । रुपनारायणको जस्तै गम्भीर उजुरी छ, पोलिटव्यूरो सदस्य तथा उदयपुरका पूर्वसांसद जगन्नाथ खतिवडाविरुद्ध । यस काण्डमा खतिवडामात्र हैन, केन्द्रीय सदस्य तथा जिल्ला इञ्र्चाज बलवीर चौधरी र जिल्ला अध्यक्ष इश्वरमणि राउतसमेत मुछिएका छन् । तीन नगरपालिका र चार गाउँपालिकामा माधव नेपालपक्षीय जगन्नाथले विवादास्पद छवि, आर्थिक तथा नैतिकरुपले पतन भएका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै उजुरी परेको हो । खतिवडाले कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाको टिकट वितरणमा आर्थिक कारोबार चलाएको विवरण पनि पार्टी कार्यालयमा पेश गरिएको स्रोतले जनाएको छ । कटारीमा उनले पार्टी राजनीतिमा सक्रिय नै नरहेका ज्ञानेन्द्र श्रेष्ठलाई टिकट दिलाएको आरोप छ ।

त्यस्तै, छानबिन नभएको, तर डरलाग्दो काण्ड काठमाडौंमा पनि छ । जिल्ला अध्यक्ष कृष्ण राईले घरजग्गा कारोबारी पुण्य चौलागाईंलाई टिकट दिँदा एमालेको बलियो संगठन रहेको गोकर्णेश्वर नगरपालिकामा पराजय भोग्नुपरेको आरोप सांसद रामेश्वर फुयाँलले समेत लगाएका छन् । पार्टी उम्मेदवारमा प्रस्तावित, तर अन्तिममा टिकट खोसिएका स्थानीय नेताहरु राईविरुद्ध धुम्बाराही पुगेका छन् । रामेश्वरले केन्द्रीय अनुशासन आयोगका गोपाल बराललाई मेयर उठाउन जोड गरेका थिए । कृष्णले कामपा– ६ को उम्मेद्वारीमा पनि बदमासी गरेको आरोप लागेको छ ।

कांग्रेसमा भने टिकट बेचेको आरोप शेरबहादुर देउवापत्नी आरजुमाथि छ । आरजुले पाँच करोड लिएर नेपालगञ्ज उपमहानगरपालिकाको टिकट सुरेश कनौडियालाई बेचेको भन्दै सुरेन्द्र हमाललगायतका नेताले मुखै खोलेका छन् । त्यस्तै इटहरीमा हेमकर्ण पौडेलको टिकट खोसेर रोहित प्रसाईंलाई दिँदा करोडमाथि चलखेल भएको आरोप कांग्रेसबृत्तमा लाग्ने गरेको छ । 

त्यस्तै मोहन बस्नेतले सिन्धुपाल्चोकमा नक्कली डिएसपी श्रवण केसीलाई पैसा लिएर टिकट बेचेको आरोप छ । सिन्धुपाल्चोकमै माओवादी नेता माधव सापकोटालगायतले भोटेकोशीका राजकुमार पौडेललाई टिकट बेचेको आरोप लागेको छ । बुटवल उपमहानगरमा जगत पोखरेललाई उपमेयरको टिकट दिँदा पनि माओवादी नेताहरुले पैसा असुलेको बताइन्छ ।

धरानमा एमालेभित्रको झगडा पनि अचम्मको † त्यहाँ ०५४ का मेयर मनोज मेयाङ्बोकी जेठी पत्नी प्रमिला वडा नं. ८ बाट वडाध्यक्षकी उम्मेदवार सिफारिस भएकी थिइन् । तर, हिजोआज मनोज कान्छीसँग बरगाछीस्थित मूलघरमा बस्छन् भने प्रमिला अन्तै । पार्टीले निर्वाचन परिचालन कार्यालय राख्ने ठाउँ तोक्यो, मनोजको घरमा । यसपछि प्रमिला बम्किन थालिन्, ‘जुन घरमा सौता बसेकी छ, म त्यहाँ कसरी जानसक्छु ?’ उनले कि निर्वाचन परिचालन कार्यालय सार्नुपर्ने, कि वडाबाट पार्टी हार्नुपर्ने अड्डी कसिन् । यसबापत उनको टिकट खोसियो । तर, सौतालाई देखाउनकै लागि प्रमिला बागी उम्मेदवार बनेकी छन् ।

त्यस्तै, चौधरी समुदायका केही एमाले कार्यकर्ताले सुनसरीस्थित केन्द्रीय सचिव एवं १ नं. प्रदेश इञ्चार्ज भीम आचार्यको घर घेराउ हाले । कारण थियो, इनरुवाको मेयर वा उपमेयरमा चौधरी समुदायबाट उम्मेदवारी नदिइएको । त्यहाँ मेयरका आकांक्षी थिए, हरिनारायण चौधरी । पोष्टकुमार नेपालले टिकट पाएपछि उनी वडाध्यक्ष उठ्न पनि तयार भए । तर, वडामा पनि टिकट दिइएन । त्यसपछि जिल्ला समन्वय समितिमा पठाउने गरी वडासदस्य उठाउन माग गरे । त्यो पनि भएन । त्यसपछि चौधरी समुदायका कार्यकर्ताले उनकी छोरीलाई उपमेयरमा उठाउन दबाब दिए । तर, उपमेयरमा एमालेहरुले नै नचिनेकी कविता यादवलाई टिकट दिइएपछि उनीहरु आक्रोशित भएका हुन् ।

टिप्पणीहरू